डाटा सर्भरमा आत्मनिर्भरता, ई-लर्निङदेखि विद्युत विधेयक पारित गर्नेसम्म सरकारको घोषणा – Nepal Press

डाटा सर्भरमा आत्मनिर्भरता, ई-लर्निङदेखि विद्युत विधेयक पारित गर्नेसम्म सरकारको घोषणा

काठमाडौं । सरकारले डाटा सर्भरमा आत्मनिर्भरता, ई-लर्निङमार्फत शिक्षालाई आधुनिकीकरण गर्नेदेखि विद्युत विधेयकलाई पारित गर्ने घोषणा गरेको छ ।

सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक विष्णु पौडेलले नेपाललाई डाटा सर्भरमा आत्मनिर्भरता कायम, डिजिटल माध्यम (ई-लर्निङ)मार्फत शिक्षालाई आधुनिकीकरणदेखि विद्युत विधेयक २०८० पारित गर्नेसम्मका घोषणा गरेका हुन् ।

सरकारले डिजिटल माध्यम (ई-लर्निङ)को प्रयोग गरी शिक्षालाई आधुनिकीकरण गर्ने र यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरिने संयोजक पौडेलले बताए । राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने, फरक फरक कार्यालयमा नागरिकतालगायत कागजात पटक पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरिने उनले बताए ।

सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गरिनेसमेत उनले बताए ।

पौडेलले भने, ‘संसदमा विचाराधीन विद्युत विधेयक २०८० लाई समयानुकूल बनाइ पारित गरिनेछ । इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गरिनेछ । डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गरिनेछ । सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाइनेछ ।’

उनले भूमिको डिजिटल नापी पूरा गर्ने, भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा भूउपयोग गर्ने, निर्माण भइसकेका संरचनाको सम्भव सुधार र उपयुक्त विकल्पको योजनासहित भूउपयोग नीति र कानूनको कार्यान्वयन गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *