नरेन्द्र विक भन्छन्- केको परिवारवाद ? म प्रकाण्डको छोरो मात्र होइन !
'प्रकाशजी (विप्लवपुत्र) को विवाह सी संस्कृतिमा नै भएको हो'
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल समाजवादीको २३औं राष्ट्रिय सम्मेलन भर्खरै सकिएको छ । काठमाडौंमा भएको २३औं राष्ट्रिय सम्मेलनले नरेन्द्र बीके अर्थात नरेन्द्र सीको अध्यक्षताम १८१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गर्यो ।
राष्ट्रिय सम्मेलनले यसअघि अखिल क्रान्तिकारी रहेको संगठनको नाम नै परिवर्तत गरेर अखिल समाजवादी बनाएको हो । अध्यक्ष बीकेले सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरिरहँदा संगठनकै केन्द्रीय समितिका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्व चयन गर्दा नातावाद, कृपावाद भएको तथा चाकरी गर्ने व्यक्ति नेतृत्वमा पुगेको आरोप लगाइरहेका छन् । उनीहरुले संगठनका लागि अहोरात्र खटिरहने नेता कार्यकर्ताको अवमूल्यन भएको टिप्पणी गरिरहेका छन् ।
यीलगायत संगठनको नयाँ नेतृत्वले लिने कार्यदिशा, भावी योजना तथा विद्यार्थी आन्दोलनका विषयमा केन्द्रित रहेर अखिल समाजवादीका अध्यक्ष नरेन्द्र बीकेसँग नेपाल प्रेसकर्मी केशव भुलले गरेको कुराकानीको सम्पादित अंश :
– भर्खरै सकिएको २३औं राष्ट्रिय सम्मेलनले संगठनको कार्यदिशा के त गर्यो ?
हाम्रो संगठनको २३औं राष्ट्रिय सम्मेलन भर्खरै सम्पन्न गरेका छौं । पार्टीका महासचिव विप्लव सीलगायतका नेता, शिक्षाविद्, शहीद परिवार, सामुदायिक विद्यालयको क्षेत्रमा राम्रो गरेका एक दर्जन विद्यालयका प्रधानाध्यापकका बीचमा सम्मेलन उद्घाटन सत्र सम्पन्न गर्यौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हलमा तीन दिनसम्म बन्दसत्र पनि सम्पन्न गर्यौं । बन्दसत्रमा आगामी शिक्षा नीति कस्तो हुने भन्ने योजना बनाएर पारित गरेका छौं । कसरी शिक्षाभित्रका विकृतिविरुद्ध लड्न सकिन्छ भनेर अल्पकालीन र दीर्घकालीन नीति पारित गरेका छौं ।
मेरै नेतृत्वमा १८१ सदस्यीय केन्द्रीय समिति गठन गरेका छौं । ११ सदस्यीय पदाधिकारी पनि चयन गरेका छौं । यसअघि अखिल क्रान्तिकारी रहेको संगठनको नाम परिवर्तन गरेर अखिल समाजवादी बनायौं । सुनौलो रङमा कलम र तारासहितको रातो झण्डा पनि हुने तय गरेका छौं ।
– एक पदीय रहेकोमा अहिले बहुपदीयमा जाँदा संगठन संरचना ठूलो भएन र ?
नेपालमा ८० देखि ९० लाख विद्यार्थी छन् । ती भनेको जम्मा जनसंख्याको एक तिहाइ हो । यत्रो संख्यामा विद्यार्थी हुनाले १८१ जनाको केन्द्रीय समिति हुनु ठूलो होइन । हाम्रो संगठन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि पाँचौं ठूलो संगठन हो । सबै दृष्टिकोणले हेर्दा १८१ त्यति ठूलो संख्या होइन । विद्यार्थी संगठनले काम गर्नुपर्ने धेरै क्षेत्र पनि छन् । भूगोल, क्षेत्र, विषयगतलगायत समेट्दा यो त्यति ठूलो संख्या होइन ।
अर्को कुरा अहिलेको संरचनाअनुसार बहुपदीय पदाधिकारी बनाउनु स्वाभाविक नै हो । मुलुक प्रदेशगत संरचनामा भएको र अरु संगठनले पनि बहुपदीय अभ्यास गरिरहेको हुनाले पनि हामीले बहुपदीय बनाउनु अस्वाभाविक होइन । अहिले हाम्रो संगठनले जुन कार्यदिशा लिएर आन्दोलन गर्न वा अघि बढ्न खोजेको छ, त्यसका लागि पनि ११ सदस्यीय पदाधिकारी ठूलो होइन, ठीकै हो ।
– केन्द्रीय सदस्यले नै नेतृत्व चयन सही भएन भनेर टिप्पणी गरिरहनुभएको छ नि ! खास के हो ?
होइन, त्यस्तो समस्या केही पनि आएको छैन । सामान्य रुपमा आएको टिप्पणी र समस्याका विषयमा हामीले छलफल पनि गरिसकेका छौं । त्यो पनि नेतृत्वसँगको विषयमा होइन । हामीले सर्वसम्मत ढंगबाटै पदाधिकारी र केन्द्रीय समिति चयन गरेका हौं । सामाजिक सञ्जाल र मिडियामा भएको यो सामान्य टिप्पणी हो । एक मतले नेतृत्व चयन भएको हो ।
म प्रकाण्डकै छोरा भएका कारण संगठनको अध्यक्ष भएको भन्ने कुरा होइन । म १२ वर्षदेखि निरन्तर विद्यार्थी संगठनमै आवद्ध भएर आन्दोलनमा छु । केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुँदै १२ वर्षपछि संगठनको अध्यक्षमा पुगेको हो । छोरा भएकै कारण परिवारवाद भएको भन्ने विल्कुल होइन ।
– पार्टीको दोस्रो व्यक्तिका छोरा विद्यार्थी संगठनको अध्यक्ष हुँदा परिवारवाद भए जस्तो लागेन र ?
यो भन्ने मान्छेले भन्न सक्ने नै भए । बाबु र छोरा त हो नै । तर, म प्रकाण्डकै छोरा भएका कारण संगठनको अध्यक्ष भएको भन्ने कुरा होइन । म १२ वर्षदेखि निन्तर विद्यार्थी संगठनमै आवद्ध भएर आन्दोलनमा छु । केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुँदै १२ वर्षपछि संगठनको अध्यक्षमा पुगेको हो । छोरा भएकै कारण परिवारवाद भएको भन्ने विल्कुल होइन ।
– पछिल्लो समय विद्यार्थी संगठन धार नभएका खुकुरी जस्ता भए भन्ने छ, अहिले त्यस्तै हो ?
नेपालको हरेक राजनीतिक तथा व्यवस्था परिवर्तनको आन्दोलनमा विद्यार्थी संगठनको एकदमै महत्वपूर्ण भूमिका र योगदान छ । आजमात्रै नभएर राणाकालदेखि, पञ्चायतविरोधी आन्दोलन, १० वर्षे जनयुद्ध तथा २०६२/६३ सालको जनआन्दोलनमा विद्यार्थी संगठनको ठूलो योगदान छ । तर, जुन आन्दोलनबाट जे उपलब्धि हासिल गर्ने हामीले अपेक्षा गरेका थियौं, जनताले जुन अधिकार पाउनेछन् भनेर हामीले सोचेका थियौं, त्यो आंशिक रुपमा मात्रै हुनसक्यो । राजनीतिक हिसाबले केही व्यक्ति फेरबदल हुनेमात्रै भयो । खासमा देशको आधारभूत कुरा परिवर्तन हुन सकेन । शिक्षा, स्वास्थ्य, अर्थतन्त्रमा सुधार हुन सकेन । सुशासनको पक्षमा पनि काम हुन सकेन ।
त्यसैले हामीले अहिले कायम रहेको लोकतान्त्रिक गणतन्त्रभित्रको संसदीय व्यवस्था दलाल पूँजीवादी व्यवस्थातिर उन्मुख भयो । जतिबेला संविधानसभाले नेपालको संविधान जारी गर्यो, त्यति बेला नै हाम्रो पार्टीले उक्त संविधानका विरुद्ध रत्नपार्क शान्ति बाटिकाबाट संविधान घोषणा गर्यौं । त्यति बेला नै हामीले भनिसकेका थियौं कि यो व्यवस्था ठीक छैन, असफल हुन्छ है भनेर । आखिर हामीले जे भनेका थियौं, त्यही अहिले प्रमाणित पनि भइसकेको छ । कतिपय देशमा भइरहेका ठूल्ठूला घटना पनि बाहिरी मुलुक तथा विदेशीको इसारा र डिजाइनमा भइरहेका छन् ।
अहिले तपाईं हेर्न सक्नुहुन्छ, नेपालको अर्थतन्त्र कहाँ पुग्यो ? हामी विदेशी पूँजीको चपेटामा छौं । अहिले कर्मचारी पाल्नै नसक्ने अवस्थामा देश पुगेको छ । देशमा भित्रिने रेमिट्यान्सबाहेक अरु कुनै पनि सूचक राम्रो छैन । विदेशबाट रेमिट्यान्स नआउने हो भने ५६ दिनमै देशको अर्थतन्त्र समाप्त हुन्छ । अहिलेको व्यवस्थाको प्रत्यक्ष असर शिक्षामा पनि परेको छ । सार्वजनिक शिक्षालाई राज्यले अपनत्व लिन सकिरहेको छैन । विश्वविद्यालय प्राज्ञिक थलो हुनुपर्नेमा राजनीतिक दलका भ्रातृ संगठन जस्ता भए, भागबन्डा गर्ने र नेता कार्यकर्ता भर्ती केन्द्र भए । राज्यले आफ्नो भएको संरचना सिध्याउने र विदेशीले डिजाइन गरेका कुरामात्रै लागू गर्नु एकदमै विडम्बना भएको छ ।
नेपालको सार्वजनिक शिक्षा चौपट भएको छ । नेता कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउँदै नपढाउने अवस्थामा पुगेको छ देश । एक कक्षामा एक सय विद्यार्थी भर्ना भएकोमा १२ कक्षामा पुग्दा ३५ जनामात्रै पुगेका छन् । शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट लगानी हुनुपर्नेमा १० प्रतिशतसम्म पनि पुग्न सकेको छैन । समग्रमा शिक्षा प्रणाली नै असफल भइसकेको अवस्था छ ।
– विद्यार्थी संगठनले पनि शिक्षा क्षेत्र सुधार गर्नुको साटो लुट्ने काम नै त गरिरहेको छ नि, होइन ?
तपाईंले यसअघि गरेकै प्रश्नबाट जवाफ दिन सुरु गर्छु म । विद्यार्थी संगठन कमजोर भए भन्नेमा राजनीतिक दलको पनि प्रभाव हुन्छ नै । सरकारमा रहेका दलका विद्यार्थी संगठनको बाध्यता पनि होला । हाम्रो पार्टी त न सरकारमा छ न त दर्ता भएको दल नै हो । त्यसैले हाम्रो संगठन अहिलेको व्यवस्थाको विरुद्धमा निरन्तर लागिरहेको छ । हामी समाजवादको आन्दोलनमा छौं । हामी निरन्तर संघर्षमै छौं ।
पहिले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्यो नि ! सामुदायिक विद्यालयको शिक्षा सुधार नगर्ने अनि जबरजस्ती सामुदायिक विद्यालयमै पढाउ भनेर बाध्यकारी पनि त गराउन मिलेन नि !
अखिल समाजवादी सुरुदेखि नै निरन्तर संघर्षमै छ । इन्जिनियरिङ संस्थान, सीटीईभीटीलगायतका क्षेत्रमा हामीलगायत अन्य विद्यार्थी संगठनले पनि आन्दोलन गरेकै कारण महँगो शुल्क घटाउन सफल भएका छौं । देशका उत्कृष्ट सामुदायिक विद्यालयलाई हाम्रो संगठनको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटनमा सम्मान पनि गरेका छौं । यो एउटा सुरुवात पनि त हो नि ! यसरी हामी सार्वजनिक शिक्षालाई सुधार गर्न निरन्तर संघर्ष गरिरहेका छौं ।
– त्यसो भए तपाईंको पार्टी र संगठनका नेताका छोराछोरी चैँ सरकारी विद्यालयमा पढाएका छन् त ?
छन् नि ! हामी पछिल्लो समय त्यतातिर पनि लागेका छौं । पहिले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्यो नि ! सामुदायिक विद्यालयको शिक्षा सुधार नगर्ने अनि जबरजस्ती सामुदायिक विद्यालयमै पढाउ भनेर बाध्यकारी पनि त गराउन मिलेन नि ! काठमाडौं महानगरपालिकाको कुरा गर्ने हो भने महानगरमा ५१ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा ५० हजार विद्यार्थी छन् । तर, महानगरभर विद्यार्थीको संख्या दुई लाखभन्दा बढी छ । यदि ती सबैले सामुदायिक विद्यालयमै पढाउन चाहने हो भने पढाउन नसकिने अवस्था पनि त छ नि !
काठमाडौं उपत्यकाभित्रका पनि कतिपय सामुदायिक विद्यालय पनि राम्रा र नमुनायोग्य छन् । ती विद्यालयमा भर्ना गर्न नै प्रवेश परीक्षासमेत दिन लाइन लाग्ने गरिएको छ । सामुदायिक विद्यालयलाई राम्रो बनाउनेबित्तिकै ती विद्यालयमा विद्यार्थीको लाइन लाग्छ । समतामूलक समाज निर्माण गर्न राज्यले शिक्षामा लगानी गर्नैपर्छ । त्यसैले हामी र हाम्रो संगठन खराब प्रवृत्तिविरुद्ध संघर्ष गर्ने र राम्रो काममा सहयोग गर्ने पक्षमा छ ।
एउटा उदाहरण भन्नुपर्दा यसअघि सरकारले प्रतिबन्ध लगाएको बेला हामीले धादिङमा एउटा विद्यालय पनि निर्माण गरेर अध्ययन अध्यापन गराइरहेका छौं । हामीले हाम्रै लगानीमा त्यहाँका चेपाङ तथा सीमान्तकृत समुदायका ५० जना विद्यार्थीलाई पढाइरहेका छौं । हामी रचनात्मक तरिकाले पनि काम गरिरहेका छौं । जस्तैः वृक्षारोपण, स्वास्थ्य क्षेत्रमा पनि काम गरिरहेका छौं । हाम्रो पार्टीमात्रै हो, जो आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्छ भनेर लागेको छ । सबै दललाई हेर्ने हो भने त्यो एउटा पार्टीमात्रै हो हाम्रो पार्टी, जसले गत वर्ष ११५ विघा जमिनमा खेतीपाती गर्यो ।
– आफ्नो पार्टीका कार्यकर्ताका लागि मात्रै गर्ने कि भोका नांगा जनताका लागि पनि गर्ने ?
पहिले त आफैं आत्मनिर्भर हुने हो । त्यसपछि पो अरुका लागि गर्न सकिन्छ । अर्को कुरा हामी पनि त आफैंमा नागरिक नै हौं ! नेतृत्वले दिने भनेको भिजन हो । सबै खेतबारी बाँझो छ । जस्तो इजरायलमा सबैभन्दा थोरै उत्पादन हुने भए पनि सबैतिर इजरायलको खाद्यान्न पुग्ने गरेको छ । त्यसैले हामीले सुरुमा कृषिमा आत्मनिर्भर हुनेगरी काम सुरु गरका छौं ।
देश र जनताको पक्षमा बोल्दा, सुशासनको पक्षमा बोल्दा र न्यायको पक्षमा बोल्दा पक्राउ पुर्जी जारी गर्नु व्यवस्थाविरोधी कार्य हो । भ्रष्टाचार गर्ने अनि भ्रष्टाचारविरोधी कार्य गर्दा पक्राउ पुर्जी जारी गर्ने काम भइरहेको छ ।
अन्य कैयौं क्षेत्रमा पनि हामीले हात हालेका छौं । सबै एकै पटक हुँदैन । विस्तारै सबै गर्दै जाने हो । अलिकति नयाँ र फरक तरिकाले अघि जान खोजेका छौं । अरु पार्टी र संगठन तथा हाम्रो पार्टी र संगठनमा पक्कै पनि केही फरक छ ।
– तपाईं पार्टीको केन्द्रीय सदस्य पनि हो, मूलधारमा आइसकेपछि पार्टी हराएको हो ?
२०७२ सालमा जारी भएको संविधान बनेपछि हामी त्यसविरुद्ध निरन्तर लागिरहेका छौं । मानव तस्करका विरुद्ध, अर्बौं कर नतिर्ने एनसेलका विरुद्ध आन्दोलन गरेकै कारण हाम्रो पार्टीमाथि तत्कालीन डबल नेकपाको सरकारले प्रतिबन्ध लगायो । अर्बौं रकम राज्यलाई कर नतिर्ने कम्पनीमाथि आक्रमण गर्दा हामीमाथि उल्टै सरकारले प्रतिबन्ध लगायो । आखिरमा तत्कालीन डबल नेकपाको सरकारले हाम्रो पार्टीलाई सिध्याउने नै भनेर प्रतिबन्ध लगाएको हो नि ! तर, अहिले को सिध्धियो भन्ने कुरा त थाहा नै भैहाल्यो नि ! डबल नेकपा नै फुटेर टुक्राटुक्रा भयो । हामी विकृति र विसंगतिविरुद्ध आन्दोलनमै छौं, हराएका छैनौं ।
– तपाईंका महासचिवसहित विभिन्न नेताविरुद्ध नै पक्राउ पुर्जी जारी भएको छ नि ?
देश र जनताको पक्षमा बोल्दा, सुशासनको पक्षमा बोल्दा र न्यायको पक्षमा बोल्दा पक्राउ पुर्जी जारी गर्नु व्यवस्थाविरोधी कार्य हो । भ्रष्टाचार गर्ने अनि भ्रष्टाचारविरोधी कार्य गर्दा पक्राउ पुर्जी जारी गर्ने काम भइरहेको छ । यति धेरै ठूलो युवा जनशक्ति भएको देश संसारमै सबैभन्दा बढी गरिबको सूचीमा परिरहेको छ । गरिब हुनुको पछाडी राज्य व्यवस्था सही नभएकै कारण हो । त्यसैले हाम्रो एउटै भनाइ के हो भने समाजवादको बाटोमा जानुपर्छ ।
– संसदीय व्यवस्था ठीक छैन भन्ने तर तिनै दलसँग मोर्चा बनाएर गएको सुहाएन नि ?
होइन, हामीले यो संसदीय व्यवस्था ठीक छैन, असफल हुन्छ भनेर भनेकै हो । आखिर असफल भएरै छोड्यो । अहिले आएर प्रमाणित पनि भयो नि ! समाजवादको यात्रामा जाने कुरा पछिल्लो समाजवादी मोर्चा बन्नु पनि एउटा राम्रो पक्ष हो ।
– समाजवादी मोर्चा त विप्लवले एकता प्रक्रियामा आउन गरेको भन्ने छ नि ?
समाजवादतिर जाने पक्षमा हुँदा एकतामा नजाने भन्ने पनि होइन । तर, अहिलेकै संसदीय व्यवस्थामा एकतामा जाने भन्ने कुरा भने होइन । संसदीय व्यवस्था ठीक छैन भन्ने निष्कर्षसहित नै यो समाजवादी मोर्चा बनेको हो नि ! यदि समाजवाद संसदीय व्यवस्थाको विकल्प हो भने हामी तयार छौं भनेर भनिरहेकै छौं नि ! अहिले हाम्रो पार्टीका महासचिव कमरेड विप्लव सीको संयोजकत्वमा मोर्चाले काम गरिरहेको छ ।
– बाहिर बसेर विरोधमात्रै गरेर समाजवादको यात्रामा कसरी पुग्न सकिएला र ?
हो, त्यसमा छलफल भइरहेको छ । पुरानो नेतृत्वले अहिलेसम्म जे गर्यो, त्यो ठीक छ । अब अहिलेको राजनीतिक दलको विकल्प र नेतृत्वको पनि विकल्प खोज्नुपर्छ । आवश्यक पर्यो भने हाम्रो पार्टी पनि नेतृत्व गर्न तयार छ । त्यसका लागि छलफल गर्न सकिन्छ ।
शिक्षालय र अर्थतन्त्रको बीचमा समन्वय हुन सकिरहेको छैन । क्याम्पस पढाउने ठाउँ र अर्थतन्त्रको कनेक्सन हुनुपर्यो । विद्यार्थी र शिक्षालाई उत्पादनमा जोड्नुपर्यो । अहिले त पढाउने र विदेश पठाउनेमात्रै काम भइरहेको छ । यसको विकल्पका रुपमा लाग्नुपर्छ भन्ने हाम्रो कुरा हो ।
– संसदीय व्यवस्थाको विरोध गर्ने, यही व्यवस्थाले गराउने निर्वाचनमा सहभागी हुने कुरा मिल्यो त ?
हामी यही राज्य व्यवस्थाका नागरिक भइसकेपछि कतिपय सवालमा प्रयोगात्मक हिसाबले प्रयोग गर्नुपर्ने पनि हुन्छ । विद्यार्थी आन्दोलन पनि व्यवस्थाविरोधी आन्दोलन हो । इतिहास हेर्दा जुनसुकै शासनकालमा पनि व्यवस्थाको विरोध गर्ने राजनीतिक दल दर्ता हुन नपाएपछि विद्यार्थी संगठन दर्ता भएर व्यवस्थाविरुद्ध उत्रिएका छन् । केन्द्रमा जुन संसदीय व्यवस्था छ, त्योभन्दा स्थानीय तहको संरचनमा हाम्रो बुझाइ केही फरक छ ।
– तर, जुन संविधान मानिरहनुभएको छैन, त्यसैको व्यवस्था त हो, यो पनि ?
त्यो एउटा संरचनाको कुरा भयो । कतिपय संविधान र व्यवस्थाका सकारात्मक पक्ष पनि छन् । स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्ने जुन कुरा छ त्यो केही हदसम्म ठीक छ । व्यवस्था भन्नेबित्तिकै नेता र नेतृत्वमा मात्रै देख्न भएन नि ! तर, एउटै नेता र एउटै दल त्यो पनि छिनछिनमा फेरिरहेका छन् । अहिलेको संविधानकै व्यवस्थाको कुरा गर्ने हो भने निर्वाचन प्रणाली, संसदीय दलमा बहुमत हुनुपर्ने, संसदीय दलको नेता चुनिनुपर्ने, सांसद एकापसमा किनबेच हुनुपर्नेलगायतका गलत प्रवृत्तिको विकल्प खोज्नुपर्छ । त्योसँगै अर्को मुख्य कुरा आत्मनिर्भर अर्थतन्त्र पनि हो । अहिले देशका केही व्यक्तिको मुट्ठीमा अर्थतन्त्र चलिरहेको छ ।
यतिमात्रै नभएर परनिर्भर अर्थतन्त्र पनि छ । नेपाल विदेशी उत्पादनको खुला बजार भइरहेको छ । यसलाई उल्ट्याएर अघि जानुपर्छ भन्ने हाम्रो कुरा हो । पछिल्लो एक वर्षमा मात्रै १६ लाख युवाले देश छोडे । त्यसैले अब देशभक्त एक हुनैपर्छ । १० वर्षमा केही न केही परिवर्तन हुनैपर्छ । अहिले फेरि एक पटक युवा-विद्यार्थीले सोच्ने बेला आएको छ । अहिलेको भन्दा उन्नत समाजवादी व्यवस्था, शिक्षा प्रणाली विकास गर्ने, अर्थतन्त्र सुधार गर्ने बेला आएको छ । लाखौं विद्यार्थी विदेशमा जान नै पढ्ने भइरहेको छ ।
शिक्षालय र अर्थतन्त्रको बीचमा समन्वय हुन सकिरहेको छैन । क्याम्पस पढाउने ठाउँ र अर्थतन्त्रको कनेक्सन हुनुपर्यो । विद्यार्थी र शिक्षालाई उत्पादनमा जोड्नुपर्यो । अहिले त पढाउने र विदेश पठाउनेमात्रै काम भइरहेको छ । यसको विकल्पका रुपमा लाग्नुपर्छ भन्ने हाम्रो कुरा हो । यो दिशामा अघि बढ्नुपर्छ ।
– पछिल्लो समय पार्टी महासचिव विप्लवका छोरा प्रकाशको बिहेको खुब चर्चा भयो, त्यसमा कहाँ त्रुटि भयो ?
त्यस्तो चर्चामा आए जस्तो होइन । सामान्य रुपमै विवाह भएको थियो । म काम विशेषले गर्दा प्रकाशजीको विवाहमा सहभागी हुन पाइनँ । तर, पार्टी महासचिव, प्रवक्तासहित सबै नेता कार्यकर्ता सहभागी हुनुभएको थियो । प्रकाशजीको विवाह पनि सी संस्कृतिमा गरिएको हो । त्यसैलाई हामी विकास गर्न खोजिरहेका छौं ।
अल्पकालीन हिसाबले सुधार गर्दै जाने कुरा पनि छँदैछ । दीर्घकालीन हिसाबले पनि अहिलेको संसदीय व्यवस्था जसरी जनताको शत्रु भइरहेको छ, यसलाई फालेर समाजवादी व्यवस्था बनाउनतिर लाग्नुपर्छ । लाखौं संख्यामा विभिन्न नाममा भइरहेको विदेश पलायनलाई रोकेर संगठनले ‘नेपालमै बसौं, काम गरौं’ (कम ब्याक होम) भन्ने अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।
कपिलवस्तुमा सी संस्कृतिबाटै सामान्य रुपमा विवाह भएको हो । पछि चितवनमा दुलहीको माइती पक्षबाट आफन्तजनलाई बोलाएर पार्टी प्यालेसमा गरिएको रहेछ । त्यो पनि धेरै अस्वाभाविक तरिकाले होइन । हामी नयाँ संस्कृतिको विकास गर्दैछौं । यसलाई धेरै अस्वाभाविक रुपमा लिनुपर्छ जस्तो मलाई लाग्दैन ।
– तपाईंको विद्यार्थी संगठन अब अरु संगठनभन्दा अब्बल कसरी सावित हुन्छ ?
अहिले देशले अबलम्बन गरेको प्रणाली संकटमा छ । यो कुरालाई युवा विद्यार्थीले चिर्न सकिन्छ । यसलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ । एक पटक युवा विद्यार्थी जुट्ने बेला आएको छ । राज्य व्यवस्था परिवर्तन गर्न युवा विद्यार्थीको मुख्य भूमिका रहन्छ । यो दलाल पूँजीवादी व्यवस्थाविरुद्ध एक पटक लड्नुपर्ने बेला आएको छ । आलोचना गरौं, संघर्ष गरौं र रचना पनि गरौं । सुधारमा कुरा गर्दा शिक्षा क्षेत्रमा सुधार पनि गर्ने र दीर्घकालीन रुपमा समाजवादी शिक्षा कसरी अगाडि बढाउने भन्नेतिर लाग्छौं ।
विश्वविद्यालयलाई प्राज्ञिक थलो कसरी बनाउने भन्नेतिर लाग्दैछौं । सामुदायिक विद्यालयको शिक्षालाई कसरी गुणस्तरीय र प्रभावकारी बनाउने तथा सार्वजनिक विद्यालयलाई नै कसरी नमुना विद्यालय बनाउने भन्नेतिर लाग्छौं । अल्पकालीन हिसाबले सुधार गर्दै जाने कुरा पनि छँदैछ । दीर्घकालीन हिसाबले पनि अहिलेको संसदीय व्यवस्था जसरी जनताको शत्रु भइरहेको छ, यसलाई फालेर समाजवादी व्यवस्था बनाउनतिर लाग्नुपर्छ । लाखौं संख्यामा विभिन्न नाममा भइरहेको विदेश पलायनलाई रोकेर संगठनले विद्यार्थी केन्द्रित ‘नेपालमै बसौं, काम गरौं’ (कम ब्याक होम) भन्ने अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौं । त्यसैले आन्दोलन, सुधार र अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाएर अघि बढ्छौं ।