भरतपुरको भ्रमण वर्ष उद्घाटनमा प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री सहभागी हुने
चितवन । भरतपुरमा भोलि हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् ।
नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन आउँदै छन् । सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आजै चितवन आउने कार्यक्रम पक्का भइसकेको भरतपुर महानगरपालिका मेयर सचिवालयले जानकारी दिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि भोलि नै आउने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको हो । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने जानकारी दिएको उनले बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु सबैको लागि मन्तव्यको समय पनि निर्धारण गरिएको छ । तर, उनीहरु सबैले छोटो मन्तव्य मात्रै दिने अधिकारीले जानकारी दिए ।
अन्य पूर्व प्रधानमन्त्रीको सहभागितालाई सामान्य लिए पनि निरन्तर गठबन्धन सरकारको आलोचना गर्दै आएका एमाले अध्यक्ष ओलीले सहजै भरतपुर महानगरको निमन्त्रणा स्वीकार गर्नुलाई राजनीतिक कोर्ष परिवर्तनको सुरुआतको रुपमा विश्लेषण पनि गरिएको छ ।
भरतपुरको ६ लेनको सडक शिलान्यास गर्ने समय तत्कालिन प्रधानमन्त्री केपी ओली चितवन आउँदा महानगरपालिकाका प्रमुख रेनु दाहाल स्वागतमा समेत सहभागी थिइनन् ।
तर, अहिले उनकै निमन्त्रणा स्वीकार गरि ओली महानगरको भ्रमण वर्ष उद्घाटनको लागि चितवन आउन तयार भएका छन् । अध्यक्ष ओलीको सचिवालयले पनि उनी भरतपुर आउने कुरा पक्का भएको नेपाल प्रेसलाई जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरुसहित ६ जना सांसद, प्रदेशका मुख्य मन्त्री तथा प्रमुखहरु पनि सहभागी हुने पक्का भएको अधिकारीले जानकारी दिए ।
दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा राष्ट्रिय स्तरका गायक गायीकाहरुको कला पनि प्रस्तुत गरिने जनाइएको छ । भने भरतपुर महानगरका ५० हजारबढी मानिस भ्रमणवर्ष उद्घाटनमा सहभागी गराउने महानगरले तयारी गरेको छ । उद्घाटन अघि बिहान ११ बजे भरतपुरका विभिन्न स्थानबाट र्याली सहित मानिसहरुको सहभागिता रहने तालिका महानगरले सार्वजनिक गरेकोे छ ।