सार्वजनिक जग्गामा बनाइएका संरचना खाली गर्न वीरेन्द्रनगरमा डोजरसहितको टोली परिचालन
सुर्खेत । सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्न डोजरसहितको टोली परिचालन गरिएको छ ।
समितिको जग्गामा बनेका संरचना भत्काउन सार्वजनिक सूचना निकालेरअनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजरसहित टोली परिचालन गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन र घण्टाघर क्षेत्रमा क्षेत्रमा नगरपालिकाले टोली खटाइएको छ ।
नगर विकास समितिको जग्गामा व्यवसाय गर्दै आएका व्यवसायीहरूले मंगलबार वीरेन्द्रनगर नगरपालिकाको मूल गेटमा संरचना भत्काउने निर्णयको विरुद्धमा नाराबाजी गरेका थिए । ३५ दिने सूचनाको म्याद सकिएपछि व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने निर्णय लिनु परेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
सुर्खेत उपत्यका नगर विकास समितिले माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरुलाई आफ्ना संरचना भत्काएर ठाउँ खाली गर्न अनुरोध गरेको थियो ।
नगरपालिकाले निकालेको सुचना फागुन २३ गते सकिएको हो । त्यसपछि मंगलबार (हिजो) सम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरु संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए ।
सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा वर्षैदेखि अवैध भोग चलन गर्दै आएका थिए ।