गठबन्धनको भारीबाट मुक्त भएको कांग्रेसलाई १२ बुँदे ब्रिफिङ – Nepal Press

गठबन्धनको भारीबाट मुक्त भएको कांग्रेसलाई १२ बुँदे ब्रिफिङ

नेपाली कांग्रेस समाजलाई लोकतान्त्रीकरण गर्दै देश र आम नेपालीको समुन्नतिसँगै आधुनिक र सभ्य बनाउन स्थापना भएको पार्टी हो । अनेक बाधा अड्चनसँग संघर्ष गर्दै आएको कांग्रेससँग साढे सात दशकको गौरवपूर्ण इतिहास छ । यो गौरवपूर्ण ऐतिहासिक यात्रामा नेपाली कांग्रेस आम नेपालीको मन, मुटु र हृदयमा मात्र नभई मस्तिष्क र जनजीवनमा समेत बलियोसँग जोडिनुपर्ने थियो । तर, लोकतान्त्रिक गणतन्त्रको स्थापना र विकासको माध्यमबाट नेपाल र नेपालीको समग्र पक्षको रुपान्तरणको लागि निरन्तर समर्पित कांग्रेस जस्तो लोकतान्त्रिक दलले वैचारिक र सांगठनिक रुपमा सम्भावनायुक्त क्षमताको प्रयोग गरेको देखिएन । यसका पछाडि नेपाली कांग्रेसका आफ्नै आन्तरिक कारण र कमी कमजोरी रहेका छन् । कतिपय बाह्य कारण पनि रहेको देखिन्छ ।

यस सन्दर्भमा नेपाली कांग्रेसले आफ्नो गौरवमय राजनीतिक तथा सांगठनिक इतिहासलाई भुल्न हुँदैन । लोकतान्त्रिक गणतन्त्रको विकास एवं नेपाल र नेपालीको समुन्नतिको लागि नेपाली कांग्रेसको विकल्प छैन भन्ने वातावरण, कार्यशैली र जीवनशैली निर्माण गर्न आवश्यक छ । यसका लागि सडक र सदनमा नेपाली कांग्रेसले उठान गर्नुपर्ने विशिष्ट राजनीतिक तथा सामाजिक मुद्दाहरु छन् ।

पहिलो- नेपाली कांग्रेसले देशको विकास तथा रुपान्तरणको लागि आवश्यक सुशासन कायम गर्दै नागरिकलाई सहज र सरल सेवा सुविधा प्रदान गर्ने राज्य संयन्त्रलाई उत्तरदायी बनाउने र आवश्यक तहगत समन्वयकारी संयन्त्र निर्माण गर्ने कार्यमा आफूलाई केन्द्रित गर्नुपर्छ ।

दोस्रो- स्तरीय र स्थिर विकास र सुशासनको बाधक भ्रष्टाचारको अन्त्य हो । यसको लागि नेपाली कांग्रेसले आफू र आफ्ना कार्यकर्ताहरुलाई इमानदार, अनुशासित र नागरिक सेवामा समर्पित हुनेगरी प्रशिक्षित गर्नुपर्छ ।

नेपाली कांग्रेसले आफ्नो गौरवमय राजनीतिक तथा सांगठनिक इतिहासलाई भुल्न हुँदैन । लोकतान्त्रिक गणतन्त्रको विकास एवं नेपाल र नेपालीको समुन्नतिको लागि नेपाली कांग्रेसको विकल्प छैन भन्ने वातावरण, कार्यशैली र जीवनशैली निर्माण गर्न आवश्यक छ ।

तेस्रो- स्थानीय तहमा रोजगारी सृजनाको लागि उत्पादनयोग्य स्रोतसाधनको पहिचान गर्न र त्यसको परिचालनको योजना र रणनीति बनाउन स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुगमन गरिनुपर्छ । तीनै तहका सरकारलाई यससम्बन्धी कार्य गर्न पार्टीले आवश्यक सहयोग गर्दै उचित दबाब दिनुपर्छ ।

चौथो- सबै स्थानीय तहमा कुनै न कुनै किसिमको प्राकृतिक र मानवीय स्रोत उपलब्ध छ । हरेक स्थानीय तहको प्राकृतिक, मानवीय र आर्थिक स्रोतको अध्ययन गरी त्यसको आधारमा ६ महिनादेखि एक वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १०० जनालाई र देशभरमा कम्तीमा ५३ हजार रोजगारी सृजना गर्ने कामको नेतृत्व पार्टीले लिनुपर्छ । स्थानीय तहको उद्यमशीलतामार्फत एक वर्षमा करिब एक लाख नेपालीलाई स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गरी युवा जनशक्तिलाई देशमै राख्ने कामको नेतृत्व कांग्रेसले लिनुपर्छ । यसलाई मूर्तरुप दिन तीनै तहको सरकारलाई दबाब दिनुपर्छ ।

पाँचौं- देशका विभिन्न क्षेत्रमा बाँझो बन्दै गएको जमिनमा संघ, प्रदेश र स्थानीय तहको सहयोगमा स्थानीय तहमै उपलब्ध स्रोतसाधन र उत्पादनको सम्भाव्यता अध्ययन गरी कृषिमा आधारित उद्यमशीलता वा उद्योग स्थापना गर्न पहल गर्ने र उक्त कार्यको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्छ । यसको लागि सरकार र यसका विभिन्न निकायलाई समेत दबाब दिनुपर्छ ।

छैटौं- स्थानीय तहमा उत्पादित वस्तु र सेवाको उपयोग नीति निर्माण गरी देशभर नै स्वदेशी उत्पादनमा आधारित उपयोग र विकास योजना अगाडि बढाउन नेपाली कांग्रेसले पहल गर्नुपर्छ ।

देशका विभिन्न क्षेत्रमा बाँझो बन्दै गएको जमिनमा संघ, प्रदेश र स्थानीय तहको सहयोगमा स्थानीय तहमै उपलब्ध स्रोतसाधन र उत्पादनको सम्भाव्यता अध्ययन गरी कृषिमा आधारित उद्यमशीलता वा उद्योग स्थापना गर्न पहल गर्ने र उक्त कार्यको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्छ ।

सातौं- नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादमा आधारित नीतिको व्यवहारमै अवलम्बन गर्न संघ, प्रदेश र स्थानीय तहलाई दबाब दिनुपर्छ । यसको सुरुवात विपन्न नागरिकलाई निःशुल्क शिक्षा र स्वास्थ्योपचारको अवसर उपलब्ध गराउने व्यवस्था गराउन सरकारलाई रचनात्मक दबाब दिनुपर्छ । नेपाली कांग्रेसको नेतृत्वमा विश्वविद्यालय निर्माण भए, भवन बने, कक्षा कोठा निर्माण भए । तर, कांग्रेसको मूल नेतृत्वको प्राथमिकतामा शिक्षा क्षेत्र परेन । यसले विश्वविद्यालयमा उपयुक्त नेतृत्व हुन सकेन । विद्यालय र विश्वविद्यालय छन् । तर, विद्यार्थीहरु विदेश जान विमानस्थलमा भीड लागिरहेका छन् ।

हिजो बुर्जुवा शिक्षा भन्दै किताब च्यात्ने, च्यात्न लगाउने र विद्यार्थीहरुलाई तथाकथित क्रान्तिमा लाग्न बाध्य बनाउने वैज्ञानिक शिक्षाको नारा र आश्वासन दिनेको नेतृत्वमा विश्वविद्यालय पुग्दा नेपालको समग्र उच्च शिक्षा प्रणाली नै ध्वस्त भएको छ । यो कुरा कांग्रेसका नेताले बेलाबेला बोल्ने गरेका पनि छन् । तर, यस्तो अवस्थामा समग्र शिक्षा प्रणालीको वस्तुपरक समीक्षा र विश्लेषण गरी सुधारको नेतृत्व लिन भने कांग्रेस नेतृत्व प्रतिबद्ध र तत्पर रहेको देखिँदैन । नेपाली कांग्रेस अब यो विषयमा गम्भीरतापूर्वक लाग्नुपर्छ ।

आठौं- नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणको लागि पार्टी र यसका सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई तीन महिनाभित्र पुनर्गठन गरी क्रियाशील गराउनुपर्छ । हाल कांग्रेसको केन्द्रीय समितिसमेत भद्दा देखिएको वर्तमान अवस्थामा संगठनलाई चुस्त र दुरुस्त सञ्चालन गर्न केन्द्रीय समितिको स्वरूप परिमार्जन गर्नुपर्छ । भ्रातृ संस्थाहरूको केन्द्रीय समिति हेर्दा कार्यकारी भूमिकाभन्दा पनि मानार्थ केन्द्रीय समिति जस्तो देखिन्छ, त्यसलाई परिमार्जन गरी विधानअनुसार जिम्मेवारी सुम्पिनुपर्ने देखिन्छ । कार्यकारी भूमिकामा रहेका भ्रातृ संगठनहरुलाई आफ्नो राजनीतिक र सांगठनिक विकास र सेवामूलक कार्यमा सक्रिय गराउनुपर्छ । यतिबेला नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु लथालिंग छन् ।

अहिले कांग्रेसको केन्द्रीय पदाधिकारीमा रहेका अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थाबाट स्थापित भएका नेताहरु हुन् । आफूलाई राजनीतिमा स्थापित गर्ने भ्रातृ तथा शुभेच्छुक संस्था वर्षौंदेखि अधिवेशन हुन नसकी लथालिंग हुँदा पनि उनीहरुले मौनता साँधेका छन् । जुन आश्चर्यजनक छ । यी पदाधिकारीहरुको कार्यक्रममा सहभागी हुन नेपाल विद्यार्थी संगठन र तरुण दलमा ठूलो संख्यामा सदस्य मनोनीत गरिएको छ । तर, आफ्नै संगठनलाई चलायमान बनाउने कार्यक्रम बनाउन सक्नेलाई नेतृत्वमा स्थापित गर्न महाधिवेशनको बाटोलाई भने बन्ध्याकरण गरिएको छ । यसले हालका नेताले आफ्ना अनुयायी बनाउने तर नीतिसहितको नेतृत्वलाई अगाडि बढ्न नदिई उमेर हदको अस्त्रको प्रयोग गरेको देखिएको छ । ‘ढोका थुनेर बिरालो कुट्ने’ प्रवृत्तिको राजनीतिक प्रवृत्तिले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई समेत चुनौती दिएको छ ।

नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणको लागि पार्टी र यसका सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई तीन महिनाभित्र पुनर्गठन गरी क्रियाशील गराउनुपर्छ । हाल कांग्रेसको केन्द्रीय समितिसमेत भद्दा देखिएको वर्तमान अवस्थामा संगठनलाई चुस्त र दुरुस्त सञ्चालन गर्न केन्द्रीय समितिको स्वरूप परिमार्जन गर्नुपर्छ ।

नवौं- देशमा भइरहेको र हुने सम्पूर्ण विकास निर्माणमा हुने अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै विकासका पूर्वाधारहरु सडक, पुल, भवन आदिमा गुणस्तर सुनिश्चित गर्न नेपाली कांग्रेसका सम्पूर्ण समितिहरुले संयुक्त रुपमा दबाबमूलक पहल गर्नुपर्छ । यस्ता कार्यमा सुशासन कायम गर्न कांग्रेसले सरकारलाई दबाब दिने र आफूले पनि निगरानी गर्नुपर्छ ।

दशौं- विषम अन्तर्राष्ट्रिय परिस्थिति निर्माण भइरहेको छ । विश्व राजनीतिक शक्ति सन्तुलनको पदचापलाई थेग्दै राष्ट्र हितलाई केन्द्रमा राखेर चलायमान एवं सन्तुलित परराष्ट्र नीतिमा नेपाली कांग्रेसले ध्यान दिनुपर्छ ।

एघारौं- यतिबेला देशमा रोजगारीका अवसर पर्याप्त नहुँदा वैदेशिक रोजगारी आवश्यक भएको छ । तत्काल वैदेशिक रोजगारीमा जाने युवाहरुलाई देशमै रोक्ने अवस्था छैन । यसकारण वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै उचित र उपयुक्त नियमन गर्नुपर्छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको जीवन र स्वास्थ्य, उचित काम र पारिश्रमिकलगायत सुनिश्चित हुने व्यवस्था गर्नेतर्फ ध्यान दिने र त्यसका लागि क्रियाशील रहन नेपाली कांग्रेस चुक्नुहुन्न । सकेसम्म स्वदेश फर्किने युवालाई स्थानीय उद्योग र उद्यमशीलतामा संलग्न हुने वातावरण बनाउन पार्टीले जोड दिन आवश्यक छ । यसको लागि नेपाली कांग्रेसले वैदेशिक रोजगारीबाट सीप र ज्ञान लिएर फर्किएका युवालाई स्वदेशमै लगानी गरी बस्ने वातावरण निर्माण गर्न नीतिगत तवरमा पहल गर्नुपर्छ ।

नेपाली कांग्रेसले आफ्नो आगामी यात्रा आमयुवा तथा नागरिकको चासो, सरोकार तथा आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको हितमा कार्य गर्न सरकारलाई दबाब दिने र आफू पनि त्यसको लागि सक्रियतापूर्वक कार्य गर्नुको विकल्प छैन । लोकतन्त्रको सवलीकरण र सुशासनको प्रत्याभूति गर्न नेपाली कांग्रेसको सुदृढीकरणका लागि अब गरिने पहल कोशेढुंगा सावित हुनेछ ।

बाह्रौं- देश र जनताको सेवा गर्न सत्तामै हुनुपर्छ भन्ने मान्यताको अन्त्य गरी प्रतिपक्षमा रहेका बेला देश र जनताको सेवा गर्न नेपाली कांग्रेस सक्षम छ भन्ने सन्देश आम नेपालीमा प्रवाह गर्नुपर्छ ।

यी तमाम समस्याका बीच नागरिकको विश्वास गुमाएको प्रधानमन्त्रीले संसदमा तीनतीन पटक विश्वासको मत पाउनु नेपाल र नेपाली नागरिकको लागि दुर्भाग्यपूर्ण हो । आखिर जे भए तापनि अहिले परिस्थितिले नेपाली कांग्रेसलाई प्रतिपक्षमा पुर्‍याएको छ । त्यसैले नेपाली कांग्रेसले आफ्नो आगामी यात्रा आमयुवा तथा नागरिकको चासो, सरोकार तथा आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको हितमा कार्य गर्न सरकारलाई दबाब दिने र आफू पनि त्यसको लागि सक्रियतापूर्वक कार्य गर्नुको विकल्प छैन । लोकतन्त्रको सवलीकरण र सुशासनको प्रत्याभूति गर्न नेपाली कांग्रेसको सुदृढीकरणका लागि अब गरिने पहल कोशेढुंगा सावित हुनेछ । आउँदो तीन वर्ष नागरिकको सेवा गरे नागरिककै मतको बलमा नेपाली कांग्रेसले बहुमतका साथ सरकार बनाउने सम्भावना यथेष्ट छ ।

गत फागुनमा गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकले नीतिगतभन्दा पनि बढी सांगठनिक र गठबन्धनको संस्कृतिमा राष्ट्रिय बहसको परिस्थितिको निर्माण गर्‍यो । माथि उल्लिखित चासोका विषयमा नेपाली कांग्रेसको नेतृत्व जिम्मेवार र जवाफदेही हुनु लोकतान्त्रिक पद्धतिको सुदृढीकरणको पहिलो शर्त हो । राजनीतिप्रतिको बढ्दो वितृष्णा, प्रियतावादी राजनीतिको क्षणिक चास्नी र बढ्दो कम्युनिष्टीकरणको त्रासका बीचमा आफ्नो प्रस्ट कार्ययोजना लिएर निर्भिक रूपमा उभिने नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्छ ।

(रावल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।)


प्रतिक्रिया

One thought on “गठबन्धनको भारीबाट मुक्त भएको कांग्रेसलाई १२ बुँदे ब्रिफिङ

  1. I do not think Congress leaders have this level of thoughts to know about the issues, eyes to see the problems, will power accept the challenges and capacity to look for the solutions!! They are in a goal of achieving power and collecting money .. that’s it !!
    Better not to waste time hoping that they will do anything for the nation !! This is the conclusion drawn by seeing their long term activities !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *