मन्त्रिमण्डल हेरफेरसँगै योजना आयोगका ४ सदस्यको जागिर संकटमा
काठमाडौं । मन्त्रिमण्डल हेरफेरसँगै राष्ट्रिय योजना आयोगका ४ सदस्यको नियुक्ति धरापमा परेको छ । सरकारबाट कांग्रेस बाहिरिएको छ ।
कांग्रेस निकट तिन सदस्य र जनमत पार्टी निकट एक जना सदस्य पनि अब आयोगबाट बाहिरिनेछन् ।
आयोगका एक सदस्यले बजेट र १६ औ योजनाका लागि धेरै काम गरे पनि मन्त्रिमण्डलको हेरफेरले आफूहरूको नियुक्ति संकटमा परेको र आफूहरूले गरेको काम र सोको डकुमेन्ट हस्तान्तरण गर्ने काम भइरहेको बताए ।
सामान्यतया सरकार परिवर्तन भएपछि राष्ट्रिय योजना आयोगको अध्यक्ष र सदस्यहरूको पनि हेरफेर हुँदै आएको छ । राष्ट्रिय योजना आयोग गठनादेश अनुसार सञ्चालित आयोगको अध्यक्ष र सदस्यको पद राजनीति नियुक्तिको पद हो ।
उनीहरू सरकार फेरिएसँगै आफूहरुपनि सो ठाउँबाट हट्नुपर्ने मानसिकता बनाएर आएका हुन्छन् । प्रा.डा. आरपी विच्छा, डा. प्रभु बुढाथोकी, डा.अनिता शाह ढुंगाना कांग्रेस निकट हुन भने डा. जयकान्त राउत राष्ट्रिय जनमत पार्टी निकट हुन् । राउत सो पार्टीका अध्यक्ष डा। सिके राउतका दाइ पनि हुन् । यिनीहरूले राजीनामा दिने मनस्थिति बनाइरहेको स्रोतले बतायो ।
सरकारमा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । काँग्रेस सरकारबाट बाहिरिइसकेको छ । नयाँ मन्त्रिमण्डलले पनि पूर्णता पाएको छ । आयोगका उपाध्यक्ष डा. मीनराज श्रेष्ठ छन् । उनी माओवादीका हुन् ।
राष्ट्रिय योजना आयोगको गठन तथा कार्य सञ्चालन आदेश, २०७४ अनुसार भएको हो । राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो ।
यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने गर्दछ ।