सुमना श्रेष्ठ: आलोचनात्मक चेत राख्नेहरुकी पनि आशा
काठमाडौं । पारिवारिक जीवनमा वियोगको दुःखमा भएकै समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद सुमना श्रेष्ठलाई सत्ताको भने सुख योग परेको छ । हजुरआमाको मृत्युको शोकमा रहेकी उनी प्रचण्ड क्याबिनेटमा मन्त्री भएकी छन् ।
गत वर्षको पुस १० मा अहिलेकै गठबन्धन हुँदा गुमनाम थिइन् सुमना । रास्वपाका सांसद महिला भन्नासाथ कि सोविता गौतमको नाम आउँथ्यो कि त तोसिमा कार्कीको । एक वर्षपछिको अवस्था पृथक छ । सोविता र तोसिमा गुमनाम त छैनन् । तर, सुमनाको सार्वजनिक क्रेजको नेप्से भने अगाडि छ ।
सन् २०२२ मा सांसद भएपछि चर्चामा आएकी सुमनाको सार्वजनिक चर्चा यस अगाडि हुँदै नभएको भने होइन । उनका प्रोफाइलहरु त्योभन्दा अगाडि पनि सार्वजनिक डोमेनमा छरिएका थिए । त्यो प्रोफाइलमा उनको सांसद र राजनीतिक क्षेत्रभन्दा परको व्यक्तित्व जोडिएको थियो ।
उदाहरणको लागि सांसद बन्नुभन्दा पाँच वर्ष अगाडि नै सन् २०१७ मा सुमनाको प्रोफाइल नेपालको चिनिएको डिजिटल म्यागाजिन भि-म्यागले बनाएको थियो । त्यहाँ उनले अमेरिकाको प्रतिष्ठित जागिर र जीवनको अवसर छोडेर नेपाल आएको भनिएको थियो । खासगरी २०७२ को भूकम्पपछि उनी नेपाल आएको कुराको चर्चा त्यहाँ छ ।
उनै सुमना श्रेष्ठ अहिले मन्त्री बनेकी छन् । मन्त्रीमा पनि उनको भागमा शिक्षा परेको छ । सामाजिक सञ्जालमा आलोचनात्मक चेतको कुरा लेख्नेहरुले पनि सुमनाको मन्त्री चयनमा सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
यसरी जनाउनेमा एक हुन् बेलायतमा रहेर नेपाली समसामयिक मुद्दामा चासो राख्ने नारायण गाउँले । गाउँलेले सुमनालाई व्याक्तिगत रुपमा चिनेका छैनन्, भेटेका छैनन् । उनको कामबाट भने उनी प्रभावित रहेछन् । गाउँले सुमनाको तयारी गरेर बोल्ने शैलीका प्रशंसक रहेछन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘…मलाई मन्त्रीहरुको यो भीडबाट एउटा अनुहार छान्न पर्यो भने धेरै सोच्नपर्ने छैन । १०० प्रतिशत कोही हुँदैन, यिनी पनि छैनन् । तर, कम्तीमा यिनलाई आफ्नो भूमिका थाहा छ । जे कामका लागि राज्यकोषबाट तलब बुझिएको हो, त्यही काममा दत्तचित्त भएर लाग्नुपर्छ भन्ने यिनलाई हेक्का छ ।’
गाउँलेले यसमा थपेका छन्, ‘मेहनत गर्छिन्, होमवर्क गर्छिन् र सकेसम्म तर्क र तथ्यसंगत हुने कोसिस गर्छिन् । जनताको करबाट तलब बुझ्ने हरेक सांसद र नेताले यस्तै मेहनत र होमवर्क गर्ने हो भने हामी अलि फरक हुन्थ्यौं होला ।’
सांसदका बन्द कोठामा हुने ऐन-कानून निर्माणको क्रममा हुने छलफल सार्वजनिक वृत्तमा ल्याउनु, विषयगत मन्त्रीलाई विषयगत प्रश्न राख्नु, संसदीय समितिमा बोलाइएका विषयगत सरोकारवालाहरुलाई राम्रो पूर्वजानकारी राखेर प्रश्न सोध्नु सुमनालाई पृथक सांसदको रुपमा उभ्याउने कुराहरु छन् । उनलाई संसदमा मिनिस्कर्ट लगाएको, पोल्याण्डका नागरिक पावेल स्काविन्स्कीसँग विवाह गरेको भनेर खिसिट्युरी गर्नेहरुलाई दिने जवाफ उनका माथि भनिएका स्तरीय कामहरु नै हुन् । उनको संसदमा देखिएको शक्तिशाली भूमिका नै हो ।
नेपालमा समानुपातिक सांसद भनेका नेताहरुका आसेपासे, आफन्त, चन्दादाता, परिवार हुन् र तिनले राम्रो संसदीय भूमिकाको योग्यता राख्न सक्दैनन् भन्ने आममतलाई सुमनाले चिरिरहेकी छन् । समानुपातिक सांसद भएर पनि प्रत्यक्षभन्दा राम्रो काम गर्नसक्ने र दलिल पेश गर्ने महिला सांसदहरुको भीडमा सुमना श्रेष्ठ तथा सुनिता बरालले देखिने काम गरिरहेका छन् ।
सरस्वती आवासीय माध्यमिक विद्यालय क्षेत्रपाटीबाट एसएलसी गरेर बूढानीलकण्ठ स्कुलबाट ए-लेभल सकाएकी सुमनाले उच्च शिक्षा अमेरिकामा गरेकी हुन् । उनले नेपाल बुझेकी छन्, विदेश पनि बुझेकी छन् । काष्ठमण्डप पुनर्निर्माण अभियानदेखि विभिन्न देशीविदेशी संस्थामा काम गरेको अनुभव छ उनीसँग । उनी आफ्नो खाजाको टिफिन आफैं बोकेर संसद आउँछिन् । विद्युतीय सवारी हाँक्छिन् ।
समानुपातिक निर्वाचन प्रणालीमा रास्वपाले जनजाति कोटाबाट सांसद बनाएकी उनले नेपालका सबै जातजातिका युवाहरुको मन जितेकी छन् । आफ्नो परिचयमा उनी सांसद अथवा प्रतिनिधिसभा सदस्य वा रास्वपाकी केन्द्रीय सांसद भनेरमात्रै चैँ चिनाउँदिनन् । उनले आफूलाई उद्यमी भन्छिन्, अभियानकर्मी भन्छिन् । व्यवस्थापन परामर्शदता पनि उनको एक चिनारी हो ।
सुमना सार्वजनिक व्यक्ति हुन् । उनको समय संसदमा के कस्तो छ भन्नेमात्रै जानकारी हुन्न । उनको कुन समय के हो भन्ने सार्वजनिक सूचना नै हुन्छ । उनको आधिकारिक वेबसाइटमा उनी त्यसको जानकारी दिन्छिन् । कुन दिन, कुन बार, कुन समय उनी कता व्यस्त हुन्छिन्, त्यो सबै जानकारी वेबसाइटमा आउँछ । एक सार्वजनिक व्यक्तिले आफ्नो सार्वजनिक छविलाई कसरी औपचारिक डोमेनमा राख्ने भन्नेमा सुमना एक उदाहरण हुन् ।
उनी महिलालाई दिइने भावुक सम्बोधन सुनेर भावुक हुन्नन् । उनी प्रशंसा होइन, परिणाम खोज्छिन् । सांसद महिलालाई चेली भन्दै फुरुक्क पार्ने तर महिलाको समानुपातिक प्रतिनिधित्वमा अनुदार पुरुष सांसदलाई उनले संसदमै गरेको सम्बोधन रोचक छ । २०७९ माघ ७ गते शनिबार उनले संसदमा भनिन्, ‘यो सदनमा धेरै पटक सुनियो चेली । महिलाहरुलाई, महिला नेतृहरुलाई चेली भनेपछि के पुरुषहरुलाई चेला भन्छौं ? भन्या सुन्या त छैनौं । त्यसकारण कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’
उसो त सुमना गम्भीर राजनीतिज्ञ चैँ होइनन् । देश-विदेशको काम, पढाइ र यात्राको दौरान पार गरेर रास्वपा राजनीतिमा आएपछि मात्रै उनी राजनीतिमा आएकी हुन् । त्यही भएर किन राजनीतिमा आउनुभएको हो भन्ने सवालमा उनको जवाफ त्यति गम्भीर छैन, जति हामीले अनुमान गर्न सक्छौं ।
हालसालै पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलमा सुमनालाई तपाईं कसरी राजनीतिमा आउनुभयो भनेर प्रश्न सोधियो । ‘कोही किन राजनीतिमा आउँछन्’ नामक सत्रमा पत्रकार वसन्त बस्नेतले सोधेको प्रश्नमा उनले भनिन्, ‘म राजनीतिमा आएको चैँ अनेस्टी भन्दा रिसमा आएको हो । लोकतन्त्र भनेको त आफूलाई चित्त नबुझेको मान्छेलाई भोट आउट गर्ने प्रक्रिया हो । जब गठबन्धन गर्छु भन्नुभयो, त्यसपछि एकदम पाइतालादेखि रिस उठ्यो । यस्तो पनि हुन्छ, जहिले पनि सेम मान्छे, जहिले पनि सेम मान्छे हुँदैन भनेर ।’
२०४१ सालमा जन्मेकी सुमनालाई बुढापाका नेताहरुले खेलेको कुख्यात म्युजिकल चेयरको कारण राजनीतिमा आउन प्रेरणा र प्रेसर आएको यो बोलीबाट झल्कन्छ । गठबन्धन राजनीतिले वाक्कदिक्क भएर र एकै खाले नेताहरुले हत्तुहैरान भएर रिसमा राजनीतिमा आएको भन्ने सुमना अहिले त्यही गठबन्धनका त्यही एकै खाले अनुहारसँगै मिलेर सरकारमा पुगेकी छन् । यसमा चैँ उनलाई कतिको रिस उठिरहेको होला ?