आत्महत्या दुरुत्साहनको आरोप लागेका शिक्षकहरु शालीनको मृत्युबारे के भन्छन् ? – Nepal Press

आत्महत्या दुरुत्साहनको आरोप लागेका शिक्षकहरु शालीनको मृत्युबारे के भन्छन् ?

काठमाडौं । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा अध्ययनरत शालीन पोखरेलले आत्महत्या गरेको ठहरिएसँगै सरकारी वकिलको कार्यालयले मुद्दामा ट्विस्ट ल्याएको छ । हत्या पुष्टि नभएपछि प्रहरी हिरासतमा रहेका विद्यालयका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरिएको छ ।

शालीनका परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका थिए । तर, पोस्टमार्टम रिपोर्टलगायतका प्रमाणले त्यो दाबी असत्य सावित भएको छ । सोपश्चात जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको हो ।

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माले शालीनलाई आत्महत्या गर्न बाध्य पारेको आरोप अभियोगपत्रमा लगाइएको छ । तर, उनीहरु तीनै जनाले शालीनको आत्महत्यामा आफूहरुको कुनै हात नरहेको बताएका छन् । उनीहरुको बयान लगभग एउटै प्रकृतिको छ ।

प्रधानाध्यापक देवकोटाका अनुसार २०७९ सालको जेठ महिनातिर शालीनलाई मामाघरको हजुरआमा र हजुरआमाको दिदीले विद्यालयमा ल्याएर कक्षा ७ मा भर्ना गरी होस्टलमा राखेका थिए । शालीनलाई होस्टलबाट बिदा हुँदा मामाघरका हजुरआमाले नै लिन आउने गरेको उनले बताएका छन् । साथै शालीनलाई आवश्यक सामानहरु पनि उनले नै ल्याइदिन्थिन् ।

शालीन विद्यालय भर्ना भएदेखि उनको शुल्क पनि हजुरआमामार्फत आउने गरेको थियो । तर, २०८० सालको कात्तिक महिनातिर शालीनका बुवा दीपेन्द्र पोखरेलले बक्यौता शुल्क ४९ हजार १५० रुपैयाँ मोबाइल बैंकिङमार्फत बुझाएका थिए । सोही महिनाको अन्तिमतिर शनिबारको दिन दीपेन्द्र विद्यालयमा झुल्किएको र शालीनलाई लिएर गई सोही दिन बेलुका ल्याइदिएको देवकोटाको बयानमा उल्लेख छ ।

घटना भएको दिन आफूलाई शिक्षक किरणबहादुर अधिकारीले फोन गरेर शालीनले सुसाइड गरेको जानकारी गराएको उनले बताएका छन् । त्यसपछि आफू तत्काल विद्यालयमा पुगेको र तेस्रो तलामा रहेको छात्रा होस्टलमा प्रहरी, विद्यालयका शिक्षक र विद्यार्थीहरु जम्मा भइसकेको देवकोटाको बयानमा उल्लेख छ ।

‘म घटनास्थलमा पुगी विद्यालयमा रहनुभएका शिक्षक किरणबहादुर अधिकारीलाई भेटी घटनाको बारेमा बुझ्न निज शालीन पोखरेलले आफू बस्ने गरेको कोठा भित्रबाट बन्द गरी बसेपछि मैले पटक पटक बोलाउँदासमेत नबोलेकीले मसमेतले कोठाको ढोका फोडी कोठाभित्र हेर्दा शालीन पोखरेल झुण्डिएर मृत अवस्थामा फेला परेको भनी बताउनुभएको थियो । त्यसपछि मैले शालीन पोखरेलको बुवालाई फोन गरी जानकारी गराएको हुँ’, बयानमा भनिएको छ ।

मुचुल्का गर्ने क्रममा नजिकै गएर हेर्दा शालीन आफू सुत्ने बेडको माथि रहेको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेको उनले बताएका छन् ।

होस्टलका वार्डेन किरणबहादुर अधिकारीले शालीनको कोठा नखुलेपछि ढोका बाहिरबाट फोडेको बताएका छन् ।

उनको बयानको एक अंश:

‘फागुन १२ गते बिहान १०ः१५ बजेतिर सरसफाइ गरिसकेर बोरा लिन भनी ग्राउन्डमा जाने क्रममा मलाई विद्यालयको ३ तला माथिबाट कर्मचारीले चिच्याउँदै सर हेर्नु न शालीन पोखरेलले कोठाको ढोका नै खोल्दिनन् भनेपछि मैले निजहरुले झगडा गरेका हुन् भन्ठानी सीधै माथि होस्टल कोठामा गई जम्मा भएका सबैलाई सोध्दा कोठा भित्रबाट लगाएको र केही पनि नबोलेको भनेपछि मैले पनि बोलाएँ । तर, केही नबोलेपछि जाली ढोका जबरजस्ती तानेकोले जाली ढोकाको चुकुल फुत्किएर खुलेको र भित्रपट्टिको ढोकामा लात्ताले पटक पटक हानेकोमा त्यसको छेस्किनी फुत्की ढोका खुलेपछि म कोठाभित्र हेर्दा शालीन पोखरेल आफू बस्ने गरेको बेडमाथि रहेको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा देखेको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर