श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न सहसचिव रिजालको संयोजकत्वमा समिति गठन – Nepal Press

श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न सहसचिव रिजालको संयोजकत्वमा समिति गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका प्रवक्तासमेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले नेपाल प्रेससँग बताए । तत्कालिन गठबन्धन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी आइसकेपछि वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विवाद देखिएको छ ।

पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अङ्ग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बीच इ–सेभन भिसामासमेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएपछि २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयले समिति गठन गरेर गरेको हो ।

प्रतिवेदन पेश गरेसकेपछि मन्त्रालयबाट भएका विवादित निर्णयको समीक्षा गरेर आवश्यक निर्णय गरिने श्रममन्त्री अर्यालले बताए ।

समितिको सदस्यमा मन्त्रालयका उपसचिव मेघनाथ रिमाल र मन्त्रालयकै शाखा अधिकृत प्रकाश पन्थी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर