क्वार्टरको भान्सामा झुन्डिएको अवस्थामा मृत भेटिए सशस्त्रका डीएसपी
काठमाडौं । मोरङमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा भेटिएका छन् । पाल्पा स्थायी घर भएका ३८ वर्षीय उपेन्द्र बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेको एपीएफ कोशी प्रदेश प्रमुख अन्जनीकुमार पोखरेलले जानकारी दिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।
‘खाजा पुर्याउन जानेले ढोकाभित्रबाट लक भएको देखेपछि झ्यालबाट हेर्दा झुन्डिएको थाहा भयो । ढोका फोरिएको छैन । परिवारका सदस्य आएपछि आवश्यक प्रकृया सुरू गरिने छ’, डीआईजी पोखरेलले भने ।
उनको त्यहाँको कार्यकाल सकिन केही दिनमात्र बाँकी भएको बुझिएको छ । हाल बीओपी कार्यालय प्रमुखको कार्यकाल ६ महिनाको हुन्छ । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले परिवारका सदस्य आएपछिमात्र ढोका खोल्ने जानकारी दिए । गत असोज ११ गते बीओपी प्रमुखको जिम्मेवारी सम्हाल्न उनी त्यहाँ पुगेका थिए ।