सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरका परिवारलाई सरकारले १० लाख दिने
काठमाडौं । सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएका ३० वर्षका जयशंकर साहका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका साहका परिवारलाई आर्थिक सहायतास्वरूप १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा साहको निधन भएको थियो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।