देवदहमा विवादः कांग्रेसका जनप्रतिनिधिद्वारा मेयर र प्रशासकीय अधिकृतकाे कार्यकक्षमा तालाबन्दी
रुपन्देही । रूपन्देहीको देवदहमा नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेपछि यहाँको विवाद सतहमा आएको छ ।
सोमबार हुलदंगा गर्दै नगरपालिका गएर प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नाम प्लेट र टेबुल, सिसा फुटालेर फालेको कर्मचारीको भनाइ छ ।
कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई जवरजस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरीको सहयोगमा हातपातबाट बचेका थिए । जनप्रतिनिधिसहितको टोलीले सुरक्षार्थ नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि एकछिन माहाेल तनावग्रस्त बनेकाे थियो ।
मेयर खरेल र सापकोटाविरूद्व नाराबाजी गर्दै दुवै जनाको कार्यक्षमा तालबन्दी गरेपछि अवस्था तनाबग्रस्त बनेको थियो ।
आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक भनेका छन् । बहुमत र एकपक्षीय ढंगबाट मेयर र हाकिम अघि बढेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेको दावी गरेपनि त्यो जनप्रतिनिधिका लागि मिल्ने र सुहाउने आन्दोलन थिएन।
मेयर आफ्नो क्षेत्राधिकार र नीतिगत निर्णय गरी नगर खेलकूद विकास समितिमा कमल पाण्डेलाई नियुक्त गरेपछि कांग्रेसले एमालेबाहेक अन्य पार्टीले खेलकूद समितिको नेतृत्व दिनुपर्ने भन्दै विवाद सृजना गरेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष दमननाथ रेग्मीले मेयर र हाकिमको शैली पक्षपात पूर्ण भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको दावी गरे ।
‘वडाअध्यक्ष र केही जनप्रतिनिधिको असहमति हुँदाहुँदै प्रमुख प्रशासकीय अधिकृतले सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा नगर प्रमुख र उपप्रमुख, वडाअध्यक्ष कार्यपालिका सदस्यहरुबीच द्वन्द्व सृजना गराए कोरम नपुग्दा नपुग्दै घर घरमा गएर हस्ताक्षर गराए नगरसभा सञ्चालन गरिएपछि आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको हो’ रेग्मीले भने ।
आन्दोलित जनप्रतिनिधिले नदीजन्य पद्धार्थ चोरी तस्करीका टेम्टर जेसीबी कारवाही गर्नुको साटो मिलेमतोमा छाडिएको, शिक्षक कर्मचारी नियुक्ती पारदर्शी नभएको, कार्यपालिकाको निर्णयबिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शिर्षकमा रकम बाँडेको आरोप लगाएका छन् ।
एमाले नगर इन्चार्ज यम रानाले वडाअध्यक्ष, र कार्यपालिका सदस्यले अत्यन्त अभद्र र उदण्ड शैलीमा गरेको तालाबन्दी र तोडफोड सार्वभौमसत्ता र जनताबाट निर्वाचित जनप्रनिधिमाथिको आक्रमण भएको बताए । रानाले देवदहमा कांग्रेसले अफ्टयारो झिक्नेबाहेक अरु काम नगरेको बताए ।
उता सोमबारै देवदह नगरपालिकाले बिज्ञप्ति प्रकाशित गर्दै देवदह नगरपालिका वडा नं १० का वडाअध्यक्ष एक बहादुर सुनार र ९ नम्बरका अध्यक्ष मोहन जिसीको नेतृत्वमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु, नगरसभा सदस्यहरु लगायतका देवदह नगरपालिकामा बिज्ञप्ती जारी गर्ने नाममा पदीय मर्यादा विपरीत नियोजित रुपमा प्रवेश गरी अपराधिक घटाएकोप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘निर्वाचित जनप्रतिनिधिले अनुशासित र मर्यादित रुपमा असहमतिका विषयहरु राखुपर्नेमा अराजक शैलीमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि फौजदारी अपराधसंहिताले वर्जित गरेका कार्यहरु गर्ने, पटकपटक धम्काउने, अपमान गर्ने, प्रमुख प्रशासकीय अधिकृतको कक्षमा अराजक शैलीमा प्रवेश गरी सार्वजनिक रुपमा तोडफोड गर्ने, हातपात गर्ने, हुलहुज्जत गर्ने लगायतका अपराधिक उपद्र कार्यप्रति देवदह नगरपालिका परिवार भ्रत्सर्ना गर्दछौं।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
देवदहमा नेकपा एमालेबाट मेयर उपमेयर एमालेबाट निर्वाचित हुन् । तालाबन्दीले नगरको कामकाज प्रभावित हुँदा सेवाग्राही अफ्ठयारोमा परेका छन् । ७ जना वडाअध्यक्षसहित २२ जना जनप्रतिनिधि आन्दोलित भएका छन् । मेयर खरेलले जनप्रतिनिधि नैं पालिकाका मेयर र हाकिमको कार्यकक्षमा तोडफोड गर्दै तालाबन्दी गर्ने कार्य सह्य नहुने बताए ।
‘पटक पटक छलफल गरियो । कांग्रेसका नेतासँग छफलफल गरियो । मुढेबलले हुने भए मेयर हाकिम किन चाहियो रु हामी अधिकार क्षेत्रबाहिर गएर काम गरेको भए सजाए भोग्न तयार छौं । यस्तो कार्य स्वीकार्य छैन ।’ ‘आफूले भनेको मान्छे बनाउनु पाइएन । नगरप्रमुखको क्षेत्राधिकारभित्रको काम जवरजस्ती काम गर्न नदिने वातावरण सृजना भएपछि बाध्य भएर खेलकूद विकास समिति गठन गरिएको हो । भएको निणय तलमाथि हुँदैन’ मेयर खरेलले थपे ।