राप्ती प्रतिष्ठानमा टोकन प्रणाली सुरु
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरितो र भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले आजदेखि टोकन प्रणाली सुरु भएको छ । प्रतिष्ठानका उपकूलपति डा. विकास लामीछानेले रिवन काटेर टोकन प्रणालीको सुरुवात गरेका हुन् ।
उपकूलपति डा. लामीछानेले सेवालाई व्यवस्थित र छिटोछरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्याउने बताए । उनले अबदेखि बिरामीको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताए ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले अबदेखि आफूले लिन चाहने सेवा ओपीडी, स्वास्थ्य बीमा र बिलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ ।
प्रतिष्ठान स्थापना भएपछि पहिलोपटक टोकन प्रणली लागू गरिएको अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराइले बताए । भट्टराइले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवश पालो कटेमा नयाँ टोकन लिएर नयाँ पालो कुर्नुपर्ने जानकारी दिए ।
टोकन प्रणाली उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलसहित विभिन्न विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारीहरु र लक्ष्मी बैँक घोराही र सिद्धार्थ बैँक घोराहीका बैँक म्यानेजरहरुको उपस्थिति रहेको थियो ।
टोकन प्रणाली जडित मेसिन घोराहीस्थित सिद्धार्थ बैँकले सौजन्य गरेको छ भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल बोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको छ ।