दुग्ध किसानको बक्यौता तिर्न तत्काललाई ३० करोड निकासा गर्दै अर्थमन्त्रालय
काठमाडौं । दुग्ध किसानको बक्यौता भुक्तानीको प्रक्रिया अघि बढेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।
निर्देशनअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द शर्मा र पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए ।
आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।
“किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ”, पुनले निर्देशन दिँदै भने ।
अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालू आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थमन्त्रालयसँग छलफल भएको थियो । दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने सहमति भएको उनले बताइन् । लामो समयदेखि सरकारले दूधको बक्यौता भुक्तानी नगरेपछि किसान आन्दोलित छन् । हाल यो रकमले केही राहत विश्वास मन्त्री साहले गरेकी छन् ।
अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयबीच पशुपन्छी बिमावापतको ४८ करोड भुक्तानी दिने सहमति पनि बनेको छ ।