तीन महिलालाई भिजिट भिसामा दुबई उडाउन पुगेका व्यक्ति विमानस्थलबाटै पक्राउ
काठमाडौं । नेपाली महिलालाई भिजिट भिसामा दुबई पठाएर मानव तस्करी गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रुपन्देहीको कन्चन गाउँपालिका- ३ का ४६ वर्षीय भविलाल थापा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ४ की ३४ वर्षीया बबी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर दुबई पठाउन लागेको अवस्थामा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबई पुगेपछि घरेलु कामदारका रुपमा काम पाइने आश्वासन थापाले दिएका थिए ।
बबी श्रेष्ठले सेटिङ मिलाउने गरेको बयान थापाले दिएपछि उनी पनि पक्राउ परेको प्रहरीको दाबी छ । उनीहरुमाथि आवश्यक अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ ।