खेलकुदमन्त्रीलाई अशिम शाहको प्रश्न- विदेश पलायन भएका खेलाडी फर्काउने तयारी के हुँदै छ ? (भिडिओ)
काठमाडौं । रास्वपा सांसद अशिम शाहले आफूहरूको आसन परिवर्तन भए पनि भाषण परिवर्तन नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै हिजो प्रतिपक्षमा रहेका आफूहरू आज सत्तापक्षमा आइसकेको बताए ।
उनले भने- हाम्रो आसनहरू परिवर्तन भए पनि हाम्रो भाषण परिवर्तन हुने छैन । चाहे सत्तापक्ष रहौँ या प्रतिपक्षमा, हामी जनताको पक्षमा आवाज नै उठाइरहने छौँ । उत्तर दिने ठाउँमा हाम्रै साथीहरू भए पनि हामी निरन्तर खबरदारी गर्ने नै छौं । प्रतिपक्षले पनि गर्नुहोला तर मर्यादित रूपमा ।
उनले खेलकुद मन्त्रीलाई अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडी बाहेकका एन्फा पदाधिकारीलाई कारबाहीको निर्देशन दिएकोमा धन्यवाद दिए ।
उनले प्रश्न गर्दै भने- दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको पछाडि कसको कमजोरी भयो ? टियु क्रिकेट ग्राउन्डमा फ्लड लाइट र स्कोर र्बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन हुँदै गएकोमा उनीहरूलाई रोक्ने फर्काउने तयारी के हुँदै छ ?
संसारमा ई-स्पोर्टले फड्को मारिसकेको भन्दै उनले देशमा ई-स्पोर्टलाई अगाडि लान ढिला गर्न नहुने तर्फ सरकारको ध्यानाकर्षण गराए ।