केकी अधिकारीका प्रिय पुस्तक: बीपीको ‘मोदी आइन्’देखि मनिषा कोइरालाको ‘हिल्ड’सम्म – Nepal Press

केकी अधिकारीका प्रिय पुस्तक: बीपीको ‘मोदी आइन्’देखि मनिषा कोइरालाको ‘हिल्ड’सम्म

काठमाडौं । अभिनेत्री केकी अधिकारी अभिनयको अलावा पढ्न रुचि राख्छिन् । विशेष गरेर आख्यान पढ्न रुचाउने उनी आफूलाई चाहिने किताबहरुको सूची बनाउँछिन् र पसलमा पुगेर लामो समयसम्म पुग्ने पुस्तकहरुको जुगाड गर्छिन् ।

आफूलाई पुस्तक अध्ययन गर्ने ‘प्यासनेट’ भन्दा पनि ‘पार्ट टाइमर’ पाठक भन्न रुचाउँछिन् केकी । कसैले सिफारिस गरेको पुस्तक समय मिलेसम्म पढ्ने गर्छिन् । पढ्दाखेरि लतरपतर एक दुई पन्ना पल्टाउँदै अर्कोपटक पढ्न पन्ना भाँचेर राख्ने गर्दिनन् । पढ्न नै भनेर विशेष समय छुट्याउँछिन् र आनन्दले पढ्छिन् ।

हामीले उनै अधिकारीका प्रिय पाँच किताबबारे कुराकानी गरेका छौं ।

बीपी कोइरालाका कृतिहरु : विशेष गरेर ‘मोदी आइन्’

यो पुस्तक मेरो प्रिय पुस्तकमध्ये पर्छ । हुन त बीपी कोइरालाका हरेक पुस्तकहरु पढेकी छु । उहाँका सबै किताबहरु मनपर्छ । तर, ‘मोदी आइन्’ चाहिँ मनपर्नेहरुबीचको विशेष पुस्तक हो ।

हामीले लडाइँका कथाहरु धेरै पढ्यौं । लडाइँ लड्न प्रेरित गर्नेहरु र लडाइँ सृजना गर्ने पक्षहरुबीचको कथा धेरै लेखिएका छन् । तर, यस पुस्तकमा भने तेस्रो कोण छ । यहाँ सेनाकी श्रीमतीका अनुभवहरु छन् । त्यो वेलाको पृष्ठभूमिलाई श्रीमतीको आँखाबाट देखाउन कोसिस गरिएको छ । यसले छुट्टै खालका भावहरु सृजना गरिदिन्छ ।

कहिलेकाहीँ साहित्यको कस्तो प्रभाव हुने रहेछ भने त्यसले आफ्नो दृष्टिकोण नै बदल्न सक्दोरहेछ । हामीले कुरुक्षेत्रको लडाइँबारे पढ्यौं । हार र जीतको कथामात्रै पढिरह्यौं । तर, ‘मोदी आइन्’मा हारैहार व्यहोरेकी महिलाको फरक कोण छ । उनको फरक कोणले भन्छ- जसले जिते पनि, जो हारे पनि उनको चाहिँ हारमात्रै हुन्छ ।

अमर न्यौपानेको ‘गुलाबी उमेर’ र ‘सेतो धरती’

‘गुलाबी उमेर’ टिनएजलाई केन्द्रित गरिएको पुस्तक हो । म त रमेश विकलका कथाहरु पढ्दै, हेर्दै हुर्किएकी ! मेरो बुवाले टेलिसिरियलमा ‘विक्रम र नौलो ग्रह’ पनि गर्नुभएको थियो । त्यस्तो माहोलबाट हुर्किंदै आइयो ।

‘गुलाबी उमेर’ चाहिँ त्यो टिनएज काटेपछि पढियो । तर, पुस्तकले त्यो वेलाको समयमा लिएर जान्छ । अनि सोच्न बाध्य बनाउँछ, ‘यो त मभित्र पनि आएको बटरफ्लाइ हो । मेरो पनि सोच यस्तै थियो ।’ त्यो उमेरमा प्रेम अनि घृणाका कुराहरु एक्सट्रिममा गएर महसुस गर्ने गरिन्छ । हार्मोनल परिवर्तनहरु, त्यस वेलाको वातावरण अर्कै हुन्छ । यो पुस्तकले त्यहाँ लिएर जान्छ ।

अमर न्यौपानेको ‘सेतो धरती’ धेरै पटक पढेको पुस्तक हो । यो पुस्तक जति अरु पुस्तक सायदै पढेकी हुँला । मैले आफैं ‘बोक्सीको घर’ फिल्म बनाएकी छु । यो फिल्मका लागि पनि मैले यो पुस्तक पढेकी थिएँ ।

‘सेतो धरती’को कथामा भएको मर्म नै मुख्य कुरा हो । एउटा बाल विधवाको कथा, उसको जीवनमा सेतो रङले पारेको प्रभाव अनि उसको सुरुवातदेखि अन्त्यसम्मको यात्रालाई पुस्तकमा मजाले प्रस्तुत गरिएको छ । कहीँकतै ‘बोक्सीको घर’को पात्रलाई अंगाल्न सजिलो हुन्छ भनेर पनि मैले यो पुस्तक निकै पटक पढें । यो पुस्तकले धेरै हदसम्म सहयोग पनि गरेको छ ।

बुद्धिसागरको ‘कर्णाली ब्लुज’

मलाई बुद्धिसागरको मनपर्ने पक्ष भनेकै उहाँको लेख्ने शैली हो । एउटै कुरालाई वर्णन गर्ने फरक फरक तरिका छन् उहाँको लेखनीमा । उहाँको लेखनी पढेपछि लाग्छ, ‘ओहो, यसरी पनि भन्न सकिन्छ ?’

कपडा सुकाइएको सामान्य कुरालाई दश तरिकाले भन्न सक्छन् बुद्धिसागर । अरुले कति तरिकाले भन्न सक्लान् ! हामी कति पटक भन्न सक्छौं ? बुद्धिसागरमा त्यो कला छ ।

अनि यो पुस्तक दृश्य भाषा जतिकै बलियो छ । दृश्य भाषा त अझै बलियो हुनुपर्ने हो नि ? त्यो छैन । दृश्य भाषाले दर्शकले चाहे पनि नचाहे पनि दर्शकलाई लिएर जान्छ । त्यसमा संगीत, दृश्यहरुले म्यानुपुलेट पनि गर्छ । तर, पुस्तकले पाठकलाई घटनास्थलमै लिएर जानु चुनौतीपूर्ण हुन्छ ।

‘कर्णाली ब्लुज’ले भने लिएर जान्छ । म कर्णाली पुगें भने मलाई अनौठो र नौलो लाग्दैन होला । धेरै पटक आएको जस्तो लाग्छ होला ।

मिसेल ओबामाको ‘बिकमिङ’ र मनिषा कोइरालाको ‘हिल्ड’

आत्मकथा मान्छेहरुले आफ्नै कारणले पढ्छन् होला । म केही कारणले आत्मकथा पढ्छु । एउटा त जीवनमा एकदमै पीडा हुँदा अर्को व्यक्तिको पीडा र संघर्षले प्रभाभित बनाउने कुरा भयो । यो पीडा मलाई मात्रै होइन रहेछ, अरुलाई पनि रहेछ भन्ने महसुस गराउने कुरा भयो । अर्को चाहिँ मनको शान्ति पनि चाहिने रहेछ मान्छेलाई ।

कोभिडको वेलाको सुरुमा एकदमै पीडा भए पनि मैले यो मलाई मात्रै होइन भनेर महसुस गरेकी थिएँ । आफूलाई मात्रै पीडा भएको भए त्यहाँबाट उम्कन मान्छेलाई कति गाह्रो हुन्थ्यो होला ! त्यसले दिने धेरै किसिमका मानसिक रोग कति डरलाग्दा हुन्थे होला ! तर, मलाई थाहा भयो- यो अवस्थामा सारा संसार नै मारमा परेको छ । अनि मैले महसुस गरिरहेको पीडा सारा संसारका मान्छेले पनि महसुस गरिरहेका छन् भन्ने भएपछि पीडा आफैंमा कम हुने रहेछ । यही कारण पनि म आत्मकथाहरु पढ्न रुचाउँछु ।

मलाई मिसेल ओबामाको ‘बिकमिङ’ पछिल्लो समय पढेकामध्ये गजब लागेको आत्मकथा हो । यहाँ फस्ट लेडी हुँदाका उहाँको व्यक्तिगत अनुभव धेरै छन् । आमा हुँदाको अनुभव छ । ह्वाइट हाउसमा सामान्य मान्छे पुग्दाको संघर्ष आफ्नै हुन्छ । अनि त्यहाँ गएर ह्वाइट हाउसको परिवेशमा फिट हुन संघर्ष गर्नु अर्को । अनि सबैभन्दा ठूलो भूमिकाको रुपमा चाहिँ आमा बन्नुपर्ने भूमिकालाई लिनु । उहाँको व्यक्तिगत अनुभवको माध्यमबाट जाँदाखेरि मीठो यात्रामा लिएर जान्छ ।

अनि मलाई मन परेको अर्को चाहिँ मनिषा कोइरालाको ‘हिल्ड’ हो । यो पुस्तकको मुख्य चिज भनेकै पीडाहरुको सामना हो । हामीलाई मृत्युदेखि एकदमै डर लाग्छ वा कुनै पनि पीडाबाट गुज्रनुपर्छ भन्ने कुराले हामीलाई डर दिन्छ । तर, त्यो पीडालाई कसरी सामना गर्ने भनेर डर नराखी सामना गर्ने हो भने जीवन सहज हुन्छ । र, जीवनमा जे आइपर्छ, त्यही परिस्थितिमा आफू भिज्दै जान सकिन्छ भन्ने कुरा मन पर्‍यो यो पुस्तकको ।

अर्कातिर मनिषा दिदीसँगको सिनेमाको ब्याकग्राउण्ड पनि जोडियो । उहाँका संघर्षकालीन दिनहरुमा मैले आफूलाई पनि पाएँ । यसपछि पुस्तकमा क्यान्सरलाई जितिसकेपछिको अनुभव छ, जीवनलाई हेर्ने दृष्टिकोणमा आएको बदलाव छ । यो पुस्तकले पनि मलाई एकदमै प्रभावित पारेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर