मिर्गौलालाई कसरी बचाउने ? – Nepal Press
विश्व मिर्गौला दिवस

मिर्गौलालाई कसरी बचाउने ?

डायलायसिसभन्दा प्रत्यारोपण नै उपयुक्त

काठमाडौं । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताएका छन् । विश्वमा कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोहीअनुसार नेपालमा पनि करिब ३० लाख जनालाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग रहेको उनी सुनाउँछन् ।

उनका अनुसार नेपालमा तीन लाख जनाको मिर्गौला बिग्रिन थालेको, ३० हजार जनाको नराम्रोसँग बिग्रिसकेको र तीन हजार जना मिर्गौला रोगको अन्तिम चरणमा रहेका छन् । ती तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलायसिस गरेर मात्र उपचार सम्भव रहेको काफ्ले बताउँछन् ।

सरकार मिर्गौला रोगको उपचारमा केन्द्रित भए पनि महँगो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न नसकेको उनको भनाइ छ । सरकारले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र प्रत्यारोपण गर्ने गरेको छ । साथै डायलायसिस र मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक रु पाँच हजारसमेत दिने गरिएको छ ।

‘सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलायसिस निःशुल्क पुर्‍याएको छ । हामी उपचारमा केन्द्रित भएका छौँ, तर रोकथाम भएन । अहिले बर्सेनी ८ हजारले डायलायसिस गर्ने गरेका छन्’, उनले भने ।

मिर्गौला बिग्रेको कसरी थाहा पाउने ?

डा. काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि र रगतमा क्रिएटिनिन बढ्यो भने मिर्गौला बिग्रने गर्दछ । मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम गर्छ । मिर्गौलाले शरीरबाट नचाहिने तत्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला बिग्रेको भन्ने बुझिन्छ ।

अधिकांश व्यक्ति मिर्गौला बिग्रेपछि मात्र उपचार गर्न आउने गरेको उनले बताए ।

‘सुरूको अवस्थामा मिर्गौला बिग्रेको बिरामीलाई थाहा हुँदैन, जब मिर्गौला बिग्रिसकेको हुन्छ अनिमात्र बिरामी अस्पतालमा आउने गर्दछन् । मिर्गौलाको सुरूको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ’, काफ्ले भन्छन् । वर्षमा एकपटक अनिवार्यरूपमा पिसाब परीक्षण गराउन सबैलाई उनको सुझाव छ ।

मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार

मिर्गौला बिग्रेपछि डायलासिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त हुने चिकित्सकहरूको भनाइ छ । डायलायसिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई/तीन पटक गर्नुपर्ने हुन्छ । त्यसले गर्दा महँगो पर्न जान्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्ने र जीवन पनि सहज हुन्छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलायसिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त रहेको बताउँछन् ।

केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । केन्द्रले अहिलेसम्म एक हजार दुई सय १६ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको श्रेष्ठले बताए । वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरू गरेका हुन् । केन्द्रमा अहिले दैनिक एक सय ४० जनाको डायलायसिस हुने गरेको छ ।

निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न १२ देखि १८ लाख लाग्ने गरेको छ । निजी अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मिर्गौला रोगबाट बच्नु रहेको छ । माछा, मासु, दूध र दही कम खाने, असन्तुलित खानेकुरा नखाने, दैनिक १० हजार पाइला हिँड्ने, प्रशस्त पानी र सागसब्जी खानुपर्ने सुझाव उनको छ । यस्तै अत्यधिक मात्रामा दुखाइका औषधि (पेन किलर) प्रयोगले पनि मिर्गौलालाई असर गर्दछ ।

लक्षण

डा. काफ्लेका अनुसार पिसाबको मात्रा घट्नु, अनुहार र आँखाका डिल सुन्निनु, शरीर सुन्निनु, पिसाबको मात्रा, गन्ध र रङमा परिवर्तन आउनुजस्ता समस्या देखिए मिर्गौलामा समस्या देखिएको हुनसक्छ । यस्तै सुरुमा थकान महसुस हुने, रगतको कमी हुने, वाकवाकी लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्ने समस्या हुनेजस्ता मिर्गौला खराबीका लक्षण हुन् ।

बच्ने उपाय

काफ्लेका अनुसार प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने गर्नु पर्दछ । मिर्गौलामा रोग लाग्न नदिन नियमितरूपमा मधुमेह तथा पिसाब परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिवायोटिक औषधि खानु हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर