नेपाली भूमिमा भारतीय शहरको प्रचार- स्वाभिमानमाथि प्रश्न उठेको भन्दै आलोचना – Nepal Press

नेपाली भूमिमा भारतीय शहरको प्रचार- स्वाभिमानमाथि प्रश्न उठेको भन्दै आलोचना

कैलालीका सीडीओ भन्छन्- कानूनले के भन्छ हेर्छु

कैलाली । धनगढी मोहनापुल अत्तरिया सडक खण्डका विभिन्न ठाउँमा यात्रु तथा चालकलाई सहज होस् भनेर विभिन्न गन्तव्यहरूको जानकारी राखिएको छ । धनगढीदेखि पहाडी रुटअन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न शहर र जिल्ला पुग्ने दूरी उल्लेख गरिएको छ ।

तर, धनगढीको मिलन चोकमा राखिएको जानकारी बोर्डमा भने भारतीय शहरको दूरी समावेश गरेको विषयप्रति आलोचना भएको छ । स्थानीयहरुले यसलाई सामान्य रुपमा लिन नसकिने भन्दै जवाफ खोजेका छन् ।

यहाँ लखनउ, लखिमपुर र पलियाको बारेमा पनि जानकारी गराइएको छ । त्योसँगै बेलौरीको दूरी पनि उल्लेख गरिएको छ । बेलौरी कञ्चनपुर जिल्लामा पर्छ भने अन्य तीन शहर भारतका हुन् । नेपाली भूमिमा भारतीय शहरको जानकारी दिने गरी राखिएको बोर्डले नेपाली स्वाभिमानमाथि प्रश्न गरेको सुदूरपश्चिमका वरिष्ठ पत्रकार तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष उम्मीद वागचन्दले बताएका छन् ।

उनले उक्त तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपाली भूमिमा भारतीय शहरको नाम राख्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन् ।

‘यो फोटो र भिडिओ हेरेर भन्नुस् । यो नेपाल हो कि भारत ? नेपाल हो भने भारतीय शहरको नाम किन लेखियो ?’, उनले प्रश्न गरेका छन्, ‘नेपाली भएकोमा गौरव गर्ने नेपालीले एक पटक धनगढीको मिलन चौक अगाडि भन्सार तिर गएर हेरौँ है ।’

नेपाली भूमिमा राखिएको भारतीय शहरको जानकारीका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भने, ‘मैले पनि देखेँ, त्यहाँ कसले कसरी राखेको रहेछ बुझ्छु कानूनअनुसार के हुन्छ हेर्छु ।’

प्रजिअ मिश्रले उक्त बोर्डका विषयमा जानकारी लिने बताए ।

 


प्रतिक्रिया

2 thoughts on “नेपाली भूमिमा भारतीय शहरको प्रचार- स्वाभिमानमाथि प्रश्न उठेको भन्दै आलोचना

  1. नेपाललाइ त भेडिगोठ नै बनाउने भए माम्फुलीहरूले । एसियन हाइ वे जोडिँदा रङ्गुन,इस्लामाबाद,साँघाइ र सिङ्गापूरको पनि ट्राफिक बोर्ड राख्नु पर्ने हुन्छ । त्यतिबेला देशै सकियो भन्नेहोलान । कनेक्टेड हाइवे मा पर्ने निकटतम अन्तरराष्ट्रिय शहरहरूको ट्राफिक बोर्ड राख्नु अनिवार्य नै हुन्छ । उत्तरतिर तिब्बतेन डेस्टिनेशनहरूको बोर्ड राख्नुलाइ के भन्छन् यी पत्रकारले ?

  2. बोर्ड तुरुन्त हटाईयोस !!! भारतको कुटनीति नै नेपाल सरकारले बुझिनसक्नु छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर