खाना पकाउने क्रममा आगोले पोलेर महिला गम्भीर घाइते, उपचारमा सहयोग गर्न परिवारको आग्रह
काठमाडौं । दार्चुलामा खाना पकाउने क्रममा शरीरमा आगो लाग्दा एक महिला शख्त घाइते भएकी छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका ९ नकतड बस्ने ५० वर्षीया जानकी देवी विष्ट शरीरमा आलो लाग्दा घाइते भएकी हुन् । तरकारी बनाउने बेला लुगाबाट आगो सल्केको थियो ।
स्थानीय करनसिंह विष्टका अनुसार घटना फागुन १८ गतेको हो । घाइते विष्टलाई गोकुलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी धनगढी रिफर गरिएको छ ।
अहिले स्थानीयहरू अन्य माध्यमबाट थप उपचारका लागि आर्थिक सहयोग जुटाउने काम भइरहेको विष्टले बताए । उनले भने, ‘उहाँको आर्थिक अवस्था निकै कमजोर छ । हामीले विभिन्न माध्यमबाट र गाउँघरबाट सहयोग उठाइरहेका छौँ । थप उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह छ ।’
घाइते विष्ट सामान्य बोल्न सक्ने अवस्थामा छिन् तर खाना खान सकिरहेकी छैनन् ।
घाइते विष्टका श्रीमान् दमका बिरामी हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको र छोरा पनि बिरामी रहेको उनले बताए ।
थप उपचारका लागि आवश्यक आर्थिक सहयोग गरिदिन पनि परिवारले आग्रह गरेको छ । सहयोग गर्न चाहनेहरूले छोरा जगदीश विष्टको नाम रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकमा रहेको खाता नम्बर १३००५०८००२८९७ बाट गर्न सक्नेछन् ।