पाणिनीमा बाँदर र बँदेल भगाउन किसानलाई भोटे कुकुर बाँडिने – Nepal Press

पाणिनीमा बाँदर र बँदेल भगाउन किसानलाई भोटे कुकुर बाँडिने

रुपन्देही । किसानका उत्पादन बाँदर र बँदेलले नोक्सानी गरेर हैरानी पारेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ ले जंगली जनावर नियन्त्रण गर्न भोटे कुकुर वितरण गर्ने भएको छ ।

वडामा सामूहिक बैठक बसेर जंगली जनावरबाट प्रभावित किसानहरुको प्राथमिकता हेरेर भोटे कुकुर वितरण गर्ने निर्णय भएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले नेपाल प्रेसलाई बताए ।

‘यसअघि अन्य धेरै प्रयत्न गरियो तर केही गरेर रोक्न सकिएन, भोटे कुकुर र मान्छेको साथले मात्रै बाँदर र बँदेललाई हटाउन सकिन्छ भन्ने सबैको सुझाव आएकाले यस्तो निर्णय गरिएको हो’, वडाध्यक्ष पौडेलले भने, ‘अहिले जुम्लाबाट यसको माउ र बच्चा ल्याउनका लागि २ लाख रकम विनियोजन गरेर बुधबार १५ दिनको सूचना प्रकाशन गरेका छौ, शुद्ध नश्ल भएको भोटेकुकुर ल्याएर किसानलाई दिने हो ।’

वडाका धेरैजसो किसानले जंगली जनावरका कारण खेती नै छाडेर विस्थापित हुनुपर्ने अवस्था आएको र ती जनाबर मार्न पनि नपाइने भएकाले विकल्पमा यस्तो गरिएको वडाध्यक्ष पौडेलको भनाइ छ ।

‘मार्न पाइएन, यसअघि क्षति रोक्न विभिन्न विधि प्रयोग गरियो, बँदेललाई रोक्न काँडेतार लगाइयो, विभिन्न केमिकल प्रयोग गरियो, बाँदरलाई रोक्ने जाली वितरण गरियो ५० प्रतिशत साझेदारीमा तर कुनै पनि विधि प्रभावकारी भएनन्, बूढापाकाको सल्लाहमा यो विधि छानिएको हो, किसानको वास्तविक समस्या निकै ठूलो छ, पालिका, प्रदेशबाट अलिक प्रभावकारी योजना ल्याउन ढिलाई गर्नुहुँदैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *