आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रम केही आएन : एमाले
काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरू नभएको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपि पेस्ट जस्तो मात्र लाग्ने बताए ।
उनले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए । उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बोक्न नसकेको बताए । उनले आजका अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्न सक्ने सिद्धान्त र प्राथमिकता नरहेको बताए ।
उनले सिद्धान्त र प्राथमिकतामा लघुवित्त र सहकारी पीडितहरूको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरू समाधानका लागि कुनै पहल गर्न नभएको बताए ।