किराँतको नालीबेली, के छ नेवारसँग साइनो ? – Nepal Press
अध्येता भोगिराज चाम्लिङको समाज विमर्श (२):

किराँतको नालीबेली, के छ नेवारसँग साइनो ?

काठमाडौं । भोगिराज चाम्लिङ विगत लामो समयदेखि किराँती समुदायको मुन्दुमबारे अध्ययन गरिरहेका छन् । किराँती समुदायमा प्रचलित मिथकहरुको खोज अनुसन्धान गरिरहेका छन् । साथै पुरातात्विक अध्ययन, जेनेटिक साइन्सलाई समेत आधार बनाएर नेपाली समाजमा प्रचलित मिथकहरुको सहाराले ऐतिहासिक तथ्यहरुको उजागर पनि गरिरहेका छन् ।

उनै चाम्लिङसँग किराँती समुदायको नेपाल आगमन, नेपालमा आर्य समुदायको आगमन, भारतीय उपमहाद्वीपमा भएको आर्य र द्रविड-किराँत समुदायबीच भएको सांस्कृतिक वर्चश्वको लडाइँ, आर्यहरुको जीत र द्रविड-किराँतको हारलगायत विषयलाई लिएर पुरातात्विक प्रमाण, जेनेटिक साइन्स र मिथकहरुका आधारमा खोतल्ने प्रयास गरिएको छ । प्रस्तुत छ उनै भोगिराज चाम्लिङले नेपालप्रेसकर्मी नवीनकाजी राईसँग गरेको कुराकानीको सम्पादित दोस्रो अंशः

काठमाडौंमा मंगोलहरुको आगमन

काठमाडौंमा मंगोलहरुको आगमनलाई दुईतीन तरिकाबाट हेर्न सकिन्छ । एउटा चाहिँ जेनेटिक हिसाबले । डीएनए अध्ययन गर्दा तामाङहरु १५-१६ हजार वर्ष अगाडि आएका थिए । उनीहरुको पुर्खा पनि भोट बर्मेली भाषी नै हो । नेवारहरुको डीएनए १० देखि १२ हजार वर्षसम्मको भेटियो । तेस्रो चरणमा किराँतीहरु आएको मानवशास्त्रीहरु बताउँछन् ।

काठमाडौं उपत्यकाको नेवारसँग किराँत र द्रविड समुदायको रक्त मिश्रणसमेत पाइएको छ । त्यसैले नेवारभित्र त किराँत पनि पर्ने देखिन्छ । तामाङ र नेवारहरु काठमाडौं उपत्यकाको तालको पानी सुक्नुअगावै यहाँ बसोबास गर्थे ।

तालको पानी १० हजार वर्षअघि मात्रै सुकेको हो । तलाउ हुँदा नै अहिलेको नेवार र तामाङका पुर्खाहरुले तलाउ देखेका थिए ।

त्यो तलाउ देखेकै कारणले काठमाडौं उपत्यकामा ठूलो तलाउ थियो, दह थियो भनेर नेवारी समाजमा अहिले पनि मिथक बाँकी छ । मिथक बनाएर हस्तान्तरण गर्दै ल्याउँदाखेरि दहमा नाग थियो भन्छन् । नाग भनेको द्रविड जाति हो । यो मिथक त्यता गएर जोडिन्छ । अहिले धर्मग्रन्थले अनेक नाग बनाए । तर, त्यसवेला द्रविडहरु नाग पूजा गर्ने जाति हुन् ।

अहिलेको किराँतीमा पनि द्रविडको रगत मिश्रण छ । यहाँ मंगोलहरु फरक फरक भूगोल र नाकाबाट आएका छन् । कोही पश्चिम त कोही पूर्व र उत्तरबाट आएका छन् । कोही मधेशबाट आएका पनि छन् ।

किराँत मुन्दुमले चाहिँ किराँतीहरु नदीको बाटो भएर आएको बताउँछ । मुन्दुमअनुसार किराँत समुदायको पुर्खा नियामा भन्ने ठाउँबाट बसाइ सरेर हिँड्यो । खुवालुङ आइपुग्यो । जुन खुवालुङ चाहिँ सप्तकोशी क्षेत्रमा पर्छ ।

खुवालुङ आएपछि दाजुभाइले एकएक वटा नदीको धार समातेर बाँडिने सल्लाह गरे । लिम्बूको पुर्खाले तमोर पछ्यायो । राईको पुर्खाले अरुण र दूधकोशी पछ्यायो । सुनुवार, जिरेल, सुरेल, थामीहरु सुनकोशी पछ्याएर गए भन्छ ।

याम्फुहरुको मुन्दुममा त के छ भने खुवालुङबाट उकालो लागेपछि हामी नदी पछ्याएर बस्यौं । तर, एक भाइ चाहिँ विदेश गयो, मुग्लान गयो । मुग्लान जाँदा नेपाल पुग्यो र त्यहाँ ऊ नेपाहाङ राजा भयो भन्दो रहेछ । त्यो भनेको काठमाडौं उपत्यकामा शासन गर्ने किराँतहरु अहिलेको पूर्वमा बसोबास गर्ने किराँतीको पुर्खामध्ये एउटा हो ।

किराँतीहरु लिच्छविसँग पराजित भएपछि कहाँ गए ?

काठमाडौं उपत्यकामा प्रचलित नेवारहरुको मिथकले किराँती राजा यलम्बर पूर्वबाट आएको भन्छ । धनुकाँड लिएर शिकार खेल्दै आएको र असन इन्द्रचोकमा अड्डा जमाएर बस्यो भन्ने गरिएको छ । मैले सुनेको हो, त्यो एरियामा वर्षमा एक पटक लुकाएर धनुकाँडको पूजा हुन्छ रे ! आकाश भैरवको टाउकोलाई उनीहरु यलम्बरको टाउको भन्छन् । त्यो मिथ र सांस्कृतिक परम्परालाई आधार मान्दा पूर्वबाट किराँतीहरु काठमाडौं प्रवेश गरेको हुनसक्छ ।

अहिले पूर्वका किराँती भनिएकाको पुर्खा नै काठमाडौं उपत्यकामा शासन गर्ने किराँत हो भन्ने कुराको गतिलो आधार मिथ र संस्कृतिहरुले दिएका छन् । जेनेटिकल्ली त प्रमाणित नै भएको छ ।

किराँतीहरु ३२ राजाले शासन गरेका थिए या थिएनन्, यकिन छैन । तर, भाषा वंशावलीको केही तथ्य र किराँती समुदायमा भएको मुन्दुमी मिथकले चाहिँ यहाँबाट लिच्छविद्वारा विस्थापित भएर पूर्वतिर गए भन्ने बताउँछ ।

अहिले थुप्रो वंशावली प्रकाशनमा आएका छन् । तीमध्ये सबैभन्दा आधिकारिक चाहिँ गोपालराज वंशावलीलाई मानिन्छ । अन्तिम पटक ६०० वर्षअघि लेखिएको त्यो वंशावलीमा लिच्छविबाट विस्थापित भएपछि किराँतीहरु तामाकोशी र दूधकोशीको किनारमा बस्न गए भन्छ ।

यो वंशावलीलाई प्रमाणित गर्ने अर्को आधार भनेको मुन्दुम हो । भाषा वंशावली र मुन्दुम दुवैको तर्क मिल्छ । सुनुवारहरुमा प्रचलित मिथले किराँतीहरुलाई तीन भागमा वर्गीकरण गर्छ, लास्ती, बास्ती र गास्ती ।

मुन्दुममा काठमाडौं उपत्यका नछाड्ने किराँतीलाई बास्ती किराँती भनिन्छ । जुन अहिलेको नेवार हो । ज्यापु समुदाय त किराँती नै हो । लास्ती किराँती चाहिँ काठमाडौं उपत्यका सबैभन्दा पहिला छाड्ने किराँती हो । सायद यहाँ अन्तरसंघर्ष भयो होला, अनि भागेर पूर्वतिर लागे ।

अन्तिम पटक काठमाडौं छाड्ने किराँतीलाई उनीहरुको मुन्दुमले गास्ती किराँती भन्छ । गोपालराज वंशावलीले पनि अन्तिम किराँती राजा गस्ती भनेको छ । गोपालराज वंशावलीले भनेको अन्तिम राजा गस्ती र सुनुवारहरुको मुन्दुमले भनेको गास्ती एकै हो ।

यस हिसाबले मुन्दुमले पनि किराँतीहरु पूर्वतर्फ लागे भन्दो रहेछ । चाम्लिङ राईहरुमा पनि उनीहरुको पुर्खा भुसुरी भन्ने थियो । जो काठमाडौंबाट पहिलो पटक हिँडेको हो भनेर भन्छ । भन्नाले सुनुवारले भनेको लास्ती किराँती सम्भवतः चाम्लिङभित्रको भुसुरी हुनसक्छ । चाम्लिङको एउटा खलक नै छ भुसरी । सुनुवारले भन्ने गरेको लास्ती किराँती त्यही चाम्लिङ हुनसक्छ ।

चाम्लिङ राईहरु भन्छन्, ‘हामीले बनकेरा र कालो बोरी फाँड्दै हिँड्यौं । हामीलाई अरुले पछ्याउँदै आए । अनि सबैभन्दा अगाडि हिँड्ने चाहिँ हाम्रो पुर्खा भुसुरी हो ।’

मौखिक ज्ञान परम्पराले पनि काठमाडौंबाट आयौं भन्दो रहेछ । सांस्कृतिक अभ्यासले पनि काठमाडौं उपत्यकासँग सम्बन्धित थियो भन्ने गर्छ ।

नेवार र किराँतको परापूर्वकालदेखिको साइनो

काठमाडौंका नेवार र पूर्वका किराँत समुदायको धेरै नै पुरानो सम्बन्ध देखिन्छ । एक त अर्ना सिङले किराँत र नेवार समुदायको सम्बन्धलाई अर्थ्याउँछ । अर्को बुङमती भयो । पछि संस्कृतकरण हुँदामात्रै बुङमति बनेको हो । नत्र यसको पुरानो नाम भनेको बुङाइयुमी हो ।

लिच्छविकालको अभिलेखहरुमा बुङाइयुमी नै छ । यो भनेको किराँत र नेवारहरुको भाषा हो । ‘बुङाइयुमी’को ‘युमी’, लिम्बूहरुको ‘युमा’, राईहरुको ‘नायुमा’ एकै हो भन्ने कुरामा सांस्कृतिक अध्येताहरुको मतैक्य देखिन्छ ।

राईहरुले मानिरहेको ‘बोजु’ र काठमाडौंको नेवारहरुले मान्ने ‘बजु’ एकै हो । भैंसीको सिङ पनि एकै हो । जुन सिङ काठमाडौंका मन्दिरहरुमा मात्रै बाँकी छ । राईहरुको भने घरमै छ ।

पूर्वमा राईहरु बस्ने ठाउँमा धान त्यति धेरै फल्दैन । राईहरु त पाखामै बस्ने हो । पाखामै कागुनी छर्ने हो । खाने हो । तर, पितृ गर्दा राईहरुलाई कुटेको चिउरा चाहिन्छ । त्यसका लागि राईहरुले घैया छर्छन् ।

यसले के पुष्टि गर्छ भने चिउरा संस्कृति नेवार र किराँतीहरुको एकै हो । नेवारलाई चिउरा अनिवार्य चाहिन्छ । नेवारहरु त धान फल्ने ठाउँको भएकाले चिउरा चाहिने नै भयो । धान फल्ने संस्कृतिवाला काठमाडौं उपत्यकाबासी हुन् । तर, कुनै समय किराँतहरु काठमाडौंमा बसेको भएकाले आफ्नो संस्कृतिलाई पछ्याएका हुन् । उनीहरुकहाँ धान चाहिँ फल्दैन । तर, चिउरा चाहिँ चाहिन्छ ।

किराँतीहरुको मुन्दुमले देखाएको बाटो

मुन्दुम जस्तो मौखिक ज्ञान परम्पराको सामर्थ्य नै यही हो कि यसले हजारौं वर्ष अगाडिका तथ्यहरुलाई अहिलेसम्म जीवित राख्नसक्छ । अनि लिखित ज्ञानको समस्या के हो भने एक जनाले लेखेपछि सक्कियो । तर, मौखिक ज्ञानको सामर्थ्य भने थप्दै जान सकियो ।

मौखिक ज्ञानको सामर्थ्य यही भएकाले हजारौं वर्ष अगाडिको कथा पनि मुन्दुममा जीवित हुनसक्यो । बुद्धिकुमार हाङ्सुले एक पुस्तक लेख्नुभएको छ । उहाँ भारतीय आर्मी हो । भारतीय आर्मी हुँदा एक वर्ष अनिवार्य सेवा गर्नुपर्ने रहेछ । त्यही भएर उहाँ जम्मु काश्मिर पनि पुग्नुभयो ।

त्यहाँ थुप्रै ठाउँहरुको बारेमा उहाँले थाहा पाएर आउनुभयो । त्यहाँ चीनसँग जोडिएको एरियाबारे पनि थाहा पाउनुभयो । अवकासपछि गाउँ फिर्नुभयो । गाउँ आएर पितृ गर्दा कार्यमा विजुवाहरुले त जम्मुमलाम, खैबरलाम, पैतिपलाम भनेर भन्दो रहेछ ।

यो सुनेपछि बुद्धिकुमार छक्क पर्नुभएछ । न ती बुढाहरुलाई जम्मु थाहा छ, न खैबर थाहा छ न पैतिप नै थाहा छ । तर, त्यो ठाउँ नै कहिल्यै नदेखेको, नसुनेका बुढाहरुले त्यसो भनेपछि बुद्धिकुमारले बाहिङ राईहरुको पितृकार्य, मुन्दुमलगायत सबैको अध्ययन गरेर पुस्तक नै छाप्नुभयो ।

मुन्दुममा जम्मुमालम भनेको हामी जम्मु क्षेत्रबाट आयौं भन्ने हो । पैतिपलाम भनेको पारपिक भन्ने ठाउँ रहेछ, अझै पनि चीन र भारतको सिमानामा । जहाँ हिउँ पग्लिएर एक सिजन चाहिँ बाटो खुल्दोरहेछ । खैबर भनेको त पाकिस्तान र अफगानिस्तानको बीचमा अहिले पनि हिमाली नाका छ । लाम भनेको त बाटो भइहाल्यो ।

मुन्दुमले के पुष्टि गर्‍यो भने त्यो क्षेत्र किराँती पुर्खाले विचरण गरेको क्षेत्र हो । लामो समय त्यहाँ बसेका थिए उनीहरु । अहिले पुरानो इतिहासका अध्येताहरुले के भन्छन् भने जम्मु काश्मिर क्षेत्र किर जाति वा किराँतीले बसोबास गरेको क्षेत्र हो भन्दा रहेछन् ।

त्यसवेला त्यहाँ हडप्पा, मोहनजोडादो सभ्यता थियो ।

त्यस्तै बाहिङको मुन्दुमबाट अर्का लेखक लोकबहादुर बाहिङले अर्को तथ्य लिएर आउनुभयो । बुद्धिकुमारले सिन्धु नदीभन्दा माथिका डाँडाहरुको मात्रै कुरा ल्याउनुभएको थियो । तर, लोक बाहिङले सिन्धुघाटीकै कुरा ल्याउनुभयो ।

आफ्नो समयको धेरै जान्ने पुर्खासँग कुराकानी गरेर १०-१५ वर्ष अध्ययन गर्दाखेरि उहाँले के थाहा पाउनुभयो भने पुर्खाहरु मोहनाझाडीबाट रुङ भन्ने पुर्खा हिँडे रे ! खुवालुङ आएर त्यहाँबाट ओखलढुंगा हुँदै हलेसी आएर एक हप्ता मुन्दुमको प्रवचन दिए रे ! र हलेसीबाट चाम्लिङ बोजु विवाह गरेर रुम्जाटार गएर बसे । अनि रुङ भन्ने पुर्खा बसेकाले रुम्जाटार नाम भयो भन्ने मुन्दुममा रहेछ ।

मोहनाझाडी भन्ने ती बुढाहरुले के थाहा र ! लोक बाहिङलाई पनि थाहा छैन, मोहनाझाडीमा भन्ने कहाँ पर्छ भनेर । तर, गहिरिएर अध्ययन गर्ने हो भने के पुष्टि हुन्छ भने मोहनाझाडीमा भन्नु मोहनजोडादो हो । उनीहरु खस भाषाको सम्पर्कमा आएपछि ‘जोडादो’लाई ‘झाडी’ बनाइदिए । झाडीको त अर्थ आउने भयो नि ! जोडादोको त अर्थ आउँदैन । त्यसैले सजिलोका लागि उनीहरुले मोहनाझाडी बनाइदिए ।

चाम्लिङको मुन्दुममा पनि पुलिकमाला बनाउने, नाग पूजा गर्ने नाग जातिसँग हाम्रो सम्बन्ध थियो भन्छ । अनि बच्चा जन्मेपछि लुलो, लंगडो हुन्छ भनेर पानीको पूजा गर्नुपर्छ । पानीको पूजाको कथा चाहिँ सिन्धु घाटी सभ्यतासँग मिल्दोजुल्दो छ ।

चाम्लिङ मुन्दुममा भनिन्छ, ‘हाम्रो पुर्खा होंछा र नाग कन्या सिकुरिमाबीच भेटघाट भयो । प्रेम भयो । प्रेम भएपछि सिकुरिमाले मेरो घर जाऔं भनेर होंछालाई भनी । तर, होंछाले भने, ‘तिम्रो घर त पानीमुनि छ । मलाई पौडी खेल्न आउँदैन, कसरी जाने ।’ सिकुरिमाले भनी, ‘म अगाडि अगाडि झ्याम्टा बजाउँदै जान्छु । बाटो खुल्छ । मेरो पछाडि पछाडि तिमी आउनु । अनि दरबार पुगिन्छ ।’

अनि सिकुरिमा अगाडि अगाडि झ्याम्टा बजाउँदै गइन् । होंछाले पछ्याउँदै गयो । नाग राजाको दरबारमा पुग्यो । त्यहाँ आमाछोरीको कुरा मिल्यो । ज्वाइँ बनाउने भई आमाले । तर, नागराजालाई चित्त बुझेन । उसले भन्यो, ‘होइन, यहाँ त मान्छेको गन्ध आइरहेको छ । को मान्छे छ यहाँ नजिक ?’

सिकुरिमा र उसकी आमाले मान्छे होइन भनेर ढाँटे । तर, सधैं त ढाँट्न नसकिने भयो ।

अनि नागरानीले हाम्री छोरी सिकुरिमाले मान्छेलाई मन पराएछ भनी । यिनीहरु सँगै आएछन्, अब बिहे गरिदिनुपर्छ भनी । त्यसपछि नागराजाले भने, ‘त्यसो भए त्योसँग पुलिकमाला छ कि छैन ? मलाई पुलिकमाला चाहिन्छ ।’

अब किराँतीसँग पुलिकमाला थिएन । पुलिकमाला त नागराजासँगै थियो । अनि आमा र छोरी मिलेर नागराजाको पुलिक चोरेर उनैलाई दिए । पुलिकमाला प्राप्त गरेपछि नागराजाले भने, ‘ल, मैले तिमीलाई छोरी दिएँ । आजबाट मेरो ज्वाइँ भयौ ।’

त्यसैले नागलाई राईहरुले माउली मान्ने भएकाले बच्चाका लागि पानी पूजा गर्नुपर्छ भन्ने विश्वास छ । तर, आश्चर्य त के भने पुरातात्विक अध्ययनबाट हेर्दा पुलिकमालाको ठूलो कारखाना सिन्धु घाटीमा रहेछ । अनि नाग पूजा गर्ने जाति पनि सिन्धु घाटीमै थियो । उनीहरु द्रविड थिए भन्ने पत्ता लागेको छ ।

सिन्धु घाटी उत्खनन्को क्रममा पनि माटोका भाँडाहरुमा नागहरुको चित्र छापिएको प्रशस्तै भेटिएका छन् । यसले द्रविडहरु नाग पूजक थिए र तिनीहरु पुलिकमाला प्रयोग गर्थे भन्ने प्रमाणित भयो । पुरातत्वविद्ले पत्ता लगाएको कुरा र चाम्लिङ राईहरुले पानी पूजा गर्दा भन्ने मुन्दुम ठ्याक्कै ट्याली खायो ।

चाम्लिङ र बाहिङको मुन्दुमी संस्कारबाट हेर्दा किराँती पुर्खा सिन्धु घाटी सभ्यता र त्योभन्दा मास्तिर पहाडमा विकास भएको सभ्यतासँग परिचित थिए भन्ने पुष्टि हुन्छ ।

थरीथरीका राई किन छन् ?

राईहरु थरीथरी छन् र हरेक राईहरुको आआफ्नो छुट्टै भाषासमेत छ ।

हामी गंगाको मैदान जस्तो वा तराईको फाँटमा फैलिएका थियौं भने भाषा त्यति धेरै हुँदैन थियो । जस्तोः थारुहरु नेपाल वारपार फैलिँदासमेत दुईतीन थरी मात्रै भाषा छ । तर, राईहरुको भने जति राई, उति भाषा छ ।

राईहरुले खोला पछ्याएर बस्ती बसाए । खोला पछ्याएर वस्ती बसाउनुको जटिलता के हो भने बाढी आउने भयो । खोला तर्न नसकिने भयो । हत्तपत्त वारपार गर्न नसकिने भयो । खोला वा प्राकृतिक विपत्तिको कारणले लामो समयसम्म वारिपारिको राईहरुबीच अन्तरसम्बन्ध भएन ।

दूधकोशी पारि बस्ने वाम्बुले र वारि बस्ने चाम्लिङहरु एकै दाजुभाइ थिए । तर, पारि बसेपछि उसले भूगोलअनुसारको रहनसहन, खानपान र संस्कारको विकास गर्‍यो । त्यसलाई बुझाउन थप भाषाको विकास गर्‍यो । यता दूधकोशी वारि बस्नेले जीवन गुजारा गर्ने क्रममा थुप्रो कुराको विकास गर्‍यो । नयाँ कुरा भन्न नयाँ भाषाको विकास गर्‍यो ।

त्यो कारणले गर्दा खोला वारि र पारिका राईहरुको बीचमा भाषा मिल्दैन । राईहरुको भाषाको मोडेल हेर्दा कि खोला पार गरेपछि कि त डाँडा पार गरेपछि उनीहरुको भाषा मिल्दैन । चाम्लिङ र वाम्बुले राईबीचमा खोला छ । माथि चाम्लिङ र दुमीको उदाहरण लिँदा खोटाङमा रुपाकोट डाँडाको छ । त्यही डाँडाका कारण उता बस्ने उतै अलमलिए । यता बस्ने यतै अलमलिए ।

त्यो डाँडाको कारण चाम्लिङ र दुमी राईहरुको भाषा मिल्दैन । यसरी अग्लो डाँडा, भौगोलिक विकटता र खोलाको कारणले गर्दा समय समयसम्म सम्बन्ध नहुनुको कारण राईहरुको भाषामा विविधता आयो ।

तर, आधारभूत कुरा भने एकै छ । पुराना शब्दहरु घाम, बाटो, पानीलाई भन्ने शब्द एकै हो । अन्नहरुलाई भन्ने शब्द लगभग एकै हो । बाँकी नयाँ विकास गरेका शब्दहरु भने मिल्दैन । त्यसैले राईहरुको भाषिक विविधताको कारण भौगोलिक विकटता र भिन्नताको कारणले हो । नत्र सबैले तयामा, खियामा, खोचिलिप्पाको कथा एकै तरिकाले भन्छन् । आकाशको पारुहाङ र धर्तीको सुम्निमाबीच विवाह भयो भन्ने कथाको शब्दमा अलिअलि फरक परे पनि कथाको सार एकै हो । त्यसैले राईहरु जतिखेर एक ठाउँ थिए, त्यसवेलासम्मको कथा एकै छ । अलग अलग भएर बस्न थालेपछि मात्रै फरक भयो ।

उत्तरपूर्वी भारत, नेपाल र चीनका मिथकहरुको समानता

उत्तरपूर्वी भारत, चीन र नेपालका मिथकहरु मिल्छन् । यसले के पुष्टि गर्छ भने मान्छेहरु एकदमै बसाइ सरिरहने जाति हुन् । अफ्रिकाको बाहेक सबै बसाइ सर्ने जाति नै हुन् । यहाँ आदिवासीलगायत के के भनिन्छ, तर ऊ यही उत्पत्ति भएको होइन । यो ठाउँमा सबैभन्दा पहिला आएकोमात्रै हो । तर, सबै बसाइ सरेर नै आएका हुन् ।

बसाइ सर्दा मान्छेले आफ्नो भाषा, कथा, संस्कृति पनि लिएर जाँदो रहेछ । त्यही भएर कतिपय कथाहरुमा धेरै समानता भेटिन्छन् ।

राईहरुको मुन्दुममा पिता पारुहाङ आकाशमा बस्थ्यो, आमा सुम्निमा धर्तीमा बस्थी भनिन्छ । यो भनेको चाहिँ आकाश र धर्तीको विवाह भएर मान्छे जन्मियो भन्ने कथा हामीसँग छ । त्यो कथा चीनमा पनि छ, उस्तै तरिकाले कथा भनिँदो रहेछ । पात्रको नाम फरक छ, कथामा थोरै तलमाथि छ । तर, मूलभूत कुरा एकै छ ।

ह्वाङ हो एरियामा बस्ने जातिको कथा, नेपालको भोट बर्मेली भाषीको कथा र भारतको पल्लो छेउ उत्तरपूर्वी भारतमा बस्नेहरुको कथा एकै छ । उनीहरुको कथामा आकाश र धर्तीबीच विहेबारी भएर मान्छेको जन्म भयो भन्ने छ ।

अर्को आश्चर्यलाग्दो कुरा त के छ भने मुन्दुमअनुसार सुम्निमा र पारुहाङले बाघ र मान्छे जन्माए । उनीहरु दाजुभाइ थिए । पारुहाङ र सुम्निमाले जन्माएको बाघ र मान्छेको कथा चीन, नेपाल र उत्तरपूर्वी भारतको नागालयका जातजातिसँग मिल्छ ।

त्यहाँ पनि आकाश र धर्तीको संसर्गबाट बाघ र मान्छे जन्मियो भन्ने छ । अनि बाघ र मान्छे शिकार खेल्न जान्थ्यो । शिकार खेल्न जाँदा बाघले भाइ मान्छेको खाजा लुटेर खाइदिन्थ्यो । बाघ अल्छी थियो, शिकार गर्दैन थियो ।

मान्छेले शिकार गरेर फर्कंका खाजा नभेटेपछि कसले खाइदिएछ भनेर रुखबाट लुकेर हेर्दा दाइ बाघले खाइरहेको देख्यो । दाइले खाएको थाहा पाएपछि दोस्रो दिन त्यही ठाउँमा खाजा राखेर रुखमाथि लुकेर बस्यो । दाइले सधैंजसो खाजा खाइदिए । खाजा खाएपछि भाइले बाघलाई धनुकाँड ताक्यो । दाइ बाघले त्यो देखे र भाइतिर झम्टियो । त्यही वेला धनुकाँड बाघलाई लाग्यो र मर्‍यो ।

यो कथा चीनमा पनि प्रचलित रहेछ । किराँतीमा पनि प्रचलित छ र भारतको उत्तरपूर्वी क्षेत्रका आदिवासीमा पनि प्रचलित छ । अनौठो त के भने सिन्धु घाटीमा ठ्याक्कै यही कथासँग मिल्ने खालको चित्रसमेत भेटिएको छ । जुन चित्रमा मान्छे छ रुखमाथि, तल बाघले कुरिरहेको छ । जुन राईहरुले मुन्दुममा भनिरहेका छन् ।

अर्को कथा पनि छ- घामको कथा । घामलाई धनुकाँडले हानेको कथा छ । चीनमा १२ वटा घामको कुरा गरिँदो रहेछ । हाम्रोमा ८ वटामात्रै घामको कुराकानी गरिन्छ । चीनमा प्रचलित कथाअनुसार १२ वटा घाम र १२ वटा जून एकै पटक उदाएपछि पृथ्वीमा बसिसक्नु भएन । तातोले बसिनसक्नु भएपछि मान्छेहरुले घामलाई मार्ने सल्लाह गरे । ११ वटा घाम र जूनलाई मारिदिए ।

बाँकी रहेको एकएक वटा घाम र जून हामीलाई पनि मार्छन् भनेर लुके । लामो समय लुकेपछि पृथ्वीमा जाडो भयो । फेरि घाम र जून त चाहियो । अनि उनीहरुलाई फकाएर ल्याइयो । अनि घाम र जून उदाए भन्ने कथा छ । ठ्याक्कै किराँतहरुको पनि त्यसै भन्छन् । तर, यहाँ ८ वटामात्रै घाम-जूनको कुरा गरिएको छ । गुरुङहरुमा पनि यो कथा प्रचलित छ ।

यसरी घाम-जूनको कथा, आकाश र धर्तीबाट मान्छे जन्मिएको कथा चीन, नेपाल र भारतका आदिवासीको एकै छ । यसलाई दुईतीन तरिकाले अध्ययन गर्न सकिन्छ । एउटा चाहिँ छिमेकी जातजातिबीच कथा साटफेर भयो भन्ने हो । तर, यो कथा चीनमा पनि छ । त्यसैले चीनको मान्छे र यहाँका किराँतीसँग कुनै भेटघाट नै छैन ।

तर, यसको अर्थ के हो भने कुनै समय हाम्रो पुर्खा एकै थियो, आदिम थातथलो एकै थियो । त्यहाँबाट फैलिएर फरक फरक ठाउँमा गए भन्ने मिथकहरुबाट प्रमाणित हुन्छ । जुन कुरा हाम्रो जेनेटिक साइन्सले पनि प्रमाणित गरिसकेको छ । ह्वाङ हो नदीबाट हाम्रो पुर्खा फैलिएको कुरा प्रमाणित भइसकेको छ । अनि जेनेटिक साइन्सलाई हाम्रा मिथकले पनि प्रमाणित गर्दोरहेछ ।

थातथलो छाडेर कहिले छुट्टिए त ?

उनीहरु छुट्टिएको कुरालाई पनि सहज तरिकाले आँकलन गर्न सकियो । भाषाशास्त्र र जेनेटिक साइन्सको कुरा लगभग मेल खान्छ ।

अहिलेका नेपालका जातिहरुले ५ देखि ६ हजार वर्ष पहिला चिनियाँ भाषा नै बोल्थे । उनीहरु चीनमा बस्थे । ५-५ हजार वर्षअघि मात्रै उनीहरु छुट्टिए । नागाहरुको हकमा पनि त्यही भन्दो रहेछ । नागाहरु आजभन्दा ५-६ हजार वर्ष पहिला भारतमा आइपुगेका हुन् ।

त्यसैले माथिका तीन वटा कथा ५-६ हजार वर्ष पुरानो हो । त्यसैले कथाको माध्यमबाट जातजातिको प्राग इतिहास बताउन सक्ने रहेछौं । तर, यो कथामार्फत् तथ्यमा विश्वास गर्ने आधार कति छ त ?

मौखिक इतिहास थपिँदै जाने कुरा भयो । संशोधन हुँदै जाने कुरा भयो । तर, मौखिक कथामा मूलभूत कुरालाई संशोधन गरिँदैन । पितृपुर्खा रिसाउँछ भन्ने विश्वास भएकाले गर्दा मूल कथा बिगार्ने काम हुँदैन । थप्ने काम चाहिँ हुन्छ । किनभने आफ्नो समयको कथा त आफूले थप्नुपर्‍यो नि ! तर, त्यसरी थप्दै गर्दा कथालाई तोडमोड गर्ने काम चाहिँ हुँदैन । त्यो मूल कथा सुनाएर ‘ल है, तिमीले भनेको कुरा हामीले भनिरहेका छाैं है, हामीलाई आशीर्वाद दिनुपर्छ’ भनेर भन्नुपर्ने हुन्छ । यदि कथालाई तोडमोड गरियो भने पुर्खाले बुझ्दैन भन्ने विश्वास छ । त्यसैले जेजसो गरे पनि मूल कथा भने भन्नैपर्छ ।

नेपालको पश्चिमका खसहरु र किराँती मिथकहरुको संयोग

पश्चिम नेपालको खस आर्य र किराँती मिथकहरुमा समानता देखिन्छ । यो पनि आफैंमा रोचक कुरा हो । खसहरु पश्चिम नेपालमा छन् त किराँतीहरु पूर्वी नेपालमा । त्यो दुई समुदायको भेटघाट हुने सम्भावना एकदमै न्यून देखिन्छ । तर, कथा चाहिँ एकै किसिमको भनिरहेका रहेछन् ।

खसहरुले पनि मानिसको उत्पत्ति सुली र खरानीबाट भएको हो भन्छ । खसका धामीहरुले कैरनमा त्यो भन्दा रहेछन् । मान्छे बनाउँदा महादेवले कुखुराको सुली र खरानी मिसाएर बनाएको हो भन्दा रहेछन् । ठ्याक्कै उस्तै कथा किराँतीहरुले पनि भन्छन् ।

यता दोलखा, रामेछापका थामीहरुदेखि लिएर पर पूर्वमा लिम्बूसम्मले भन्ने कथा यही हो । यो त एउटा कथामात्रै हो । वैज्ञानिक हिसाबले खरानी र सुलीबाट मान्छे बन्नु सम्भव छैन । तर, यो कथाको वैज्ञानिक अध्ययन कसरी गर्न सक्छौं भने यी दुई समुदायबीच कुनै समय सम्पर्क र सम्बन्ध थियो । अथवा मान्छेहरुले समान ठाउँबाट त्यो कथालाई लिएर आए भन्न सकियो । तर, खस किराँतीबीचमा भेटघाट थिएन । उनीहरु एकै जाति पनि होइनन् ।

यो कथाको कनेक्सन चीनसँग बढी हो कि भन्ने बुझिन्छ । चीनमा पनि माटो र खरानी जोडेर मान्छे बनाएको मिथक छ । त्यहाँ नोवा भन्ने एउटा पुरानो आदिम पात्र छ । जो लिम्बूको युमा, राईको नायुमा नजिक नजिक छ । यी समुदायको पहिलो महिला पनि हुन् फेरि यी । चीनमा खरानी र पहेंलो माटो मुछेर मान्छे बनाइयो भन्ने मिथक छ ।

मलाई के लाग्छ भने यो कथा बोन धर्मावलम्बीहरुसँग थियो । खसहरु चाहिँ तिब्बतको बोन धर्मावलम्बीसँग एकदमै नजिक थिए । तिब्बतको बोन धर्म धामी झाँक्री मान्ने धर्म हो । बोन धर्म र बुद्ध धर्मको मिश्रणबाट नयाँ खालको मुद्ध धर्म बनेको हो तिब्बतमा । त्यही धर्मावलम्बीसँग खसहरुको घनिष्ट सम्बन्ध थियो ।

त्यही तिब्बतसँगको सम्पर्कको कारणले गर्दा खस राजाहरु बौद्ध धर्मावलम्बी बनेका प्रमाण प्रशस्तै छन् । किराँतीहरु पनि त्यही एरियाबाट सम्बन्धित भएका कारण यो कथा तिब्बत या चीनको बोन धर्मावलम्बीबाट टिपिएको हो । किराँतीहरुमा यो कथा वंशको हिसाबले आयो । खसहरुमा धर्मको हिसाबले आयो । त्यसैले यो कथा समान हुनुको कारण यही हो भन्ने मेरो तर्क हो ।

किराँतीहरुको हिन्दूकरण

किराँतीहरु हिन्दूकरण भएको ४०० वर्ष जति भयो । ४०० वर्ष अगाडि पश्चिम नेपालबाट आएका सेन राजाहरुले किराँत क्षेत्रमाथि विजय हासिल गर्‍यो । किराँत क्षेत्रमा विजय हासिल गरेपछि उनीहरु तल भावरमा न्यानो ठाउँमा बसे । माथि पहाडतिर आफ्ना प्रशासकहरु खटाए । प्रशासकहरु बाहुन, क्षत्री थिए ।

प्रशासकहरु मैथिली मिश्रित खस भाषा प्रयोग गर्थे । धर्म चाहिँ हिन्दू मान्थे । प्रशासकहरुको प्रभाव स्वाभाविक रुपमा हुने नै भयो । उनीहरुले सरकारी कागजात खस भाषामा लेख्ने भए । ओमबाट लेख्न सुरु गर्ने भए ।

त्यसैले किराँतीहरु ४०० वर्ष अघिदेखि हिन्दू धर्मसँग परिचित भए । सेनहरु प्रवेश गर्नुअघि पूर्व विशुद्ध किराँती समुदायमात्रै भएको क्षेत्र हो । तर, खस आर्यहरु प्रवेश गरेपछि उनीहरुले हिन्दू धर्म ग्रहण गर्न सुरु गरे ।

हिन्दू धर्मको प्रभाव बलियोसँग भएको चाहिँ पृथ्वीनारायण शाहले केन्द्रीय राज्य निर्माण गरिसकेपछि हो । पृथ्वीनारायण शाह सेनहरुभन्दा बलिया थिए । त्यसैले छोटो समयमै हिन्दू धर्म फैलियो ।

अनौठो कुरा त के छ भने मुन्दुममा चाहिँ हिन्दू धर्मको प्रभाव नै परेन । बिहे गर्दा राईहरुले सिन्दूर लगाउन थाले, पञ्चेबाजा बजाउन थाले, नूनतेल बार्न थाले । यो सबै हिन्दू धर्मको प्रभाव थियो । तर, मुन्दुममा यसको केही प्रभाव छैन ।

मुन्दुममा हिन्दू धर्म नजोडिनुको कारण हो मौखिक ज्ञान । राईहरु लिखित ज्ञान परम्पराबाट आएका थिए भने मुन्दुममा हिन्दू मिसिइसकेको हुन्थ्यो । तर, मुन्दुम भन्ने मान्छे समाजको एकदमै आधिकारिक मान्छे हुन्छ ।

मुन्दुम समाजको विजुवाले भन्छ । त्यो विजुवाले पनि कतिखेरमात्रै भन्नसक्छ भने उसले सपनामा मुन्दुमको ज्ञान पाउनुपर्छ भन्ने विश्वास छ । सपनामा मुन्दुमको मन्त्रहरु देख्यो भने मात्रै मुन्दुम भन्न सक्ने भयो ।

किराँतीहरुमा धामीको पुस्तावली हेर्दा के देखिन्छ भने जुन पुस्तामा धामी छ, त्यो पुस्ताको वंशमा मात्रै धामी भएका छन् । यहाँ धामी निस्कने परम्परा वंशाणुगत देखिन्छ । यो भनेको ज्ञान पनि जेनेटिकल्ली पुस्तान्तरण हुन्छ भन्ने हो ।

विज्ञानले भन्छ, हाम्रो शरीरमा दुइटा वंशाणु हुन्छ । एउटा डीएनए र अर्को आरएनए । डीएनएले चाहिँ बावुआमाको स्वभाव, अनुहार, मासु लिएर आउने भयो । अर्को चाहिँ हामीले बावुआमाको मेमोरी पनि लिएर आउँदा रहेछौं । मेमोरी बोक्ने वंशाणुलाई आरएनए भनिँदो रहेछ ।

त्यसैले वंशाणुगतमात्रै मुन्दुमको विजुवा निर्माण हुनुमा विज्ञानले भनेको आरएनएले काम गरेको हो । त्यो ज्ञान र स्मरणशक्ति जेनेटिकल्ली आउने भएकाले मात्रै उसले मुन्दुम वाचन गर्नसक्ने भयो । बाहिरको मान्छेले मुन्दुम वाचन गर्नै सक्दैन । बिजुवाको पनि सपनामा जति आयो, त्यति मुन्दुममात्रै भन्न सक्ने खुबी हुन्छ । त्यसकारण मुन्दुममा बाहिरको प्रभाव कम हुने रहेछ ।

याे पनि पढ्नुस्: अध्येता भोगिराज चाम्लिङको समाज विमर्श (१) : संसारका सबै मान्छेको डीएनएमा सुँगुर छ


प्रतिक्रिया

One thought on “किराँतको नालीबेली, के छ नेवारसँग साइनो ?

  1. लाम भनेको बाटो । भक्तपुरको नेपालभाषामा बाटोलाई लां भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर