स्वीकृति नलिइ खेलाडीसँगै मलेसिया जाने एन्फा उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन – Nepal Press

स्वीकृति नलिइ खेलाडीसँगै मलेसिया जाने एन्फा उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन

हेटौँडा । विश्वकप फुटबल छनोटको तयारी स्वरुप मलेसियासँग मैत्रीपूर्ण खेलको लागि आज प्रस्थान गरेको टोलीमा एन्फा उपाध्यक्षसहित १० जना गएको भन्दै खेलकुद मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको छ ।

आज राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए ।

एन्फाको टोलीमा उपाध्यक्ष दीपक खतिवडा, एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर एन्फाका जिल्ला सदस्यहरू सुनील लोप्चन, बुद्धिबहादुर गुरुङ, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र भरत घिमिरे अफिसियलको रुपमा र ज्ञानबहादुर राईलाई किट व्यवस्थापको रुपमा मलेसिया गएपछि मन्त्रालयले कारबाहीको लागि निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा गएका अफिसियल तथा एन्फा पदाधिकारीसहित सदस्यलाई कारबाहीको निर्देशन दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूहबाहेक १० जना अनावश्यक व्यक्तिहरुसमेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैरफुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’

प्रवक्ता रेग्मीको अनुसार राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर १० जनाका लगि स्वीकृति नलिएको जानकारी प्राप्त भएको कारण उनीहरुलाई कारबाहीको निर्देशन गरिएको हो ।

मलेसिया गएका १० जनालाई कानूनबमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई मन्त्रालयले निर्देशन समेत दिइएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वकप फुटबलको तयारी स्वरुप नेपाली फुटबल टिमले चैत्र २ गते मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ । प्रतियोगिताको लागि अनाधिकृत रुपमा १० जना एन्फा प्रतिनिधिहरु आज मलेसिया गएपछि मन्त्रालयले कारबाहीको निर्देशन दिएको हो ।

नेपालले विश्वकप तथा एसिया कप छनोट अन्र्तगत चैत ८ र १३ गते बहराईनसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *