जम्बो टोली लिएर अमेरिका जान लागेका महिला मन्त्री आचार्य अचानक पद खुस्किदा स्तब्ध
निवर्तमान मन्त्री आचार्य भन्छन्– के भयो भयो, अचम्मै भयो
काठमाडौं । चार दिनपछि मात्रै महिला सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन अमेरिका जाने तयारीमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य बहिर्गमनमा परेका छन् ।
मन्त्रालयका सचिव सुमनराज अर्यालसहित २२ जनाको जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गरेर जान लागेका उनी गठबन्धन फेरिएसँगै पदमुक्त भएपछि गोष्ठीमा सहभागी हुन नपाउने भएका हुन् । आफू पदमुक्त भएसँगै नजाने र अब मन्त्रालयका सचिव वा अरू कोही कर्मचारीको नेतृत्वमा उक्त टोली जाने आचार्यले नेपाल प्रेससँग बताए ।
उनले भने, ‘अबको तीन चार दिनमा मेरै नेतृत्वमा प्रतिनिधि मण्डल जाने कुरा थियो । अब त जाने कुरै भएन । आज भोलि नै कुनै नयाँ मन्त्री नियुक्त हुनुभयो भने जानुहोला । नभए कुनै कर्मचारीको नेतृत्वमा जान्छ होला ।’
आचार्य मङ्गलवार मन्त्री क्वार्टर छोड्ने तयारीमा छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले) सहितको गठबन्धन बनाएका छन् । नयाँ सरकारमा तीन जना मन्त्रीले शपथ पनि लिइसकेका छन् । सोमबार साँझ नै एमालेसँग गठबन्धन प्रधानमन्त्री अघि बढ्ने निर्णयमा पुगेपछि महिला मन्त्री आचार्य सोमबार पनि मन्त्रालयमा हाजिर भएका थिएनन् ।
गठबन्धन फेरिनेबारे तपाईँलाई कुनै जानकारी थियो कि थिएन, भन्ने प्रश्नमा उनले भने, ‘के भयो भयो, भयो एक्कासि अचम्मै भयो, गठबन्धन टुट्यो । प्रधानमन्त्री ज्यूले त्यस्तो कुनै कुरा पनि गर्नुभएको थिएन र संकेत पनि गर्नुभएको थिएन । केही मन्त्री फेर्ने कुरा त थियो । नेताले बुझ्नुपर्ने हो । केही न केही गरेर मिलाउन सकेको भए पनि हुन्थ्यो । तर, पहिल्यै अन्य पार्टीसँग कुरा भइसकेको रहेछ । राजनीतिक जुनसुकै सम्भावनाको पनि खेल रहेछ । हिजो गठबन्धनको विरोध गर्नेहरू अब आफै गठबन्धन गरेर सरकार चलाउने भए । अब प्रमुख प्रतिपक्षको भूमिकामा रहन्छौ । गुण र दोषका आधारमा अघि बढ्छौ ।’
आचार्यले आफूले भन्दा पनि अरूले आफ्नो कार्यकालको मूल्यांकन गर्नुपर्ने बताए । उनले भने, ‘मेरो कार्यकाल राम्रै भयो होला । बाहिरबाट तपाईँहरूले मूल्यांकन गर्नुभएकै होला । मैले आफैले मूल्यांकन गर्ने कुरा भएन । जे गरे र जति गरे राम्रै गरे लाग्छ । नराम्रो गरिएन होला ।’