बदलिएको राजनीति बन्नसक्छ अवसर – Nepal Press

बदलिएको राजनीति बन्नसक्छ अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५७ मत प्राप्त गर्दै पुनः सरकारको नेतृत्व गरेका छन् । पृष्ठभूमिमा दृश्य वा कारण जे भए पनि प्रजातान्त्रिक प्रणालीको पूर्ण रुपमा अभ्यास भएको छ । वैचारिक आधार एउटै भएका कम्युनिष्टहरु एक ठाउँमा उभिएका छन् । हुन त राजनीतिक विचार र कार्यदिशाले देश विकास र समृद्धिमा असर गर्ने वा फरक पर्ने त होइन । तर, वैचारिक रुपमा बलियो सरकारको बलले विकासमा सघाउँछ भन्ने राजनीतिक सिद्धान्त छ ।

सहकार्यको विगत

अर्कोतर्फ बृहत कम्युनिष्ट एकता र कार्यदिशा बोकेर करिब आठ वर्ष पहिला २०७४ साल जेठमा नेपालको ठूला कम्युनिष्ट दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका थिए । त्यस एकताले उसका शुभचिन्तकलाई पक्कै पनि ऊर्जा मिलेको थियो नै । नागरिकहरुले पनि अल्झनविना विकास हुने आशा राखेका थिए । यसले निर्वाचनमा बलियो जीत हात पार्नेदेखि कम्युनिष्टमुखी सरकार निर्माणमा पनि सहयोग गरेको थियो ।

विभिन्न आन्तरिक मतभेद, नेतृत्वहरुबीचको अविश्वास, केही कार्यदिशामा देखिएको असहमति र कानूनी जटिलताका कारण ठूला कम्युनिष्ट एक भएको केही समयमै २०७७ सालको मध्यतिर फेरि एकताबाट अलग्गिएर आआफ्नो पुरानो दलीय हैसियतमा आएका थिए । यसरी हुने क्रममा करिब साढे सात दशक सँगै नेतृत्वमा प्रणालीअन्तर्गत नेतृत्वमा रहेका नेकपा एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालले पार्टीलाई फुटाएका थिए । त्यस फुट वा विभाजनलाई विभिन्न कोणबाट विश्लेषण गर्न वा व्याख्या गरिएको छ । छुट्टिएर जाने माधवकुमार नेपालहरुले विद्रोह गरेका भनेका छन् भने एमालेमै रहनेले फरक । यसरी कम्युनिष्टहरूले पुनः अलग अलग चुनाव लड्ने र जनतामा जाने बाटो निर्माण गरेका थिए । यसैबीच नेपालमा स्थानीय निकाय र संघीय फरक निर्वाचन पनि भएका छन् ।

निर्वाचनमा देखिएको कम्युनिष्ट हैसियत

हो, यसरी विभाजनपश्चात अलग भएका यी तीन पार्टीले आफ्नो राष्ट्रिय पार्टीको हैसियतमा तिनै तहको निर्वाचनमा भाग लिए । जनताको मत पनि पाए । तर, फरक के थियो भने कांग्रेस, नेकपा माओवादी र एमालेबाट विद्रोह गरी बनेको पार्टी नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धन एकातिर थियो भने अर्कोतर्फ नेकपा एमाले कतिपय ठाउँमा एकल त कतिपय ठाउँमा जनता समाजवादी पार्टी र राप्रपालगायतसँग सहकार्य गरेर निवार्चन लड्दा स्थानीय निकायमा प्राप्त मत र निर्वाचित प्रतिनिधिको हिसाबले छुट्टाछुट्टै राखेर मूल्याङ्कन गर्दा कम्युनिष्टहरुमध्ये एमालेले केही हार व्यहोर्नु परेको थियो ।

गठबन्धन जसरी वा जुन बाध्यता र परिस्थितिले बनेको भए पनि केही समय पहिला अलग भएका कम्युनिष्ट पार्टी र तिनका नेताहरु कार्यकारी कोणबाट एक ठाउँमा उभिएका छन् । तीक्तताबीच रहेका माधवकुमार नेपाल र केपी ओली पनि सत्ताको वार्ता र संवादमार्फत एक ठाउँमा उभिएका छन् ।

भर्खरै जन्मिएको नेकपा एकीकृत समाजवादीले चाहिँ स्वाभाविक विजयी हासिल गरेको थियो । माओवादीले पनि आफ्नो स्थान सुरक्षित गर्ने राम्रै ल्याकत राखेको थियो । यी दुई कम्युनिष्ट पार्टीको जनमतमात्र हेर्ने हो भने पनि गत वर्षको संघीय निर्वाचनमा करिब ४८ प्रतिशत मत प्राप्त गरेका थिए । जसमा नेकपा एकीकृत समाजवादीको प्राप्त मतलाई जोडिएको छैन । यसरी हेर्दा नेपालमा कम्युनिष्टहरूको जनाधार अझै बलियो छ भन्ने देखाउँछ ।

नयाँ बनेको राजनीतिक दृश्य

यसरी त्यसबेला छुट्टिएका यी तीन शक्तिशाली नेता पुनः सत्ता र सत्ता साझेदारीको हैसियतमा पुरानो कांग्रेससहितको गठबन्धनलाई विश्राम दिएर नेपालको राजनीतिमा नयाँ कोर्स निर्माण गर्ने ठाउँमा उभिएका छन् । सरसर्ती हेर्दा यसरी गठबन्धनमा हाल समावेश भएका दलका नेतृत्वहरु विचार र उद्देश्य अनि लक्ष्य एउटै बोकेकाहरु हुन्, भलै कार्यदिशा फरक भए पनि । यीमध्ये कम्युनिष्ट पार्टीको भन्दा फरक देखिएको दलका नेता उपेन्द्र यादव पनि कम्युनिष्ट विचार र सिद्धान्तकै राजनीतिक अभ्यासबाट उदाएका नेता हुन् ।

गठबन्धन जसरी वा जुन बाध्यता र परिस्थितिले बनेको भए पनि केही समय पहिला अलग भएका कम्युनिष्ट पार्टी र तिनका नेताहरु कार्यकारी कोणबाट एक ठाउँमा उभिएका छन् । तीक्तताबीच रहेका माधवकुमार नेपाल र केपी ओली पनि सत्ताको वार्ता र संवादमार्फत एक ठाउँमा उभिएका छन् । नयाँ गठबन्धन सही वा गलत हुन त विकास र समृद्धि अनि सुशासनको लागि विकास र राजनीतिक सिद्धान्तले स्थायी अद्यावधिक राजनीतिक सत्ता खोज्छ । तर, नेपालमा २०४६ सालपछि देखि नै यो अवसर प्राप्त गर्न सकेको छैन नेपाली राजनीतिक संस्कार र विकास अवधारणाले । यसको मतलब विकास वा अनुकूल परिवर्तन भएको छैन भन्ने चाहिँ होइन । हुनसक्छ, सोचे जति वा हुन पर्ने जति नभएको हुनसक्छ ।

आर्थिक वा नीतिगत कार्यान्वयन र वैदेशिक सम्बन्ध विस्तार र स्थापना अनि स्थायित्वको दृष्टिकोणबाट पनि यसरी हुने राजनीतिक बदलाव सुहाउने र व्यहोर्न सक्ने कुरो हुँदै होइन । तर, जसरी एकाएक सत्ता वातावरण परिवर्तन भएको छ । यसले राजनीतिक विचार समान भएकालाई एक ठाउँमा उभ्याउने काम भने पक्कै गरेको छ । यसको मतलब फेरि यो होइन कि कम्युनिष्ट इतरका विचार समृद्धि र स्थायित्वका लागि सही छैन ।

यो गठबन्धनलाई विकास र समृद्धि अनि जनभावनाको कोणबाट लाभदायक बनाउन सकिने अवस्था सृजना गर्नुपर्छ । यो गठबन्धनको सरकार सामेल दल र तिनका नेता लागे भने पक्कै पनि यो गठबन्धन सही सावित हुनेछ ।

यहाँ भन्न खोजिएको के हो भने यदि काम गर्नसक्ने हो भने विचार र मुद्दा मिल्नेहरु एक ठाउँमा उभिएर काम गर्दा सहज हुन्छ भन्ने राजनीतिक अपेक्षा हो । त्यसैले यो गठबन्धनलाई विकास र समृद्धि अनि जनभावनाको कोणबाट लाभदायक बनाउन सकिने अवस्था सृजना गर्नुपर्छ । यो गठबन्धनको सरकार सामेल दल र तिनका नेता लागे भने पक्कै पनि यो गठबन्धन सही सावित हुनेछ । किनभने कुनै पनि सरकारको सफलता र असफलता सुशासन, विकास, समृद्धि र न्यायिक समाज निर्माणको आधारले गर्ने हुनाले यस गठबन्धनको औचित्य त्यहीबाट पुष्टि हुन्छ ।

सही छन् त नेताहरु ?

आजसम्म राजनीतिले नेपालीको मन जित्न सकेको छैन । मतलब राजनीति जनताको लागि विश्वासिलो बन्न सकेन भन्ने गुनासो आइरहेको छ । किनभने जनताले राजनीतिबाट खोजेको आर्थिक, सामाजिक, राजनीतिक पाकोपना नपाएको महसुस पक्कै गरेकै छन् । जनतालाई लागेको के छ भने यसको कारक भनेकै दलका नेताहरु हुन् । केही हदसम्म यो साँचो पनि हो ।

तर, यसो भन्दैमा नेपालको राजनीतिमा यी नेताहरुको औचित्य सकियो भनेर बहस गर्न पनि हतार नै हुन्छ । किनभने यदि अबका दिनमा गल्ती वा कमजोरीको महसुस गरेर अगाडि बढ्ने हो भने मुलुकमा समृद्धि ल्याउन कठिन छैन । अहिले नेताहरुले उचित गरे भनेर भन्दा अनुपयुक्त नहोला । किनभने विकास, स्थायित्वका लागि कार्यक्रम र विचार मिल्नुपर्छ । यसको हकमा यो मान्यता राख्ने दलहरु एक ठाउँमा उभिएका छन् । यदि सम्भव छ भने यो गठबन्धनलाई भोलि कार्यगत एकता वा दलीय एकतासम्म लैजाँदा देशले राजनीतिक र आर्थिक रुपमा फाइदा नै पाउर्नछ । हिजो सात दशक पुरानो सम्बन्ध बोकेर कम्युनिष्ट आन्दोलनमा नेतृत्व गरेका नेताहरु पुनः एक हुने हो भने नेपालको राजनीतिक वातावरण परिपक्व बन्नेछ ।

देशलाई कसरी हुन्छ फाइदा ?

सतहमा हेर्दा गठबन्धन बदलिएको, कुनै पार्टी सरकार बसेको वा कुनै प्रतिपक्षमा उभिएको देखिए पनि अद्यावधिक निर्वाचन प्रक्रिया र प्रजातान्त्रिक मूल्यलाई अनुसरण गर्ने पार्टीहरु नै नेपालमा भएकाले यसलाई सामान्य रुपमै लिनुपर्छ । किनभने निर्वाचनमा भाग लिएका सबै दल एकै पटक सरकारमा सहभागी हुने परिकल्पना यो प्रणालीले गरेको छैन । त्यसैले सरकारमा रहन पुगेका दलले देशको विकास र समृद्धितर्फ ध्यान दिने र प्रतिपक्षमा रहेका दलले रचनात्मक भूमिका निभाइ असल प्रतिपक्ष बन्ने प्रयास गर्नुपर्छ । समग्रमा भन्नुपर्दा देशको दोस्रो ठूलो जनमत पाएको दल एमालेका प्रमुख नेताले देखाएको यो राजनैतिक लचकता पक्कै पनि महत्वपूर्ण नै छ । यो राजनीतिक बदलावलाई अनावश्यक रणनीतिक रुपमा प्रयोग गर्न नभइ हिजो छुट्टिएको शक्तिलाई एक गर्ने गरी अगाडि बढ्न सक्दा सम्बन्धित दललाई त फाइदा होला नै भने नेपालीलाई पनि धेरै दल सम्हाल्नुपर्ने बाध्यता हटेर विकास र समृद्धिमा निश्चित केही दललाई मात्र जिम्मेवार बनाएर अनि अनुमोदन गर्ने अवसर मिल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *