इटहरीमा पत्रकारमाथि नगर प्रहरीको दुर्व्यवहार – Nepal Press

इटहरीमा पत्रकारमाथि नगर प्रहरीको दुर्व्यवहार

इटहरी । समाचार संकलनको क्रममा इटहरी उप महानगरपालिका परिसरमा पुगेका पत्रकार कृष्ण बहावको मोबाइल खोस्दै नगर प्रहरीले दुर्व्यवहार गरेका छन् ।

सिटी सफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा इटहरी उप महानगरका नगर प्रहरीले शिला पत्र डटकममा कार्यरत पत्रकार बहाबको क्यामरा खोस्दै दुर्व्यवहार गरेका हुन् ।

बहावले पत्रकार भनेर परिचय पत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले हातपात समेत गरेको पत्रकार बहावले बताए । उनले हिजो मात्रै शिला पत्र डटकममा अदालतको मुद्दा जित्न बनाइयो किर्ते कानून इटहरीको शिक्षा ऐनमा पालिकाबाटै चलखेल भन्ने समाचार लेखेका थिए ।

यसैबीच पत्रकार बहावमाथि भएको दुर्व्यवहार र हातपातको नेपाल पत्रकार महासंघ सुनसरीले विरोध गरेको छ । यस्तै, प्रेस चौतारी सुनसरीले पनि पत्रकारहरूको लेख्न र बोल्न पाउने हक सुरक्षित गर्न इटहरी उपमहानगरपालिकासँग माग गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका सचिव ध्रुव ढकालले विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी तत्काल कानूनी कारबाही गर्न माग गरेका छन् ।

जारी विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्बाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । विज्ञप्तिमा रिपोर्टिङ गर्ने सिलसिलामा इटहरी उपमहानगरपालिकाको गेटै अगाडि नगर प्रहरीहरूबाट मोबाइलसमेत खोसेर दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस्तै प्रेस चौतारी सुनसरीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलन गर्नुको विकल्प नभएको जनाएको छ । विज्ञप्तिमा दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा रिपोर्टिङ गर्दै गर्दाको समयमा नगरप्रहरीहरुले पत्रकार बहावलाई रोकेर मोबाइल खोस्ने, धकेल्ने, कुट्ने र पत्रकार हुँभन्दा भन्दै पनि ‘पत्रकार होस्, ठेगानमा बस् नभए ठेगान लगाइदिउँला भन्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरंकुश शैलीमा हस्तक्षेप र आक्रमण हुनु अत्यन्त निन्दनीय र लोकतन्त्रप्रतिकै आक्रमण भएको उल्लेख छ ।

यसैबीच इटहरीका मेयर हेमकर्ण पौडेलले बहावमाथि भएको दुर्व्यवहारको छानबिन गर्ने बताएका छन् । घटनापछि सामाजिक सन्जालमा लेख्दै छानबिन गर्न कानून शाखाका प्रमुख कमल पोखरेलको संयोजकतत्वमा सदस्यीय छानबीन समिति समेत बनाएको बताएका छन् ।

उनले घटना कुनै नियोजित नभएको सम्पूर्णमा जानकारी गराउँदै घटनामा सत्य तथ्य गरि दोषी देखिए कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘इटहरी उपमहानगरपालिकाको गेटमा नगर प्रहरी र सिटिसफारी चालकहरुबीच भएको विवादको क्रममा पत्रकार कृष्ण भट्टराईमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै घटना उपर म सधै लोकतान्त्रिक मुल्य मान्यता, प्रेस स्वतन्त्रता, न्याय र पत्रकारिताको पक्षमा छु । पत्रकारलाई सुरक्षाको प्रत्याभूति सदैब लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर