अर्किड स्कुलले जित्यो भरतपुर मेयर्स कप क्रिकेटको उपाधि
काठमाडौं । भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किड स्कुलले जितेको छ । भरतपुर महानगरपालिकाले आयोजनामा भएको प्रतियोगिताको फाइनलमा वाल्मीकि शिक्षा सदनलाई पराजित गर्दै अर्किडले उपाधि रक्षा गरेको हो ।
चितवन रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको फाइनल खेलमा अर्किडले वाल्मीकिलाई २० रनले पराजित गर्न सफल रह्यो । अर्किडले दिएको १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको वाल्मीकि १९ ओभर १ बलमा १ सय १० रनमा समेटियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । बलिङतर्फ २ विकेट र ब्याटिङतर्फ ३६ रन बनाएका अर्किडका मन्दीप बराल प्लेयर अफ द म्याच चुनिए ।
अर्किडले एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन प्रमुख प्रायोजक रहेको प्रतियोगिताको विजेताले अर्किडले ६० हजार बराबरका क्रिकेट खेलकुद सामग्री प्राप्त गरे । उपविजेता बनेको बाल्मीकिले ३० हजार क्रिकेट खेलकुद सामग्री पाए ।
अर्किडकै सगुन सापकोटा प्लेयर अफ द सिरिज र बेष्ट ब्याटर चुनिदा प्रतियोगिताभर २१ विकेट लिएका मन्दीप बराल बेष्ट बलर चुनिए । सगुनले प्रतियोगिताभर २ सय ५७ रन र १४ विकेट लिए । विजेता, उपविजेता टोलीलाई भरतपुर महानगरपालिका मेयर रेनु दाहालले ट्रफि र प्रमाणपत्र प्रदान गरिन् ।
माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालय सहभागी थिए । चितवन जिल्ला क्रिकेट संघ प्रतियोगिताको सहआयोजकको रुपमा रहेको थियो ।
भरतपुरकी मेयर रेनु दाहालले विद्यालयमा हुने खेलकुद गतिविधिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूणर् अवसर दिने बताइन् । महानगरले क्रिकेटसँगै फुटबल प्रतियोगिता पनि गर्ने मेयर दाहालले उद्घोष गरिन् ।