प्रधानमन्त्री प्रचण्डको हेलिकोप्टर दौडधुप- बागलुङ, रुपन्देही र दाङका दुई कार्यक्रम सकाएर फर्किए
रुपन्देही । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकै दिन बागलुङ, रुपन्देही र दाङमा दुई कार्यक्रम सकाएर काठमाडौैं फर्किएका छन् ।
प्रचण्डले शनिवार बिहान बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक तथा भवन उद्घाटन र दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन तथा त्यसपछि पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सकाएर फर्किएका हुन् ।
हेलिकप्टरमा यात्रा तय गरेका उनको व्यस्त सेडुअलमा समय नमिलेपछि रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन उद्घाटन कार्यक्रम पछि गर्ने भनेर रोकिएको छ ।
शनिवारको पछिल्लो कार्यक्रम दाङमा आयोजित पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् ।
भालुवाङमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिए ।
उनले भने ‘मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, सामाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ। यस पटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ। त्यसले देशमा नयाँ वातावरण बनाउनेछ।’
अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरालगायतका नेताहरू सहभागी थिए ।