टीम चयनमै चुकेको नेपाल : फास्ट बलरको भिड, रेगुलर स्पिनर शून्य
काठमाडाैं । मामुली ठानिएको पीएनजीविरुद्ध फराकिलो हार व्यहोर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि गुमाएको छ । फाइनलमा खराब प्रदर्शन गरेको नेपालले ८६ रनको हार स्वीकार्न बाध्य भयो ।
यसअघि समूह चरणमा नेपालले पीएनजीमाथि सहज जित दर्ता गरेको थियो । त्यसको बदला पीएनजीले फाइनलमा लियो । भलै, नेपालले आफ्नो पहिलो रोजाइको टिम खेलाएको थिएन र केही सिनियर खेलाडीहरू अनुपस्थित थिए, तर यो हारको आयतनले नेपाली क्रिकेटको कमजोरी नराम्ररी पोखिएको छ ।
आजको हारमा सबैभन्दा ठूलो दोष प्लेइङ ११ को चयनलाई नै दिन सकिन्छ । प्रयोगमाथि प्रयोग गर्ने क्रममा फाइनलमा नेपालले सबैभन्दा खराब प्रयोग गर्दै एक जना पनि विशेषज्ञ स्पिनर खेलाएन । जबकि फास्ट बलरहरू ६ जना थिए । नेपालको स्पिन बलिङ पार्ट टाइमर कुशल भुर्तेल र कप्तान रोहित पौडेलमा निर्भर रह्यो । फास्ट बलिङ तर्फ करण केसी, आकाश चन्द, प्रतिश जिसी, गुल्शन झा, विवेक यादव र आरिफ शेख गरी ६ जना खाँदियो । आरिफले भने बलिङ गर्न पाएनन् ।
यो सिरिजमा नेपालले दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, कुशल मल्ल र अनिल शाहलाई विश्राम दिएको थियो । उनीहरूको ठाउँमा युवा खेलाडीहरूले अवसर पाए । नेपालको बेन्च स्ट्रेन्थ बलियो बनाउन क्यानको यो सोच सही नै हो । तर, टिमको सन्तुलन मिलाउनमा नेपाल चुक्यो । ललित, कुशल र दीपेन्द्रलाई एकसाथ विश्राम दिँदा नेपालको स्पिन आक्रमण कमजोर बन्नु स्वभाविक हो ।
टीममा विशेषज्ञ स्पिनरका रूपमा सागर ढकाल थिए । अनुभवको कमी भए पनि उनी प्रतिभाशाली स्पीनर नै हुन् । तर, उनलाई प्रशिक्षक–कप्तानले विश्वास गरेनन् । बरु विशेषज्ञ स्पिनरबिनै नेपाल उत्रियो । जबकि कुशल भुर्तेलजस्ता पार्ट टाइम स्पिनरले अघिल्लो म्याचमा चार विकेट लिँदै नेपाललाई जिताएका थिए । आज पनि उनले उत्कृष्ट बलिङ गरे । रोहित आफैँले पनि दुई किफायती ओभर फ्याकेका थिए । यदि नेपालसँग तेस्रो क्वालिटी स्पिनर हुन्थ्यो भने पीएनजी डेढ सय रनभित्रै समेटिन सक्थ्यो र नतिजा अर्को आउन सक्थ्यो ।
त्यसो त कप्तान रोहितले आफैँलाई दुई ओभर मात्रै बलिङ गराउनु पनि महँगो पर्यो । उनले कसिलो बलिङ गरिरहेका थिए । थप दुई ओभर गरेको भए ब्याट्सम्यानलाई रनको प्रेसरमा पारेर विकेट लिन सक्थे । तर, फास्ट बलरलाई नै उनले विश्वास गरे । जबकि सबैलाई थाहै छ कि नेपालको फास्ट बलिङ कठिन प्रतिस्पर्धामा सहजै डगमगाउने गर्छ । फास्ट बलिङले नेपाललाई कमै खेल जिताएका छन् । धारिलो फास्ट बलरको अभाव आजको म्याचमा पनि खट्कियो ।
फास्ट बलरले राम्रो सुरुवात नदिलाएका होइनन् । करण केसीले पहिलो ओभरमै विकेट लिए । आकाश चन्दले रन खाए पनि दुई विकेट लिएर पीएनजीलाई ब्याकफुटमा धकेलेका थिए । तर, बीचका ओभरहरूमा गुल्शन झा, प्रतिश जिसी र विवेक यादवले फितलो बलिङ गर्दै पीएनजीलाई खेलमा फर्किने मौका दिए । रेगुलर विकेट लिए पनि फास्ट बलरहरूले लगातार बाउन्ड्रीको अवसर दिइरहे । फलतः पीएनजीले बलियो स्कोर खडा गर्न सक्यो ।
यद्यपि, १७२ रनको विजय लक्ष्य दूरु थिएन । सम्हालिएर खेलेको भए नेपालले भेट्टाउन सक्थ्यो । तर, कुनै पनि ब्याट्सम्यान क्रिजमा धेरै बेर टिक्न सकेनन् । सन्दीप जोराले बनाएको १७ रन नै सर्वाधिक व्यक्तिगत स्कोर थियो । कुनै पनि क्षण नेपालले खेलमा फर्किने संकेत देखाएन । एउटा पनि बलियो पार्टनरसीप हुन सकेन ।
युवा खेलाडीहरूको बाहुल्यता रहेको अवस्थामा कप्तान रोहितसहित कुशल भुर्तेल, आरिफ शेख, गुल्शन झाले जिम्मेवारी लिएर खेल्नुपर्थ्यो । तर, उनीहरू पनि फ्लप भए ।
यो ठूलो महत्वको प्रतियोगिता थिएन । तर, पनि विदेशी भूमिमा त्रिकोणात्मक सिरिजको उपाधि जित्नुको बेग्लै गरिमा हुन्थ्यो, जसबाट नेपाल चुकेको छ ।