शालिनको मृत्यबारे छानबिनकाे माग गर्दै संसद भवन अगाडि नेविसंघको प्रदर्शन, विद्यार्थी नेताहरू पक्राउ – Nepal Press

शालिनको मृत्यबारे छानबिनकाे माग गर्दै संसद भवन अगाडि नेविसंघको प्रदर्शन, विद्यार्थी नेताहरू पक्राउ

काठमाडौँ । चितवनमा १३ वर्षीया शालिन पोखरेलकाे मृत्युबारे छानबिनकाे माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

संसद भवन अगाडि बानेश्वरमा उनीहरूले पाेखरेलकाे बलात्कारपछि हत्या गरिएकाे दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।

उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ ।

घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म नेवि संघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेवि संघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए । नेवि संघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ ।

चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ ।

पाेखरेल पंखामा झुण्डिएकाे अवस्थामा मृत भेटिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *