रकम अभावले उपचार नपाएर थलिइन् कमला – Nepal Press

रकम अभावले उपचार नपाएर थलिइन् कमला

कैलाली । मुटु रोगबाट ग्रसित कैलाली गोदावरी नगरपालिका- २ की कमला विष्ट रकम अभावका कारण उपचार नपाएर घरमै छटपटाउन थालेकी छन् ।

स्थानीय छरछिमेकले चन्दा संकलन गरेर अहिलेसम्म औषधी उपलब्ध गराइरहेका छन् । तर, मुटुको भल्भ फेर्नुपर्ने भएपछि उपचारमा समस्या भएको उनका छिमेकी तथा आफन्त बेलु विष्टले बताइन् ।

‘हामीले अहिलेसम्म २ लाख भन्दा बढि चन्दा उठाएर बचाएका छौँ ’ उनले भनिन्, ‘काठमाडौँको गङ्गालाल लैजान भन्नुभएको छ त्यहाँसम्म लैजाने र उपचार गर्न पैसा नभएर अहिले घरमै हुनुहुन्छ। ’

कमलालाई मासिक चार हजार भन्दा बढिको औषधी खुवाउनुपर्ने त्यहि रकम जोहो गर्न पनि समस्या भइरहेका बेला भल्भ फेर्ने रकम नभएको उनले बताइन् ।

कमलाका श्रीमान् करिब ४ वर्षदेखि सम्पर्कविहीन छन् । कमलासँग १४ वर्षीया छोरीसँगै छिन् । आर्थिक सङ्कटले अहिले कमलाको उपचार रोकिएको छ भने, छोरीको अध्ययनमा प्रभाव परेको छ ।

अहिले अत्तरियामा कमलाको उपचारको लागि आर्थिक संकलन सुरु गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले कमला बचाउ अभियान नै सुरु गरेका छन् ।

‘रकम नभएरै उपचार गर्न नपाउने अवस्था आउनु विडम्बनापूर्ण हो ’ उनले भने ‘हामीले आर्थिक संकलन सुरु गरेका छौँ धेरैले सहयोग गर्न थाल्नुभएको छ ।’

आफूले पाँच हजार सहयोगसहित सुरु गरेको अभियानमा अहिले जोडिनेहरूको संख्या बढिरहेको उनले बताए । । उनले आफ्नै ई सेवा नम्बर दिएर रकम सङ्कलनको अभियान सुरु गरेका हुन् । उनले सहयोग गर्न चाहनेले ९८५१०३६४४४ नम्बरमा सहयोग रकम उपलब्ध गराउन सक्ने र त्यस बारेमा जानकारी दिन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर