धनगढीमा भोलिबाट जय नेपाल कप हुँदै, विजेताले तीन लाख पाउने – Nepal Press

धनगढीमा भोलिबाट जय नेपाल कप हुँदै, विजेताले तीन लाख पाउने

कैलाली । कैलालीको धनगढीमा भोलिबाट जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल विद्यार्थी सङ्घ कैलालीको आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि सुरु हुने प्रतियोगिता चैत्र २ गतेसम्म जारी रहने छ । प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए ।

उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरूले प्रतियोगितामा भाग लग्न सक्ने छन् । २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना खेलाडी अनिवार्य रूपमा क्याम्पस बाहिरको हाल्नुपर्ने उनले बताए ।

प्रतियोगितामा सहभागी हुनका लागि प्रवेश शुल्क २५ हजार कायम गरिएको छ भने बाहिरबाट आएको टिमले खान बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने सर्त राखिएको छ ।

सो प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा प्रदेश भरिका ८ टिम सहभागी हुने छन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्ने नेविसंघ कैलालीका सभापति मनिस कुवरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर