सन्धिखर्क–गोरुसिङ्गे सडकमा कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटरमा आगलागी
रूपन्देही । सन्धिखर्क–गोरुसिङ्गे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिलेखोला स्थित सडक कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटर (अलकत्रा बोकेको ट्याकंर) मा आगो लागेर नष्ट भएको छ ।
हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी आगो ट्याकंरमा सल्किएपछि अनियन्त्रित भई उक्त गाडी र त्यसमा भएको ७ हजार लिटर कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्रा र मट्टितेल) जलेर नष्ट भएको हो ।
शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुको योजनामा खनाल ब्रदर्श प्रतिभा सम्झना जे.वि. कन्ट्रक्शन सन्धिखर्कले कामको जिम्मा लिएर काम गर्दै आएकोमा सोमबार साँझ ६ बजे ट्याकंरमा आगलागी भएको खनाल बर्दशका प्रमुख कविराम खनालले बताए ।
“वस्ती नभएको जंगल एरियामा मेरो टिमले काम गर्दै थियो, आगो निभाउने प्रयास गर्दापनि नियन्त्रणमा लिन सकिएन ।” उनले भने,“एक्कासी आगो लाग्यो, डिस्ट्रिब्युटरमा आगो लाग्यो । अलकत्रा र मट्टितेल चुहिएर सडकको नालीमा बग्न थाल्यो ।”, “आगो नियन्त्रण बाहिर गयो, मानवीय क्षति नभएपनि आगलागीबाट करिब ६० लाखको क्षति भयो,” उनले भने ।
आगलागीबाट अमर निर्माण सेवाको ना ५ ख २०८३ नम्बरको डिस्ट्रिब्युटर (अलकत्रा बोकेको ट्याकंर) र त्यसमा रहको ७ हजार लिटर कालोपत्र गर्न राखिएको तेल समेत जलेर ६० लाख बराबरको क्षति पुगेको उक्त कम्पनीले जनाएको
छ ।
घटना भएको थाहा पाएपछि ठाडा प्रहरी चौकीबाट प्रहरी निरीक्षक रिषिराम घर्तिमगरको नेतृत्वमा खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, सडकमा हिंडिरहेका यात्रु र निर्माण कम्पनीको टोली खटेपछि करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।