वाम एकता : प्रचण्डको हौस्याइ र धरातलीय सच्चाइ – Nepal Press

वाम एकता : प्रचण्डको हौस्याइ र धरातलीय सच्चाइ

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको सार्थक र होसियार पहलबाट नयाँ सत्ता गठबन्धन बनेपछि फेरि वाम एकताको बहस ब्युँझिएको छ । नेकपाको विभाजनपछि लामो समय एक अर्कामा पानी बाराबारको स्थितिमा रहेका ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सत्ता साझेदारी गर्न सहमत भएका तथा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा सामेल भएको घटनाले नेपाली वाम राजनीतिमा तरङ्ग पैदा भएको छ । गठबन्धनमा उलटफेर भए पनि प्रधानमन्त्रीमा निरन्तर रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हौसेर नयाँ गठबन्धनको निर्माणलाई वामएकताको प्रथम पाइला भन्ने अभिव्यक्ति दिएका छन् । प्रचण्ड र माओवादीका अन्य नेताहरू जतिसुकै हौसिए पनि बामएकताको धरातलीय यथार्थ भने सोअनुरूप छैन ।

२०७४ सालको निर्वाचनअघि एमाले-माओवादीबीच बनेको गठबन्धनले नेपाली जनतामा निकै सकारात्मक प्रभाव पारेको थियो । फलस्वरूप वाम गठबन्धनको पक्षमा दुइ तिहाइ मत प्राप्त भयो । प्राप्त परिणामबाट उत्साहित नेतृत्वले आवश्यक वैचारिक, सांगठानिक र भावनात्मक तयारी नगरी हतारमा पार्टी एकता गरेको थियो । एकतापछि केही समयमै वातावरण धुमिल बन्दै गयो । नेकपा (एमाले) ले अंगीकार गरेको जनताको बहुदलीय जनवादबाट ‘बहुदलीय’ शब्द झिकेर बाँकी हुबहु मान्ने सहमति भए पनि व्यवहारमा त्यसो हुन सकेन । तृणमूल तहका नेता-कार्यकर्तामाझ त्यो विचार सम्प्रेषण हुन सकेन । विचार दस्तावेजमा सीमित भयो, व्यवहारमा आउन सकेन । निर्वाचनमा तलदेखि माथिसम्म क्लिनस्वीप गरेको पार्टी आफैं अपाहिज बन्यो । एकीकृत पार्टीभित्र समाजवादी लक्ष्य, कमरेडली भावना र वैचारिक सम्मिलन हुनको सट्टा पार्टीभित्रको अंकगणितको सहारामा सत्तामा पुग्ने दाउपेच र षड्यन्त्र हुन थाल्यो । अवाञ्छित आरोप-प्रत्यारोप हुन थाल्यो । र, अन्ततोगत्वा एकता असफल भयो ।

वाम एकता गर्न चाहने नेताले वाम एकताका समस्या के हुन् भन्ने नबुझेको पक्कै छैन । प्रधानमन्त्री पदको अवधि बढाउन वा दक्षिणपन्थीहरूसँगको गठबन्धन तोडेर एमालेसँग मिल्ने बेलामा वाम पक्षधर जनताको क्षणिक सहानुभूति बटुल्नमात्र यो विषय उठाइएको भए यो इमानमा प्रश्नचिन्ह लाग्ने विषय हो ।

नेकपा (माओवादी केन्द्र) का सदाबहार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हौसने स्वाभावबाट अब कोही अपरिचित छैन । प्रथम संविधानसभामा जब उनको पार्टीले २३९ सीट हासिल गर्‍यो, विजयबाट हौसिएर एमाले र कांग्रेसलाई खुल्ला मञ्चबाट नराम्ररी ह्याए । ०६२-०६३ को आन्दोलन आफ्नैमात्र कारणले भएको भन्दै सबै जस आफूले मात्र लिन खोजे । राजनीतिमा मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा माओवादीको नाजायज दबदबा शुरू भयो । आफू आकासिएको अरू सकिएको जस्तो भाष्य बनाउन खोजियो । त्यही मुख्य कारण बन्यो, प्रथम संविधानसभा असफल भयो । त्यसपछि शुरू भएको माओवादी अवरोह अहिलेसम्म आरोहमा परिणत हुन सकेको छैन । माओवादी शक्तिमा टुटफुट, विभाजन र बहिर्गमन रोकिएको छैन ।

नेकपाकालमा अनुभव गरिएको हो, माओवादी स्कुलिङ र कार्यशैली एकताको हलुवामा बालुवा बनिरहे । माओवादी स्कुलिङ र बन्दुकले हुर्काएको सर्वसत्तावादी सोच, च्याँखे थाप्ने प्रवृत्ति र सत्तामोहले नेकपाको कोपिला निमोठियो । ०७४ को निर्वाचनमा जनतामा देखिएको उत्साहमाथि कुठाराघात भयो । फलस्वरूप एमालेविरोधी विजातीय गठबन्धनको रातारात सूत्रपात भयो ।

नयाँ गठबन्धन बनेपछि वामपन्थी दलहरूको कोर्स करेक्सन भएको छ तर टिकाउ वाम एकताको वातावरण बनिसकेको छैन । वैचारिक बहसको व्यापकता, गठबन्धनमा सामेल वामपन्थी दलका नेता-कार्यकर्ताबीच कमरेडली भावनाको विस्तार र कार्यनीतिक मुद्दामा समान दृष्टिकोणको निर्माण नभइ सार्वजनिक खपतको लागि मात्र वाम एकताको विषय उठान गर्नुले खास अर्थ राख्दैन । वाम एकताको धरातलीय यथार्थ वा सच्चाइ प्रचण्डले भनेको जस्तो सरल र सहज छैन ।

नेकपा (माओवादी केन्द्र) का सदाबहार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हौसने स्वाभावबाट अब कोही अपरिचित छैन । प्रथम संविधानसभामा जब उनको पार्टीले २३९ सीट हासिल गर्‍यो, विजयबाट हौसिएर एमाले र कांग्रेसलाई खुल्ला मञ्चबाट नराम्ररी ह्याए । ०६२-०६३ को आन्दोलन आफ्नैमात्र कारणले भएको भन्दै सबै जस आफूले मात्र लिन खोजे ।

माओवादी केन्द्रले माओवादको पहाड बिसाएको दिन, जनताको बहुदलीय जनवादी विचारलाई नेकपाको कालमा जस्तो लिप सर्भिसको रूपमा नभइ वास्तविक रूपमा वाम एकता चाहने दलले आत्मसात गरेको दिन साँचो अर्थमा वाम दलहरूको दीर्घकालीन एकता अगाडि बढ्न सक्छ । त्यही भएर प्रचण्डले वाम एकताबारे हौसिएर वक्तव्य दिंदा एमालेले वाम एकतााको हतार छैन भन्ने धारणा अगाडि सारेको हो । उसले नेकपा एकता र विभाजनको पीडा बिर्सेको छैन ।

भनिएको छ- ‘मानिस समान जन्मन्छ, तर इगो, आस्था र डरले मानिसहरूमा विस्तारै भिन्नता ल्याउँछ ।’ संसदमा उपस्थित नेपालका वामपन्थी दलहरूका रणनीति र कार्यनीतिमा खास भिन्नता छैन । तर, आफू अरूभन्दा क्रान्तिकारी हुँ भन्ने इगो, आफूले जनयुद्ध लडेर आएको भन्ने अहम् माओवाद र जनताको बहुदलीय जनवादमा रहेको फरक-फरक आस्था र कम्युनिष्ट आन्दोलन, समाजवादको गन्तव्यभन्दा ‘हमारा पदका क्या होगा’ भन्ने डर र चिन्ता रहेसम्म वाम एकताका तिलस्मी गफको कुनै अर्थ छैन ।

प्रसिद्ध रसियन साहित्यकार दोस्तोभस्की भन्छन्-‘सबभन्दा मुख्य कुरा आफूले आफैंलाई नढाँट ।’

वाम एकता गर्न चाहने नेताले वाम एकताका समस्या के हुन् भन्ने नबुझेको पक्कै छैन । प्रधानमन्त्री पदको अवधि बढाउन वा दक्षिणपन्थीहरूसँगको गठबन्धन तोडेर एमालेसँग मिल्ने बेलामा वाम पक्षधर जनताको क्षणिक सहानुभूति बटुल्नमात्र यो विषय उठाइएको भए यो इमानमा प्रश्नचिन्ह लाग्ने विषय हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *