हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउन मान्यता – Nepal Press

हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउन मान्यता

काठमाडौं । काठमाडौंस्थित हिमालयन ह्वाइटहाउस स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउन मान्यता प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय ब्याकलरेट बोर्डबाट यसै साता प्राथमिक तहदेखि कक्षा ५ सम्मको मान्यता पाएको र कक्षा ६ देखि १० सम्मको परीक्षण अवधि चलिरहेको विद्यालयले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय ब्याकलरेट (आईबी) भनिने यो पाठ्यक्रम सन् २००९ बाट नेपालमा पढाउन थालिएको हो । यस पाठ्यक्रमले पढाई बाहेक विद्यार्थीहरुमा सोचाई, अनुसन्धान, सञ्चार कौशल, आत्म व्यवस्थापन र सामाजिक सीपहरू प्रदान गर्ने विद्यालयले बताएको छ ।

विद्यालयका अध्यक्ष युवराज शर्माका अनुसार अन्तर्राष्ट्रिय ब्याकलरेट बोर्डबाट यसअघि दुई पटक विद्यालयको अनुगमन गरिएको थियो ।

विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाई विधि, विद्यार्थी सिकाई उपलब्धि राम्रो रहेको, आइबीको सिद्धान्तको परिपालना गरिएको र विद्यालयले प्रदान गर्ने सुविधाहरूको मूल्याङ्कन राम्रो देखिएको भन्दै बोर्डले आईबी मान्यता दिएको शर्माले जानकारी दिए ।

आईबी मान्यता प्राप्त भएका सन्सारका सबै विद्यालयहरूको पाठ्यक्रम एकै किसिमको हुने र विद्यार्थीहरूमा खोज अनुसन्धान गर्न र जिज्ञासा बढाउनका साथै विद्यार्थीको ज्ञान सीप र धारणा समेत अभिवृद्धि गर्न यस कार्यक्रमले पहल गर्ने शर्माले जानकारी दिए ।

विश्वभरि १ सय ६० बढी देशका झण्डै १० हजार विद्यालयहरूमा यो कार्यक्रम सञ्चालित छ । ती देशहरूमा तीन देखी १९ वर्ष उमेर समूहका झण्डै २० लाख विद्यार्थीहरु यस कार्यक्रममा आबद्ध रहेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर