महोत्तरीमा २० हजार घुससहित दुई प्रहरी अख्तियारको फन्दामा
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका १२ स्थित गैरीटोलबाट २० हजार रुपैयाँ घुस रकमसहित दुई प्रहरी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई पक्राउ गरेको हो । आइतबार घुस रकमसहित पक्राउ परेका उनी दुवै जनालाई अख्तियार बर्दिबासमा राखिएको छ ।
महोत्तरी अदालतले जग्गा सम्बन्धी जारी गरेको आदेश कार्यान्वयन नगर्न छलफल गराइदिने भन्दै एक व्यक्तिबाट २० हजार घुस लिँदै गर्दा असई यादव र वरिष्ठ हबलदार झालाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।