लुम्बिनी क्षेत्रका ४० ठूला होटलहरुको अभियानः पर्यटन व्यवसाय सुधार्न ‘प्रोमोटिङ इच अदर’ संचालन – Nepal Press

लुम्बिनी क्षेत्रका ४० ठूला होटलहरुको अभियानः पर्यटन व्यवसाय सुधार्न ‘प्रोमोटिङ इच अदर’ संचालन

रुपन्देही । पर्यटन व्यवसाय सुधार्न एकजुट भएका लुम्बिनी क्षेत्रका ४० ठूला होटलहरुले व्यवसायको संरक्षणका लागि विभिन्न योजनाहरु अघि सादै सरकारलाई नीतिगतरुपमा तत्काल योजना बनाउन माग गरेका छन् ।

पर्यटन व्यवसाय उकास्नका लागि लगानीकर्ता एकजुट भएर नेपालमा पर्यटनको विकास गर्न आफूहरुबाटै प्रोमोटिङ इच अदर )पर्यटन प्रवर्द्धनमा व्यवसायी एकजुट)को नारा उनीहरुले अगाडि सारेका हुन् ।

उनीहरुले राज्यले सबैभन्दा सम्भावना बोकेको होटल व्यवसायलाई उपेक्षा गरेकाले व्यवसायीको लगानी सुनिश्चित गर्दै पर्यटकलाई सहजै नेपाल भित्र्याउने बाटो खुला गर्नुपर्ने बताउँदै यसका लागि आफूहरुले सुक्ष्म अध्ययन गरेर नयाँ कामको थालनी गरेका हुन् । लुम्बिनी क्षेत्रका ४० ठूला होटलहरुले नेपलिज होटेलियर्स एशोसिएशन लुम्बिनी बनाएर यस्तो अभियानको थालनी गरेका छन् ।

पर्यटन व्यवसायलाई थप गुणस्तरीय, व्यवस्थित र मर्यादित बनाउने उद्धेश्यले एनएचए अघि बढेको एशोसिएशनका अध्यक्ष प्रवीण बहादुर पाठकले बताए ।

बढ्दो आर्थिक संकटका बीच व्यवसायीहरुले नयाँ अभियानका साथ थालेको यो अभियानले सबै क्षेत्रबाट सहयोग पाउने उनको अपेक्षा थियो । पाठकले एक सयभन्दा बढी भाषा, विभिन्न जातजाति एवं परिकारका स्वादको धनी देश नेपालमा वर्षको १० लाख मात्रै पर्यटक आउँदा खुसी हुनुपर्ने स्थिति आउनु खर्बौंको लगानी रहेको होटेल व्यवसायको निम्ति लज्जास्पद अवस्था भएको बताउँदै नेपाल पर्यटक आगमनको सस्तो नभई उत्कृष्ट गन्तव्य हो भनेर चिनाउने बाटोमा आफूहरुको अभियान केन्द्रीत रहने जानकारी दिए।

७ महिनाअघि मात्र गठित एशोसिएशनले राज्यको व्यवस्थापन, नीति एवं कार्यान्वयनको पाटोलाई घच्घच्याई पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेको रुपन्देहीमा पर्यटक अड्याउने उपायको अध्ययन गरी सम्बन्धित निकायसँग छलफल गरेर अविलम्ब कार्यान्वयन गर्न अघि सरेको उनको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया नाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल, ६ लेन सडक, लुम्बिनी, जितगढी किल्ला लगायतका पूर्वाधार र पर्यटकीय स्थलले रुपन्देही होटेल व्यवसायको हब बनिसकेपनि राज्यको अपरिमार्जित नीति नियम, कानुन र बनेका पूर्वाधार पूर्णरुपमा संचालन हुन नसक्दा होटेल क्षेत्र पर्यटक अभावको चपेटामा परेको उपाध्यक्ष दिलीप गौचन बताउँछन् ।

कोरोनाअघि बेलहिया नाकाबाट डेढ करोड पर्यटक जिल्लामा आएकामा त्यसयता ८० हजार मात्रै प्रवेश गरेकाले होटेल व्यवसाय संकटमा परेको र धेरै व्यवसायी धरासायी बनिसकेको उनले गुनासो गरे ।

‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन र हाम्रो खर्बौंको लगानी जोगाउन सरकारसँग बुँदागत माग नै राखेर प्रशासन, प्रहरी, संघीय निकाय पुगिसकेका छौं,’ उनले भने, ‘देशको समृद्धिको मुख्य स्तम्भ होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, अध्यागमन र नाकामा पर्यटकले व्यवाहोर्नुपरेको झन्झट हटाइदिने, प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउँठाउँमा सूचना केन्द्र स्थापना गरी जानकारी दिनुपर्ने लगायतका माग हाम्रो छ ।’व्यवसायीले आफूहरुमा समेत कमी कमजोरी रहेकाले आफूहरु सच्चिँदै राज्यलाई यस क्षेत्रको महत्व बुझाइ हरेक नीतिको परिमार्जनसहित कार्यान्वयनको पक्षमा ल्याउने बताएका छन् ।

उनीहरुले नेपालको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएपनि खरबौं लगानीको होटल व्यवसायलाई उद्योगको मान्यता नदिएकाले तत्काल उद्योगसरह मान्यता दिइनुपर्ने, भन्सार नाका र अध्यागमन कार्यालय प्रविधियुक्त बनाइनुपर्ने, भारतीय पर्यटकलाई २५ हजारमाथिको रकम ल्याउन रोकिएको विषय तत्काल हटाई सहज बनाउनुपर्ने, भारतीय पर्यटकका सवारीलाई सबै ठाउँमा जान दिइनुपर्ने, पर्यटक गाडी खरिदमा भन्सार सहुलियत दिनुपर्ने, मुख्य पर्यटकीय स्थलबारे जानकारी दिन स्तरीय पर्यटन सूचना केन्द्र स्थापना गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी बुटवलमा रात्रीकालीन व्यवसाय संचालन गरिनुपर्ने, जितगढी किल्लाको प्रचार विदेशमासमेत गरिनुपर्ने, बुटवल–तिलोत्तमा–भैरहवा जोडेर मेगासिटी बनाउनुपर्ने, बुद्ध जन्मस्थल लुम्बिनीका बिहारहरु नियम विपरीत गेष्ट हाउनमा परिणत भएकाले यसलाई नीति बनाएर रोक्नुपर्ने, लुम्बिनीको बढ्दो ध्वनी प्रदूषण रोक्नुपर्ने, नेपाली आकाशलाई कालोसूचिबाट हटाउन सरकारले ध्यान दिनुपर्ने, आन्तरिक उडानमा नेपाली र विदेशीलाई समान भाडा हुनुपर्ने, प्रदेशका हिलस्टेशन भारतीयसहितका पर्यटकलाई आकर्षित हुनेखालका बनाउनुपर्ने, तारे होटलको मापदण्ड कोठाको संख्यामा नभई गुणस्तरीयताका आधारमा हुनुपर्ने, रुपन्देहीलाइृ क्यासिनो हव, नाइट लाइफ भारतीयहरुको यहाँ आएर विवाह र भोज गर्ने गन्तव्य बनाउन निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने माग व्यवसायीहरुको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर