घरेलु मैदानमै चुकिरहेको नेपाल: सन्दीप नहुँदा मनोवैज्ञानिक दबाबमा छ टीम ?
काठमाडौं । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँग बुधबार भएको खेलमा नेपाल झिनो अन्तरले पराजित भयो, जुन घरेलु मैदानमा नेपालको लगातार चौंथो हार हो । त्यही त्रिवि मैदान, जहाँ नेपालले बलिया प्रतिद्वन्द्वीहरुलाई सहजै घुँडा टेकाउँदै आएको थियो, पछिल्ला खेलहरुमा अनायास कमजोर देखिएको छ ।
आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिजमा घरेलु दर्शकले ‘क्लीन स्वीप’ को आशा राखेका थिए । टीमको लक्ष्य पनि यही नै थियो । तर, १ जीत र ३ हारको नतिजा स्वीकार्नुपर्यो । त्रिवि मैदानमा हार्न बिर्सेको नेपालका लागि परिणाम निराशाजनक हो ।
लिग- २ को पछिल्ला दुई खेलमा हार व्यहोरेको नेपालले टी-२० सिरिजको सुरुको दुई खेलमा पनि हार टार्न सकेन । मंगलबार र बुधबार भएको दुइटै टी-२० खेलमा नेपाल पराजित भएपछि टीमको आलोचना सुरु भएको छ । खेलाडीहरुमाथि फ्यानले अनेक प्रश्न तेर्स्याउन थालेका छन् । साथै धेरैले सन्दीप लामिछानेको नाम पनि लिइरहेका छन् । सन्दीप टीममा थिए भने नतिजा यस्तो आउँदैनथ्यो भन्ने उनका समर्थकहरुको विश्वास छ ।
अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर्याएपछि सन्दीप क्रिकेट टीमबाट बाहिर भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बनमा राखेको छ । उनी फेरि कहिले क्रिकेटमा फर्किन्छन् भन्ने टुंगो छैन । सन्दीपले यदि उच्च अदालतबाट सफाइ पाएमा क्रिकेटमा फर्किन सक्नेछन् । अन्यथा उनको करिअर अनिश्चित छ ।
सन्दीपको अभावमा नेपाली टीम अवश्य पनि मनोवैज्ञानिक दबाबमा देखिन्छ । सन्दीप हुँदा विपक्षी टीमले केही न केही त्रास महसुस गर्थे । उनको लागि फरक रणनीति बनाउन बाध्य हुन्थे । तर, सन्दीप नहुँदा विपक्षी टीमका ब्याट्सम्यानले नेपालविरुद्ध खुलेर ब्याटिङ गर्न थालेका छन् । यसले नेपालको बलिङ दबाबमा परेको छ ।
सन्दीप नेपाल राष्ट्रिय टीमका एक भरपर्दा बलर थिए । आईपीएलदेखि विश्वका सबैजसो टी-२० लिगको अनुभव बटुलिइसकेका स्टार हुन् उनी । लामो समयदेखि नेपालको राष्ट्रिय टीमका एक खम्बा थिए । टीमलाई चाहिएको बेला महत्वपूर्ण विकेट लिन सक्ने उनको क्षमता थियो । त्यसैले अप्ठेरो स्थितिमा कप्तानले सन्दीपलाई बल थमाउँथे ।
सन्दीपले आफ्नो ब्याटिङ क्षमतामा पनि निकै सुधार गरेका थिए । क्रिजमा टिक्नेमात्र नभएर ठूला सट हान्न पनि पोख्त हुँदै थिए । यसले नेपालको ब्याटिङ गहिराइ पुछारसम्म पुगेको थियो । पछिल्ला थुप्रै म्याचमा उनले ब्याटबाट पनि योगदान दिएका थिए ।
त्यसो त नेपालसँग अहिले पनि स्पिनरहरुको कमी छैन । सन्दीपको अनुपस्थितिमा अहिले प्रमुख स्पिनरका रुपमा ललितनारायण राजवंशी छन् । उनी आफैंमा प्रतिभावान स्पिनर हुन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेलदेखि कप्तान रोहित पौडेल आफैं पनि राम्रो स्पिन फ्याक्न सक्छन् । ब्याकअपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सूर्य तामाङ पनि छन् । तर, फेरि पनि नेपालको बलिङ आक्रमण धुजाधुजा भइरहेको छ ।
पछिल्ला केही खेलमा ललित राजवंशी चल्न नसक्नु नेपालका लागि मुख्य टाउको दुःखाइ बनेको छ । सन्दीप र ललित एक साथ टीममा हुँदा एक-अर्काका परिपूरक जस्ता थिए । ललितले रन रोक्थे, सन्दीपले विकेट लिन्थे । सन्दीप नहुँदा ललितमाथि मनोवैज्ञानिक दबाब परेको महसुस गर्न सकिन्छ । उनले आफ्नो बलिङको लय समात्न सकिरहेका छैनन् । फलतः नेपालको स्पिन आक्रमण अलराउन्ड र पार्टटाइम स्पिनरले धान्नु परेको छ ।
युवा स्पिनर सूर्य तामाङले सन्दीपका ठाउँ लिनसक्ने आशा गरिएको थियो । तर, केही म्याचमा अवसर पाए पनि उनले आफूलाई प्रुफ गर्न सकेनन् । फलतः उनले पछिल्ला खेलहरुमा उनले प्लेइङ ११ मा मौका पाएका छैनन् ।
नेपाले टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पूर्ण रुपमा पार्टटाइम स्पिनरको भरमा मैदान उत्रिएको थियो । उक्त खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । सो खेलले सन्दीपलाई सम्झिन क्रिकेट समर्थकलाई बाध्य बनायो । गत माघ २५ गते टीयु क्रिकेट मैदानमा भएको क्यानडाविरुद्धको खेलमा समर्थकले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै नाराबाजीसमेत गरेका थिए ।
सन्दीप हुँदा र नहुँदा नेपाली टीम फरक हुन्छ भन्ने मनोविज्ञान यसै बनेको होइन । नेपाल निकै कठिन अवस्थाबाट एक दिवसीय मान्यता जोगाउन सफल हुनु र विश्वकपको ग्लोबल छनोटमा पुग्नुमा सन्दीपको अहम् भूमिका थियो । सन्दीप पक्राउ परेपछि नेपाली टीमले २०२२ डिसेम्बरमा उनको अनुपस्थितिमा लिग- २ को एउटा सिरिज खेलेको थियो । नामिबिया र स्कटल्यान्डसँग भएको सिरिजमा नेपालले एक खेलमा पनि जीत हासिल गर्न सकेको थिएन । एक खेल रद्द हुँदा बाँकी ३ खेलमा नेपाल पराजित भयो ।
अदालतले धरौटीमा छोडेपछि सन्दीपले टीममा पुनरागमन गरे । उनको पुनरागमनसँगै नेपालको भाग्य पनि फेरियो । लिग- २ कै सन् २०२३ फेब्रुअरीमा नामिबिया र स्कटल्यान्डसँगको सिरिजमा नेपालले शत प्रतिशत नजिता आफ्नो पक्षमा पार्यो । उक्त सिरिजका ४ खेलमा सन्दीपले १३ विकेट लिएर निर्णायक प्रदर्शन गरेका थिए ।
नेपालले आईसीसी विश्वकप क्रिकेट २०२३ अन्तर्गतको लिग- २ का पछिल्ला १२ खेलमा ११ खेल जित्दै एक दिवसीय मान्यता जोगाउने करिब असम्भव सफलता प्राप्त गरेको थियो । यतिमात्र होइन, लिग- २ का सिरिजमा पुनरागमन गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्यो । यो चमत्कारिक प्रदर्शनमा सबै खेलाडीको मेहनत र लगाव परेको छ । तर, सबैभन्दा ठूलो प्रभाव सन्दीपकै थियो भन्नु अतिशयोक्ति नहोला ।
नेपाल घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । यो प्रतियोगितामा सन्दीप म्यान अफ दि सिरिज भएका थिए ।
तर, सन्दीपको अनुपस्थितिमा नेपालले लिग- २ मा खराब सुरुवात गरेको छ । घरेलु मैदानमा लगातार १५ जीतको अविश्वसनीय यात्रामा पूर्णविराम लागेको छ । सन्दीपविनाको नेपाल कमजोर छ भन्ने होइन । टीम अहिले पनि मजबुत छ । कमी छ त आत्मविश्वासको । लिग- २ प्रतियोगिताभन्दा अगाडि नेपालले क्यानडासँग ३ खेलको एक दिवसीय श्रृंखला क्लीन स्वीप गरेको थियो । यसबाट पनि पुष्टि हुन्छ कि यो टीमसँग ताकत छ ।
आशा गरौं, नेपाली टीम छिटोभन्दा छिटो आफ्नो लयमा फर्किनेछ । सकेसम्म भोलिकै खेलबाट ।