मुलुक समृद्धिको सुत्र पर्यटन हो : अध्यक्ष ढकाल (भिडिओ)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएको बताएका छन् ।
शुक्रबार चिवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए । उनले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे ।
अध्यक्ष ढकालले ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी रहेको बताए । उनले पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए ।
उनले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए ।
उनले सरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताए । उनले अर्थतन्त्र मन्दी आएको भन्दैसमाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्न आवश्यक रहेको धारणा राखे ।
उनले अर्थतन्त्रमा देखिएको वर्तमान अवस्था सर्वपक्षीय सहभागितामा समाधानको पहल पर्ने अपेक्षा निजी क्षेत्रको रहेको बताए । उनले अर्थतन्त्रका वर्तमान समस्या समाधानको लागि सर्वपक्षिय छलफलको प्रस्ताव राख्न समेत राखे । अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए ।
उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बढेको भन्दै सरकारले तत्काल रोक्न आवश्यक रहेको बताए । उनले नेपालमा नै रोजगारीको सिर्जना गरी नेपालमा व्यवसायीक वातावरण बनाएर वैदेशिक रोजगारीमा जान रोक्नसके छोटो समयमा व्यवसायी गतिविधि बढ्नसक्ने दाबी गरे ।
यस्तो छ ढकालको भनाइः
नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तीनीहरुको प्रचारप्रसार गर्न सकिरहेका छैनौं । ठूला कार्यक्रममा र प्रचारप्रसार बिना नै नेपालमा आएका पर्यटकलाई नेपाललाई माया गर्ने अतिथिको रुपमा लिएका छौं । यो वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरु बनाउनु जरुरी छ ।
पर्यटकहरुको लागि आवश्यक पर्यटक पूर्वाधार बनायौं भने पर्यटन आगमनको अहिलको अवस्थामा धेरै गुणात्मक रुपमा परिर्वतन हुने छ । तर दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन सकिरहेका छैनन् । सरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी छ । भारतबाट दुई घण्टाको दूरीमा फरक तापक्रम पाउन सक्ने वातावरण रहेको छ ।
राजनीति र अर्थतन्त्र फरक भएको कुरा सबैलाई थाहा छ । नेपालमा राजनीतिक परिवर्तन सहज रुपमा गरेका छौं । अर्थतन्त्र मन्दी आएको हिसाबमा समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्नुपर्छ । सर्वपक्षिय सहभागितामा समाधानको पहल अपेक्षा गरिरहेका छौं ।
अर्थतन्त्रका वर्तमान समस्या समाधानको लागि सर्वपक्षीय छलफलको प्रस्ताव राख्न चाहन्छु । बहसको आयोजना महासंघले गर्ने छ । अहिले निजी क्षेत्रको मनोबल कमजोर भएको अवस्था छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरु बढेकाले नेपालमा नै रोजगारीको सिर्जना गरी नेपालमा व्यवसायिक वातावरण बनाएर वैदेशीक रोजगारीमा जान रोक्न सकियो भने छोटो समयमा व्यवसायी गतिविधि बढाउन सकिन्छ । मुलुक समृद्धिको सुत्र पर्यटन नै हो भन्ने तथ्यलाई आधार मानेर सरकारले बनाउने नीति कार्यक्रम र आगामी बजेटमा समावेश हुनुपर्छ ।