डिजिटलाइजेसनतर्फ सहकारी संस्था, सञ्चालकहरु भन्छन्- नत्र पछि परिन्छ – Nepal Press

डिजिटलाइजेसनतर्फ सहकारी संस्था, सञ्चालकहरु भन्छन्- नत्र पछि परिन्छ

काठमाडौं । प्रविधिको विकासक्रमसँगै यसको प्रयोग पनि ब्यापक बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल सुविधाहरु बढाउँदै लगेका छन् ।

सरकारले वि.स २०७६ मा ‘डिजिटल नेपाल फ्रेमवर्क’ अगाडि सारेको थियो । जसअनुसार २०७६ सालको कार्तिकमै उक्त ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ मन्त्रिपरिषद्ले पारित गरेको थियो । डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले आठ वटा क्षेत्र (डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार)लाई कार्यक्षेत्रको रुपमा राखेको छ ।

डिजिटल नेपाल फेमवर्क २०७६ ले विद्युतीय भुक्तानी प्रणालीहरुलाई प्रवर्द्धन गर्ने र बचत, लगानी, खर्च, करलगायतका विषयमा पारदर्शिता हासिल गर्ने उल्लेख गरेको छ । फोन-पे, ई-सेवा, आईएमई-पे, खल्ती जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकहरुको प्रयोग बढेसँगै सरकारले पनि डिजिटल नेपाल फ्रेमवर्कबाट डिजिटलाइजेशनलाई बढावा दिएको हो ।

अहिले नगद कारोबार गर्न होस् या बैंक खाता खोल्न कोही पनि प्रत्यक्ष रुपमा सहभागी हुनुपर्दैन । सबै कुरा डिजिटल रुपमा आफू अनुकूल भएर गर्न सकिन्छ । यसले नेपाल पनि प्रविधिको प्रयोगमा पछाडि नरहेको देखाउँछ ।

अहिलेको समयमा डिजिटल सेवा प्रदान गर्नु कुनै चुनौतीपूर्ण विषय भने होइन । किनभने आजको पुस्ता प्रविधिको विकासक्रमसँगै अगाडि बढिरहेको छ । तर, अर्थतन्त्रको तेस्रो खम्बाका रुपमा रहेको सहकारीको अवधारणा र कार्यक्षेत्र भने भिन्न रहेको छ । सहकारी क्षेत्रले प्रदान गर्ने सेवामा डिजिटलाइजेशनलाई जोड दिन निकै सकस हुने देखिन्छ । किनभने सहकारी दुर्गम तथा ग्रामीण क्षेत्रसम्म फैलिएको छ । लिखित कारोबार गर्न नसक्नेदेखि प्रविधिको ज्ञान नभएका सदस्यहरुलाई डिजिटल सेवा प्रदान गर्नु सहकारीका लागि चुनौतीपूर्ण हो ।

एकातिर सहकारीले पैसा खायो र डुबायो भन्ने जस्ता हल्लाले मानिसहरुमा यसप्रति अविश्वास बढ्दै गएको छ, अर्कोतिर सर्वसाधारणको जनजीवन सुधार र विकासमा टेवा पुर्‍याउँदै र डिजिटलाइजेशनको प्रयोग गर्ने उदाहरणीय सहकारी पनि रहेका छन् ।

उदाहरणका रुपमा रामेछापको मन्थली नगरपालिका- १ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई लिन सकिन्छ । नवजागरणले डिजिटलाइजेशनको अवधारणलाई अघि बढाउँदै आफ्ना सदस्यहरुलाई क्यूआर कोड, एटीएम, मोबाइल बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

सदस्यहरुको सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै भुक्तानीका डिजिटल माध्यमहरुको प्रयोगमा जोड दिँदै आएको नवजागरणका कोषाध्यक्ष नारायणबहादुर कार्की बताउँछन् ।

कोषाध्यक्ष कार्की भन्छन्, ‘हाम्रो सहकारीमा आवद्ध अधिकांश सदस्यहरु उत्पादनमूलक क्षेत्रका छन् । सञ्चालक समिति सदस्यहरुसमेत कृषिमा आवद्ध छौं । सदस्यहरुको सहजीकरणका लागि मोबाइल बैंकिङदेखि स्मार्ट बचत सेवासम्म प्रदान गर्दै आएका छौं । व्यवस्थापकीय बाटोतर्फ पनि हामी स्पष्ट छौं । सहकारीले नयाँ सदस्यता लिएको तीन महिनापछि मात्रै ऋण प्रदान गर्छ । यसले गर्दा ऋणकै लागिमात्र सदस्यता लिने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेहरु छुट्टिन्छ ।’

परिवर्तित समयानुसार प्रविधिमा जोड नदिए सहकारी क्षेत्र नै समस्यामा पर्ने एकीकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्री बताउँछन् ।

खत्री भन्छन्, ‘हामीले सहकारीको विकासमा मात्रै जोड दिएर हुँदैन । प्रविधिलाई पनि जोडतोडका साथ अपनाउनुपर्छ । होइन भने सहकारीको अस्तित्व नै हराउने देखिन्छ । बैंकहरुसँग प्रतिस्पर्धा खोजेको होइन । तर, समयसँगै अगाडि बढ्नुपर्छ । दुर्गमभन्दा दुर्गम क्षेत्रसम्म सेवा दिइरहेका कारणले रेमिट्यान्ससम्मको सेवा दिइरहेका छौं । यो पनि समयकै माग हो ।’

दोलखाको जिरी नगरपालिका- ५ स्थित एकीकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेशकै नमुना सहकारी मानिन्छ । वि.स २०५८ साल चैत ३ गते स्थापना भएको एकीकृत फ्रेण्डशिप सहकारी स्थानीय ९ वटा संस्था मर्ज भई २०७१ पुस १६ गतेदेखि एकीकृत सेवा सुरु गरिएको थियो ।

दोलखा, सिन्धुपाल्चोक, रामेछाप र काठमाडौं गरी चार जिल्ला कार्यक्षेत्र रहेको यस सहकारीमा १५ हजार ६११ नियमित कारोबार गरिरहेका सदस्य रहेको अध्यक्ष भूमिराज खड्का बताउँछन् ।

डिजिटलाइजेसनलाई बढावा दिँदै अगाडि बढिरहेको अर्को सहकारी दोलखाको वैतेश्वरस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हो । जनसचेतन बचत तथा ऋण सहकारीले आफ्नै वायरलेस तथा प्राइभेट क्लाउड राखेको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल संस्थाबाट तीन महिनामा साढे १२ करोडभन्दा बढी डिजिटल कारोबार भएको बताउँछन् । उनका अनुसार चालू आर्थिक वर्षको मंसिरदेखि माघसम्म १२ करोड ७२ लाख बढी डिजिटल कारोबार भएको छ ।

सहकारीमा आवद्ध १ हजार ८०० भन्दा बढी सदस्यले सहकारीकै मोबाइल बैंकिङ सेवामार्फत कारोबार गर्छन् । दाहाल भन्छन्, ‘चालू आर्थिक वर्षको मंसिरदेखि माघसम्म सहकारीको मोबाइल बैंकिङ सेवामार्फत १ लाख ३७ हजार ६३४ रुपैयाँ विद्युत महसुल भुक्तानी गरिएको छ । इन्टरनेटको बिल १ लाख ११ हजार ९९२, टपअप ७ लाख ५५ हजार, बैंक ट्रान्स्फर १० करोड १६ लाख २५ हजार, क्यूआर भुक्तानी ५१ लाख ८० हजार र वालेटमा १ करोड ९३ लाख ३४ हजार रुपैयाँ कारोबार भएको छ ।’

उनका अनुसार सहकारीले सबै सदस्यलाई मोबाइल बैंकिङ सेवा प्रदान गर्ने गर्दै आएको छ । ‘तर, सबैले प्रविधि अपनाउन सक्नुहुन्न । किनभने धेरैलाई यसबारे जानकारी हुँदैन र प्रयोग गर्न सक्दैनन्’, उनले थपे, ‘प्रविधिमा आधारित भएर क्यूआर कोडको प्रदान र यसको प्रयोगबारे बेला बेला प्रशिक्षणसमेत दिने गरेका छौं । जसले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न सहयोग गर्नेछ ।’

दोलखा सदरमुकाम चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था भने सहकारी डिजिटलाइजेसनमा जानैपर्छ भन्ने पक्षमा देखिँदैन ।

‘हाम्रो सहकारीका लागि एउटै संयन्त्रले पुग्छ । त्यसका लागि बजारमा उपलब्ध सबै डिजिटल कारोबारका माध्यमहरुबाट सेवा दिनैपर्ने भन्ने छैन’, जनकल्याणका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत भन्छन्, ‘सहकारी पनि हाइटेकमा जानुपर्छ । प्रविधिको विकाससँगै सबै कुरा अपग्रेड गर्नुपर्ने हुन्छ । तर, हामीले सदस्यको सुविधाका लागि सुरक्षित नरहेका सबै माध्यमतर्फ लैजानुहुँदैन । सबै सेवा परम्परागत भए यसलाई नयाँ बनाउनेमा जोड दिइरहेका छौं ।’

उनले एउटै सहकारीबाट हजारौं डिजिटल प्रोडक्टहरु दिनु त्यति उपयुक्त नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *