देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय – Nepal Press

देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माण गर्न करिब १ खर्बको परियोजना सञ्चालन गर्ने भएको छ । जसअनुसार देवदहमा विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटनसमेत गरिएको छ ।

भवन उद्घाटन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको केन्द्र बन्ने बताए ।

बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै उनले यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने बताए ।

विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा सुरु हुने एक खर्बको परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उनले उल्लेख गरे ।

पूर्वमन्त्री एवं सांसद छविलाल देवदह शैक्षिकग्रामका रुपमा स्थापित हुने र विश्वविद्यालयको भौतिक निर्माण सम्पन्न हुँदा अनतर्राष्ट्यि आकर्षणको केन्द्र बन्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचना निर्माण हुने बताए ।

‘हामीले ५० करोडको लागतमा गुरुयोजना बनाएका छौं, अब यसैअनुरुपका पूर्वाधार निर्माण हुनेछन्’, उनले भने ।

विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए ।

विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताए ।

देवदहमा ९२ विगाहा जमिन प्राप्त गर्न ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिबद्धता पूरा गर्दै लगिने बताए ।

विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्रहालय, गेष्ट हाउस भिल्लासहितका संरचना बनाउनेछ । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ ।

पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ । रजिष्टार डा. आचार्यले पूर्वाधार निर्माण गर्न केही दातृ निकायले प्रतिबद्धता जनाइसकेको बताए ।

सोमबार उद्घाटन गरिएको भवन सवा सात करोडको लागतमा आठ महिनामै तयार भएको हो । एक वर्ष निर्माण अवधि रहँदै निर्माण सकेको भन्दै निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।

देवदहमा भवन निर्माणसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयले हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालन गरेका छ । विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *