वरिष्ठ उपाध्यक्षसहित १० जनाले गरे एन्फा साधारणसभा बहिष्कार
काठमाडौं । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जनाले अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा बहिष्कार गरेका छन् । कार्यसमितिले प्रस्तुत गरेको विषयवस्तुमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष खड्कासहित २ उपाध्यक्ष र ७ सदस्यले साधारणसभा बहिष्कार गरेका हुन् ।
फागुन १४ गते साधारणसभा गर्ने गरी निर्णय नभएको र महासचिवले हस्ताक्षर दुरुपयोग गरी निर्णय भएको भनी विषयसूचीमा उनीहरुले असहमति जनाएका छन् । साधारणसभा तोक्न एन्फा मुख्यालयमा फागुन ३ देखि ६ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक सञ्चालन भएको थियो ।
कुनै पनि प्रतियोगिताको आम्दानी खर्चको अनुसूचीसहित सम्पूर्ण विवरण पेश नगरिएको र कार्यसमितिका बहुमत सदस्यले पटक पटक माग गर्दा पनि उपलब्ध नगराइएकोमा समेत उनीहरुले असहमति जनाएका छन् ।
बहिष्कार गर्नेमा वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी (कुमार), सदस्यहरु अनिल मल्ल, पेमा लामा, रवीन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी, भोजराज शाही र रमेश व्यञ्जनकार छन् ।