विभिन्न क्षेत्रका १० जना महिलालाई मोतीदेवी स्मृति केन्द्रको सम्मान
काठमाडौं । मोतीदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रमा क्रियाशील ११ जना महिलालाई ‘प्रेरणादायी महिला’ को रुपमा सम्मान’ गरेको छ । एक सय २४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्षसमेत रहेकी मोती स्मृति केन्द्रका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उनीहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा बौद्ध धर्मकी अध्येता धम्मावती गुरुमाँ, अर्थशास्त्री डा। मीना आचार्य, समाजसेवी साबित्री थापा, उद्यमी शान्ति चड्डा, राजनीतिज्ञ सोनाम छेजुङ लामा, मानव बेचबिखन विरुद्धकी अभियानकर्मी चरिमाया तामाङ रहेका छन् । त्यसैगरी सिरहाकी सामाजिक अभियानकर्मी सोनिया सदा, लामो दुरीको रात्रिबस चालक रेबिका थापा, नेचर गाइड तथा वाइल्डलाइफ फोटोग्राफर विमिता भण्डारी र गाउँकी डाक्टर भनेर चिनिने नर्स तुलसी शाही सम्मानित भएका छन् ।
केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले सबैका लागि प्रेरणा बन्ने र प्रायः धेरैले नगरेको क्षेत्रमा काम गरिरहेका महिलालाई प्रत्येक वर्ष मार्च आठको अवसरमा सम्मान गर्ने गरिएको बताए ।
मोतीदेवी स्मृति केन्द्रले नै प्रकाशन गरेको ‘संघर्षशील योद्धा’ नामक पुस्तक पनि सार्वजनिक गरिएको छ । कम्युनिस्ट पार्टीलाई योगदान दिने पार्टीका पुराना नेता कार्यकर्ताको जीवनी किताबमा समेटिएको छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले सबैका लागि प्रेरक व्यक्तित्वलाई खोजेर सम्मान गर्नु महत्वपूर्ण कार्य भएको भन्दै सम्मानित हुनेलाई बधाई पनि दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका भाई विजयलाल श्रेष्ठलाई पनि अतिथिका रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
राम्रो समाचार सम्प्रेषण गर्नु भएकोमा हार्दिक धन्यवाद।