लनटेनिस राष्ट्रिय प्रतियोगिताको उपाधि पोखराका प्रदीप र काठमाडौंकी अभिलाषालाई
रुपन्देही । बुटवलमा सञ्चालन भएको छैटौँ राष्ट्रिय ओपन लनटेनिसमा पोखराका प्रदीप खड्का र काठमाडौंकी अभिलाषा विष्ट पुरुष र महिला एकलतर्फ च्याम्पियन बनेका छन् ।
गत वर्षका समेत च्याम्पियन रहेका खड्का र विष्ट राष्ट्रिय वरियतामा समेत नम्बर एक खेलाडी हुन् । पाँचौँ प्रतियोगिताको प्रदर्शन दोहोर्याउँदै उपाधि रक्षा गर्न सफल भएका हुन् उनीहरूले ।
डिफेन्डिङ च्याम्पियन खड्काले साबिक उपविजेता रुपन्देहीका रितिक रानालाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेका हुन् । चौथो बुटवल ओपन च्याम्पियन रितिकले प्रदीपलाई टक्कर दिए पनि उपाधि जित्न सकेनन् ।
शनिवार बिहान भएको फाइनलमा प्रदीपले रितिकलाई ६–३, ४–६ र ६–४ सेटले पराजित गरे । घरेलु दर्शकको समर्थन प्राप्त रितिकले प्रदीपका प्रहारलाई फर्काउन नसक्दा अंक जोडन सकेका थिएनन् ।
महिला एकलतर्फ काठमाडौंकी विष्टले उत्कृष्ट प्रदर्शन कायम राख्दै शुभाङगी राज्यलक्ष्मी शाहलाई सोझो सेटमा पराजित गरिन् । उनले एकतर्फी प्रदर्शन गरेर शाहलाई ६–०, ६–० सेटले पराजित गरिन ।
बिहान भएको ३५ वर्ष उमेर समूहको पुरुष एकल फाइनलमा उपाधिका लागि अनिल शाही र कमल भण्डारीबीच म्याराथन खेल सञ्चालन भएको थियो । करिब तीन घण्टा सञ्चालन भएको खेलमा अनिल शाही ७–५, ६–७, ११–९ सेटले विजयी भए ।
प्रतियोगितामा ११ विधामा एक सय खेलाडीले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाँले बताए । प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जनाएका छन् ।
उनले संघले नियमित रुपमा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा सहयोग पुराउने सबैलाई धन्यवाद दिँदै सहभागी जनाउने खेलाडीलाई यसमा निरन्तरता दिन आग्रह गरेका छन् ।