संसदीय समिति बैठकबाटै निकालिइन् समाज कल्याण परिषद् सदस्य आस्था, उनकाे प्रश्न- के यही हो असल संसदीय अभ्यास ?
काठमाडौं । संसदीय मर्यादाविपरीत कार्य गरेको भन्दै समाज कल्याण परिषद्की सदस्य आस्था केसी संसदीय समितिको बैठकबाट निकालिएकी छन् । मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको निर्देशनपछि बैठकमा आमन्त्रित परिषद् सदस्य केसी बाहिर निकालिएकी हुन् ।
लेखा समितिमा मंगलबार समाज कल्याण परिषद्मा भएको भ्रष्टाचारलगायत विषयमा छलफल भएको थियो । बैठकको क्रममा संसदीय मर्यादाविपरीतका कार्य गरेको भन्दै केसीलाई बैठक स्थलबाट बाहिर निकालिएको समितिले जनाएको छ । बैठकमा समितिका सदस्य स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देश भाँड्न समाज कल्याण परिषद्को भूमिका रहेको र पार्टीका आफन्त भर्ती केन्द्र भएको आरोप लगाएका थिए ।
सांसद सिंहले भने, ‘पहिला राजाको पालामा रानीको काम नभएका कारण समाज कल्याण परिषद् खोलेर आसेपासे राख्ने गरिन्थ्यो । अहिले गणतन्त्रमा मन्त्रीका र सत्तारुढ दलका नेताका आफन्त र आसेपासे भर्तीकेन्द्र भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था अनुगमन गर्न सक्दैन भने समाज कल्याण परिषद्को काम छैन ।’
आफ्नो भनाइ राखेर समिति सभापतिसँग अनुमति लिएरै बाहिरिन लागेपछि परिषद्की सदस्य केसीले सांसद सिंहलाई बैठकमा प्रश्न गरेर यतिकै जान नमिल्ने र जवाफ सुनेरमात्रै जानुपर्ने बताइन् ।
उनले भनिन्, ‘माननीय सांसदज्यू, आफूले जे मनलाग्यो त्यही बोल्ने ? जवाफ सुनेर जानुपर्दैन ?’
त्यसपछि सांसद सिंह र परिषद् सदस्य केसीका बीचमा विवाद भयो । लगत्तै समितिका सभापति ऋषिकेश पोखरेलले केसीले संसदीय मर्यादाविपरीत कार्य गरेको भन्दै बैठकबाट बाहिर निस्कन निर्देशन दिएपछि कर्मचारीले उनलाई बैठकबाट बाहिर पठाएका थिए ।
केसीको समिति सभापतिलाई प्रश्न- के यही हो असल संसदीय अभ्यास ?
बैठकबाट निकालिएलगत्तै परिषद् सदस्य केसीले सामाजिक सञ्जालमार्फत संसदीय समितिका सभापतिलाई प्रश्न गरेकी छन् । उनले फेसबुकमार्फत समितिका सभापति ऋषिकेश पोखरेललाई आफ्नो भनाइ राखेर जाने सांसदलाई जवाफ पनि सुनेर जानुस् भन्दा बैठकबाट निकालिनु कस्तो खालको संसदीय अभ्यास हो भन्दै प्रश्न गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘माननीय लेखा समितिका सभापतिज्यूलाई प्रश्न, सार्वजनिक लेखा समितिको बैठकमा समाज कल्याण परिषद्माथि अनेक लान्छना लगाएर आफू बोलिसकेपछि जवाफ नसुनी हिँड्नुभएका माननीय अमरेशकुमार सिंहलाई प्रश्न सोधेपछि जवाफ सुन्नुपर्दैन र माननीयज्यू भनेर प्रश्न गर्दा असंसदीय व्यवहार हुँदोरहेछ। ती माननीयले जे पायो त्यो भन्न चाहिँ पाउने ? बैठकमा प्रश्न राखेर हिँडिदिने, जवाफ चाहिँ सुन्नु नपर्ने ? मैले यति सोध्दा चाहिँ असंसदीय व्यवहार हुने ? के यही हो असल संसदीय अभ्यास सभापतिज्यू ? जवाफ चाहियो ।’
परिषद् सदस्य केसी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य पनि छन् । उनी नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको नीति तथा परामर्श समितिको सदस्यसमेत हुन् ।