९८ विकेटमा राेकिए सन्दीप, को बन्ला टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिने पहिलो नेपाली बलर ?
काठमाडौं। आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाल यति बेला हङकङमा टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिरहेको छ ।
नेपाली टोलीले हालैमात्र घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । हङकङबाट फर्किएपछि पनि विश्वकप तयारीमा नेपाली टोली व्यस्त रहनेछ ।
नेपाली टोलीका केही सदस्यहरू राष्ट्रिय कीर्तिमान नजिक देखिएका छन् । सन्दीप लामिछानेको अनुपस्थितिमा करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलर बन्नसक्ने संघारमा छन् ।
करणले ६१ खेलमा ८६ विकेट लिएका छन् । सन्दीपको नाममा ५१ खेलमा ९८ विकेट रहेको छ । तर, जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका सन्दीप पुनः मैदान फर्कने नफर्कने निश्चित छैन । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने विश्व कीर्तिमान बनाएका थिए ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि १०० विकेट पूरा गरेर अर्को ऐतिहासिक उपलब्धि नजिक रहेको अवस्थामा उनी निलम्बनमा परेका छन् । करणपछि सबैभन्दा बढी विकेट लिने नेपाली बलरमा अविनाश बोहरा छन् । उनले ५३ खेलमा ६७ विकेट हात पारेका छन् । सोमपाल कामीले ६० खेलमा ५४ विकेट लिएका छन् ।
दुई ब्याट्सम्यान एक हजार रन नजिक
नेपालका २ ब्याट्सम्यान टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन नजिक छन् । कप्तान रोहित पौडेलले ४१ खेलमा ९८२ रन बनाएका छन् भने कुशल भुर्तेलको नाममा ३५ खेलमा ९४९ रन छ । आसिफ शेखले ३८ खेलमा ८८४ रन जोडेका छन् ।
दीपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने नेपालका एकमात्र ब्याट्सम्यान हुन् । उनले ५८ खेलमा एक हजार ४७६ रन जोडेका छन् । रोहितले अब १८ रन जोडेको अवस्थामा उनको एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा एक हजार रन पूरा हुनेछ ।
यस्तो सफलता हालसम्म कुनै पनि नेपाली ब्याट्सम्यानले पाउन सकेको छैन । तर, यस्तो सफलता प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्ने होडमा रोहितमात्र भने छैनन्, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्र पनि देखिन्छन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले ८९६ रन जोडेका छन् । रोहितले एक हजार ५८६, आसिफ शेखले एक हजार ४०१ र कुशल भुर्तेलले एक हजार २१९ रन जोडेका छन् । यसरी हेर्दा अन्य खेलाडीको तुलनामा रोहितको सम्भावना निकै बलियो देखिन्छ ।