यात्रुहरुको सुरक्षाको माग गर्दै सीडीओमार्फत गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र
डोटी । सार्वजनिक यातायातमा यात्रा गर्ने व्यक्तिहरुको जीउधनको सुरक्षाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । डोटीको शिखर नगरपालिका–११ निवासी पत्रकार रामहरि ओझाले सार्वजनिक यातायातका यात्रुहरुले भोग्नु परेका समस्याहरु समाधान गर्नु पर्ने र यात्रुहरुको सुरक्षाको जिम्मा लिनु पर्ने माग राख्दै सात बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाईएको ज्ञापन पत्रमा सार्वजनिक यातायातहरुले सिट क्षमताभन्दा बढी यात्रु बोकेर सर्वसाधारणको यात्रालाई कष्ठपूर्ण र जोखिमपूर्ण वनाइरहेको उल्लेख छ ।
‘शासन व्यवस्था र शासकीय स्वरुपमा परिवर्तन आएपनि जनताको जीवनशैलीमा खासै परिवर्तन आउन सकेको छैन’, ज्ञापन पत्रमा भनिएको छ, ‘जनताले आधारभूत आवश्यकताको उपभोगका लागि बिभिन्न जोखिमहरु मोल्नु परेको छ ।’ सुदूरपश्चिमको सार्वजनिक यातायातमा पनि यस्तै जोखिम भोग्नु परेको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु र सेवा प्राप्त गर्नेे हक हुनेछ भन्ने व्यवस्था गरेको र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ ले पनि प्रत्येक व्यक्तिलाई गुणस्तरीय बस्तु सेवा उपभोग गर्न पाउने व्यवस्था गरेको भएपनि सार्वजनिक यातायातमा गुणस्तरीय सेवा उपलव्ध हुन नसकेको ज्ञापन पत्रमा भनिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०२ अनुसार तोकिएको क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने व्यवस्था हुँदाहुँदै पनि सार्वजनिक यातायातले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
‘ऐनको दफा १०१ ले यात्रु तथा यात्रुको मालसामानलाई सुरक्षित गन्तव्यमा पुर्याउनु पर्ने व्यवस्था गरेको छ’ ज्ञापन पत्रमा थप भनिएको छ ‘सोही ऐनले यात्रुहरुप्रति दुर्व्यवहार गर्न नहुने, यात्रुहरुलाई अनिवार्य टिकट दिनु पर्ने भन्ने व्यवस्था गरेको छ ।’
चालकहरुको लापरवाही, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको सेटिङ्ग, सडकको गुणस्तर कमजोर आदिका कारण सार्वजनिक यातायातका साधनहरुको यात्रा कष्ठपूर्ण हुँदै गएको ज्ञापन पत्रमा भनिएको छ ।