ओखलढुंगा लिखु गाउँपालिकाको नर्मदेश्वरमा मेलमिलाप कर्ताको सम्पर्क कार्यालय स्थापना
काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका ३ नर्मदेश्वरमा सूचीकृत मेलमिलाप कर्ताको सम्पर्क कार्यालय स्थापना गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको कार्य सम्पादनको अवस्था बुझ्न गएका ओखलढुङ्गाका जिल्ला न्यायाधीश गिरिराज गौतमले सम्पर्क कार्यालयको उद्घाटन गरे ।
गाउँ पालिकाको न्यायिक समितिले गाउँपालिका भित्र रहेको विभिन्न वडाका विभिन्न विषयमा परेका उजुरीको बारेमा अध्ययन र दुवै पक्षलाई राखेर छलफल गराउने गर्दछ ।
छलफल पश्चात कतिपय मुद्दालाई पालिकाको न्यायिक समितिमा नै र कतिपय मुद्दालाई भने मेलमिलापको लागि वडामा सुचिकृत भएका मेलमिलाप कर्ताकोमा पठाउने गर्दछ । वडा वा पालिकामा नै मेलमिलापको माध्यमबाट नटुङ्गिने मुद्दाहरुलाई भने जिल्ला अदालतमा जान सिफारिस समेत गर्दछ ।
वडा वा पालिकामा नै मेलमिलापको माध्यमबाट नटुङ्गिने मुद्दाहरुलाई भने जिल्ला अदालतमा जान सिफारिस समेत गर्ने न्यायिक समिति संयाेजक तथा गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बताइन् ।
वडामा सूचीकृत मेलमिलाप कर्ता हुँदा र गाउँपालिकामा न्यायिक छानबिन समिति हुँदा ग्रामीण भेगका नागरिकहरुको सानो सानो विषयमा उत्पन्न भएको विवादलाई गाउँमा नै हल गर्न सजिलो भएको स्थानीय बताउँछन् ।