बिपी प्रतिष्ठानभित्रका फार्मेसी बन्द, बिरामीलाई सास्ती
विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल भित्रै सञ्चालनमा रहेका फार्मेसीमा कार्यरतहरूले सेवा अवरुद्ध गरेका छन् । फार्मेसीका ठेकेदारले तलब नदिँदा फार्मेसिष्टहरुले काम बहिस्कार गरेका हुन् । फार्मेसीमा कार्यरतहरूले सेवा अवरुद्ध गर्दा बिरामीहरुलाई समस्या परेको छ ।
प्रतिष्ठान भित्र ४ वटा फार्मेसी छन् । ती फार्मेसीमा कार्यरतहरूले सञ्चालकले तलब नदिएको भन्दै उप मेयर आइन्द्र विक्रम बेघालाई जानकारी गराएका थिए ।
बिपी अस्पतालमा सञ्चालित सबै फार्मेसीमा कार्यरत कर्मचारी नआउँदा इमर्जेन्सी लगायतका बिरामीहरूका लागि रातविरात औषधि खरिद गर्न कठिनाइ भएको छ ।
सहायक फार्मेसिष्ट स्वस्ति श्रेष्ठका अनुसार फार्मेसीमा कार्यरत १८ जना सहायक फार्मेसिस्टहरूले सेवा बहिष्कार गरेपछि सबै फार्मेसी बन्द भएको हो । फर्मेसिष्टहरुले ६ महिनादेखिको तलब नपाएको बताएका छन् ।
बिपी प्रतिष्ठानले अस्पतालको फार्मेसी सञ्चालन गर्न केटिएम सेक्युरिटी कम्पनीलाई ठेक्का दिएको छ। ठेकेदार कम्पनीले त्यहाँ कार्यरत फार्मेसिष्ट कर्मचारीले कार्तिकदेखि तलब भत्ता दिएको छैन ।
तलब भत्ता नपाएकोले काम बहिस्कार गरेका फार्मेसिष्टहरुले अस्पतालभित्र बिपी प्रतिष्ठान आफैले सञ्चालन गर्न माग गरेका छन् । अस्पताल फार्मेसी निर्देशिका २०७२ अनुसार फार्मेसिस्टहरु राख्नुपर्ने व्यवस्था भएको बताएका छन् ।
सहायक फार्मेसिष्ट श्रेष्ठले उक्त विषयमा ठेकेदार सेक्युरिटी कम्पनी र प्रतिष्ठान प्रशासनलाई पटक पटक अनुरोध गर्दा पनि सुनवाइ नभएकाले सेवा बहिष्कार गरेको बताइन् । ठेक्कामा सञ्चालन भएकोले फार्मेसिस्टहरुले प्रचलित नियम अनुसार तलब भत्ता र बिदा समेत पाएका छैनन् ।
केटिएम सेक्युरिटी कम्पनीका सञ्चालक रामेश्वर साहले भने प्रतिष्ठानले समयमा तबल भत्ताको रकम निकासा नगर्दा कर्मचारीलाई भुक्तानी गर्न नसकेको बताए । उनले भने, ‘प्रतिष्ठानले कात्तिक देखि रकम निकासा गरेको छैन, तर पनि तलक पठाउने तयारी भइरहेको छ ।’
बिपीसँग ३ वर्षको सम्झौता अनुसार तलब भुक्तानी गर्न पनि समस्या भइरहेको उनको भनाई छ। प्रतिष्ठानले टेन्डर आह्वान गरे पनि निर्णय नगर्दा कर्मचारीलाई तलब खुवाउन बाध्य भएको बताए ।
फार्मेसिष्टहरुले उनीहरूलाई ठेकेदारले हेल्परको रूपमा काम लगाउँदै आएको बताएका छन् । तर, सेक्युरिटीका सञ्चालक साहले भने उनीहरूलाई सहायक फार्मेसिष्टकै पदमा नै राखेको बताए । उनका अनुसार महिनामा २६ दिन काम गर्नु पर्ने बढी काम गरेमा थप सुविधा दिइएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा.अरुणकुमार सिंहले फार्मेसीमा कार्यरत फार्मेसिस्टहरु प्रतिष्ठानसँग सम्बन्धित नभएको बताए । उनले केटिएम सेक्युरिटीले फार्मेसिष्टहरुको तलब भुक्तानी गर्नुपर्ने बताए ।
तलब नपाएको भन्दै काम बहिस्कार गरेका फार्मेसिष्टहरुले सोमवार तलबका लागि पहल गरिदिन धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघालाई अनुरोध गरेका छन् ।
उपमहानगरपालिका पुगेका १८ जना फार्मेसिष्टहरुलाई उपमेयर बेघाले सम्बन्धित पक्षसँग समन्वय गरेर पहल गरिदिने वचन दिएका छन् । फार्मेसिष्टहरुलाई बिपीको मातहत ल्याउन बिपीसँगै छुट्टै पहल गर्नुपर्ने आवश्यकता रहेको उपमेयरले बताए ।